|

काठमाडौं : नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि सरकारले देशका केन्द्रीय ठूला अस्पतालहरूलाई भाइरसको उपचारको लागि हाई अलर्ट बस्न निर्देशन दिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढ्दै गएपछि तयारी अवस्थामा रहन निर्देशन दिएको हो।

मन्त्रालयले सतर्क अवस्थामा रहनका साथै वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताललाई आइसोलेसन वार्ड बनाएर तीन दिनभित्र योजना पेस गर्न अस्पतालहरूलाई निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलमा विशेषगरी चीनबाट आएकाहरूको स्वास्थ्य परीक्षण गर्न र संकास्पद बिरामीलाई विमानस्थलबाटै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णयसमेत गरेको छ।

यतिखेर चीनमा नयाँ वर्ष तथा वसन्त पर्व परेकाले लमो बिदा हुने र त्यहाँ रहेका नेपाली नगायतका चिनियाँ नागरिकहरू बिदा मनाउन नेपाल आउने समय भएकाले पनि चीनबाट फर्केकाहरूलाई धेरै निगरानीमा राखिने मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना भाइरसको जोखिम बढेसँगै देशकै एकमात्र शुक्रराज तथा सरुवा रोग अस्पतालले कोरोना भाइरसका शंकास्पद संक्रमित तथा शंकास्पद बिरामीको उपचार गर्नका लागि १० वटा आइसुलेसन वडा तयार पारेको छ।

हालसम्म कोरोना भाइरस परीक्षणका लागि नेपालमा प्रविधि नभए पनि सरकाले हङकङ पठाउने गरेको थियो। नयाँ कोरोना भाइरस परीक्षण गर्ने रिएजेन्ट ल्याउए पछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट यसको परीक्षण गर्ने व्यवस्था मिलाउने तयारी सरकारले गरेको छ।

मेसिन भए पनि परीक्षण गर्ने केमिकल –रिएजेन्ट नभएकोले टेकुमा अहिलेसम्म नयाँ कोरोना भाइरसको परीक्षण गर्न नसकिएको

केही साताअघि चीनमा अध्ययन गरेर फर्केका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरस भएको पुष्टि भइसकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कले शंकास्पद केस भन्दै उनलाई थप उपचारका लागि टेकु रिफर गरेको थियो।

उनी केही दिन त्यहाँ उपचार गरेपछि अहिले डिस्चार्ज भइसकेका छन् । तर उनको परीक्षण गर्दा उनलाई कोरोना भाइरस भएको पुष्टि भएको थियो। कोराना भाइरसको जोखिम बढेसँगै स्वास्थ्य मन्त्रालयले विमानस्थल हेल्थ डेस्कलाई समेत सुविधा सम्पन्न बनाएको छ। यात्रुहरूको जाँचका विमानस्थलमा थर्मल स्क्यानर समेत सञ्चालनमा आएको छ ।

डिसेम्बर ३१ मा पहिलोपटक नयाँ कोरोना भाइरस देखिएको थियो। कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ। हिजोसम्म  ४१ जनाको ज्यान गएको  चीनमा  विगत २४ घण्टामा थप १५ जनाको ज्यान गएको चिनियाँ अधिकारीहरूले जनाएका छन्। घटनामा ६६८ जनामा थप संक्रमण भेटिएको चीनका स्वास्थ्य अधिकारीले जनाएका छन्।

अहिलेसम्म चीनमा २३ हजार ३ सय ४१ जना संक्रमीत रहेको र तीमध्ये २१ हजार ५ सय ५६ जना डाक्टरको प्रत्यक्ष निगरानीमा रहेको जनाइएको छ। ती मध्ये ३ सय २५ जना भने उपचारपछि घर फर्किसकेका छन्।  गत महिना चीनको बुहानमा फेला परेको नयाँ भाइरस कोरोनाले महामारीका रुपमा लिएपछि राष्ट्रपति सी चिङपिङ चिन्ता व्यक्त गरेका छन्। उनले कोरोना प्रकोपका कारण चीनमा भयावह रुप लिएको बताउँदै रोकथामका लागि तत्काल पहल थाल्न सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिएका छन्।

के हो कोरोना भाइरस?

विश्‍व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसको ठूलो समूहमध्येको एक हो। कोरोना भाइरस भर्खरै पहिचान गरिएको हो। यो जनावरबाट मानिसमा सर्ने भाइरस हो।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित हुने मानिसहरूमा केही साझा लक्षण देखिन्छन्। ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु,श्वासप्रश्वासमा कठिनाइ हुनु,गम्भीर भएमा निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,मिर्गौलाले काम गर्न छोडेर मृत्युसमेत हुन सक्छ। जसले गर्दा यो भाइरसबाट बच्न नियमित रूपमा हात सफा गर्ने, मासु र अण्डा राम्रोसँग पकाएर खाने गर्नुपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.