जनयुद्धमा तीन गोली लागेर पनि बाँचेका थिए

|

काठमाडौं :  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ कुबिण्डे गाउँको सामान्य परिवारमा जन्मिएका थिए अग्निप्रसाद सापकोटा। 

२०१४ फागुन २४ गते आमाको तिलमाया र  बाबु धनपति सापकोटाबाट जन्मिएका नेकपा स्थायी कमिटी सदस्य सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएका छन्। अन्य कुनै दलले सभामुखमा उम्मेदवारी नदिएपछि सापकोटा निर्विरोध भएका हुन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई निर्विरोध सभामुख घोषणा गरेको छ। सामान्य परिवारमा जन्मेका सापकोटा लामो राजनीतिक यात्रापछि प्रतिनिधि सभाको सभामुख बनेका हुन्। 

लामो समयसम्म शिक्षण पेशामा गरेर उनी राजनीतिमा प्रवेश गरेका थिए। सभामुखमा एकल उम्मेदवारी परेपछि गृहजिल्ला पुगेका सापकोटाले सिन्धुपाल्चोकको शान अझै उचो राख्‍ने प्रतिबद्धता उनले जनाएका थिए।

सापकोटा सभामुख निश्चित भएको अवस्थामा द्वन्द्वकालिन विषयवस्तुलाई पनि उचालिएको थियो। उनी सभामुखमा चयन हुँदै गर्दा आइतबार काठमाडौंमा काभ्रेका अर्जुन लामा हत्या प्रकरणलाई लिएर विरोध प्रदर्शन भएको छ। तर, उनले आफूले जनताको पक्षमा काम गर्दा कहिल्‍यै पनि गल्ती नगरेकाले नडराएको सापकोटाले बताए।

त्यस्तै, सापकोटाको नाममा विरोध गर्नेलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माइतीघरमा गएर दुःख नगर्न आग्रह गरेका थिए। सापकोटाविरुद्ध कुनै मुद्दा नरहेको जिकिर प्रचण्डले गरेका थिए।

विद्यालयबाटै गिरफ्तार

शिक्षण पेशमा आबद्ध भएका सापकोटा पटकपटक विद्यालयबाटै गिरफ्तार परेका थिए। २०३२ सालमा तातोपानीको भूमेश्वर प्राथामिक विद्यालयबाट शिक्षण पेशामा आवद्ध भए। २०४१ सालमा तातोपानीबाट साँगाचोक आएर जनजागृहत माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाले। 

शिक्षण पेसामा रहेर पनि उनी राजनीतिक पृष्ठभूमिका थिए। २०४२ शिक्षक हकहितका लागि आन्दोलन गर्दा उनी गिरफ्तार भएका थिए। त्यसबेला उनले ६ महिना जेल जिवन बिताए।

२०४४ मा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष र २०४६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन महासचिवसम्मको जिम्मेवारी सम्हाले। २०४६ जनआन्दोलनमा विद्यालयबाटै पुनः गिरफ्तार परेका थिए। त्यसपटक पनि सापकोटा एक महिना जेल बसेका थिए। 

सापकोटाको राजनीति खुड्किलो

सामान्य परिवारमा जन्मिएका सापकोटा सानैदेखि राजनीतिमा चाख राख्‍ने गरेका थिए। विद्यार्थीकालबाटै उनले राजनीतिमा प्रवेश गरे। २०२९  विद्यार्थी संगठनमा आबद्ध भए। विद्यार्थी संगठनमा आबद्ध भएपछि सापकोटाले राजनीतिमा निरन्तरता दिए। 

करिब ६ वर्ष विद्यार्थी राजनीति गरेका सापकोटाले २०३५ कम्युनिस्ट पार्टीको सदस्यता, नेकपा (चौथो महाधिवेशन) को सदस्यता लिए। नेकपाको सदस्यता लिएको दुई वर्षमा २०३७ नेकपा (चौथो महाधिवेशन) को सिन्धुपाल्चोक संस्थापक सचिवको जिम्मेवारी पाए। शिक्षण पेशाबाटै राजनीतिमा सक्रिय भएका सापकोटाले कुशतलापूर्व जिम्मेवारी निर्वाह गरे। 

