|

काठमाडौं : साहित्यकार क्रान्ति पराजुलीद्वारा लिखित उपन्यास ‘डिलको डोब’ सार्वजनिक गरिएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा एक समारोहबीच सो कृति सार्वजनिक गरिएको हो।

पूर्व प्रधानमन्त्री तथा गीतकार झलनाथ खनालको प्रमुख आतिथ्यमा वरिष्ठ साहित्यकार तथा प्राज्ञ माया ठकुरी, पत्रकार यसोदा तिम्सिना, समालोचक महेश पौड्याल, लेखक क्रान्ति पराजुली, प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे।

पूर्व प्रधानमन्त्री खनालले नेपाली साहित्यमा एउटा सशक्त उपन्यासका रुपमा डिलको डोब आएको बताए। उनले यो उपन्यास बाल्यकालमा बलात्कृत केटीको संघर्षको कथा रहेको र लेखकको राम्रो प्रस्तुती, सरल लेखन रहेको बताउँदै बालबालिका, युवायुवती, अभिभावकलगायत राजनीतिज्ञ, समाजसेवी सबैले पढ्नुपर्ने सुझाव दिए।

प्राज्ञ माया ठकुरीले उपन्यास आफ्नी छोरी पुस्ताको भएको बताउँदै पढदै जाँदा आँसु बगेको टिप्पणी गरिन्। उपन्यासको कथाल पटक पटक आँखा रसाएको उनको भनाइ थियो। सूचना आयोगका पूर्व आयुक्त तथा पत्रकार तिमल्सिनाले एउटा नारीको वेदना प्रष्ट रुपमा आएको र प्रत्येक नारी तथा पुरुषले आफ्ना साथीलाई यो पुस्तक उपहार दिएर पढ्न प्रेरित गर्न आग्रह गरिन्।

यस्तै समालोचक महेश पौड्यालले संघर्ष र अध्ययनले मानिस यसरी सफलतातिर लम्किन्छ भन्ने प्रेरणा यस उपन्यासले दिएको बताए। लेखक क्रान्ति पराजुलीले आफूले लेखनमा सक्दो इमानदार प्रयास गरेको बताउँदै अब पाठकको प्रतिक्रियाको आशमा रहेको धारणा राखे।

शिखा बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.