|

  • विश्वराज पछल्डङ्ग्या

नेपालगञ्ज : कुष्ठरोग निवारण अभियानअन्तर्गत बाँके र बर्दिया जिल्लामा गरिएको खोजीमा ६३ जना कुष्ठरोगी फेला परेका छन्। जिल्ला जनस्वाथ्य कार्यालय र आइएनएफ तथा टीवी नेपालले गरेको खोजीका क्रममा दुईदिनमै ६३ जना कुष्ठरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काले जानकारी दिए।

उनले बाँकेमा पहिलो दिन ३७१ जनाको जाँच गर्दा २० जना र दोस्रो दिन १२८ जनाको जाँच गर्दा १० जना कुष्ठरोग फेला परेको जानकारी दिए। यस्तै बर्दियाका ५५४ जनामा परीक्षण गर्दा ३३ जना कुष्ठरोगी फेला परेका छन्। ‘हामीले नसोचेको परिमाण निस्किँदैछ। यो तथ्यांकलाई मूल्यांकन गर्दा अवस्था भयावह रहेको देखिन्छ,’ खड्काले भने। 

कुष्ठरोग निवारण अभियानका क्रममा बाँके र बर्दियाका सबै घर र विद्यालयमा पुगेर खोजी गरिरहेको खड्काले बताए। रोगको बारेमा ज्ञान र सचेतना नहुँदा बिरामीको पहिचान लुकिरहेको उनी बताउँछन्।

‘बिरामी लुकेर बसिदिँदा खोजपड्ताल र उपचारमा समस्या देखिएको छ,’ उनले भने, ‘बिरामीहरु खुलेर उपचारका लागि आउने वातावरण बनाउनुपर्ने देखिएको छ।’ आर्थिक वर्ष २०७३/०७४ को प्रथम चौमासिकमा मात्र बाँकेमा ५७ जना बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

आवको पहिलो चौमासिकसम्मको रेकर्डअनुसार बाँकेमा हाल १६४ जना कुष्ठरोगका बिरामी छन्। ‘बाँकेमा हरेक वर्ष १५० जना बिरामी थपिने गरेका छन्,’ वरिष्ठ जनस्वास्थ्य प्रशासक खड्काले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.