राजनीतिमा सक्रिय रहेका सापकोटाले २०४८ सालबाट शिक्षण पेशाबाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सक्रिय भएर लागेका हुन्। शिक्षण पेशाबाट राजीनामा दिएर २०४८ सिन्धुपाल्चोक क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यको चुनावमा प्रतिष्पर्धा गरेका थिए। तर, त्यो निर्वाचनमा सापकोटा सफल भएनन्। 

२०५१ सालमा तत्कालीन नेकपा (एकता-केन्द्र)को केन्द्रीय सदस्य निर्वाचित भए। त्यसपछि सापकोटा निरन्तर राजनीतिमा लागे। २०५१ नेकपा (एकता-केन्द्र) बाह्य मोर्चा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भएका थिए। 

तत्कालीन नेकपा (एकता-केन्द्र)को केन्द्रीय सदस्य निर्वाचित भएपछि २०५२ माघदेखि सापकोटाले भूमिगत राजनीति सुरु गरे। फागुनबाट सुरु जनयुद्धको नेतृत्व पनि सापकोटाले गरेका थिए।

जनयुद्धको नेतृत्व पूर्वी उपक्षेत्रीय व्युरो इञ्चार्जको समेत जिम्मेवारी सम्हालेका थिए। तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धको उद्गमस्थलको रूपमा सापकोटालको गृहजिल्ला सिन्धुपाल्चोकको कुविण्डेलाई नै लिने गरिन्छ। 

जनयुद्धको सुरुवातपछि भूमिगत राजनीतिमा सक्रिय रहेको सापकोटा २०५७  दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट्व्यूरो सदस्यमा निर्वाचित भए। २०५८ पार्टीले सरकारसँग वार्ताको लागि तीन सदस्यीय वार्ता टोली निर्माण गरेको थियो। सापकोटा पनि सरकारसँग वार्ता टोलीमा सहभागी जनाएका थिए। 

जनयुद्धको क्रममा भूमिगत रहेका सापकोटा २०६२ साल चैत्र १४ गते सिन्धुपाल्चोकको ठोकर्पामा शाही नेपाली सेनाले हेलिकोप्टरबाट आक्रमणमा परि गम्भीर घाइते भएका थिए। सापकोटाले सो आक्रमण तीन गोली खाएका थिए।

२०६२/६३ को आन्दोदनमा राजनीतिक कमिसारको रुपमा दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका क्षेत्रमा पार्टीबाट नेतृत्वको जिम्मेवारी समेत सम्हालेका थिए। 

सर्वाधिक मत ल्याउने सातौं उम्मेदवार

सापकोटा २०६४ चैत्र २८ गते पहिलो संविधानसभाको निर्वाचन देशभरिमा सर्वाधिक मत ल्याउने सातौँ उम्मेदवार बनेका थिए। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए। सापकोटाले निकटतम् प्रतिद्वन्द्वी भन्दा २० हजार बढी मत (३० हजार १७५ मत) ल्याएका थिए। 

पहिलो संविधानसभा सदस्यका निर्वाचित भएपछि रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशाील भएका थिए। राजनीतिकै क्रममा २०६९ साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा प्रवक्ताको जिम्मेवारीसमेत पाएका थिए।

सापकोटा ०६४ सालमा निर्वाचित भएकै क्षेत्रबाट २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बने। पुनः संविधानसभा सदस्यमा निर्वाचित भए।

दुई पटक संविधान सभाको सदस्य निर्वाचित भएका सापकोटा २०७५ नेकपाको स्थायी कमिटी सदस्यको जिम्मेवारी पाए। दुई पटक निर्वाचन जितिसकेकै क्षेत्रमा २०७४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा पनि  सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। 

दुईपटक मन्त्री

राजनीतिक इतिहासमा सापकोटाले दुई पटक सरकारको मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। २०६८ सालमा पहिलो पटक वैशाख २२ गते नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका थिए। 

त्यस्तै, दोस्रोपकटकको संविधान सभाको निर्वाचनपछि २०७३ मा पुनः नेपाल सरकारको वन तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी पाएका थिए। साथै, सोहि सालबाटनेकपा (माओवादी केन्द्र) को कार्यालय सदस्यको जिम्मेवारी पनि पाए। २०६९ सातौँ राष्ट्रिय महाधिवेशनबाट स्थायी समिति सदस्य, प्रवक्ता तथा सूचना तथा संचार व्युरोको इञ्चार्जको भूमिका निर्वाह गरेका थिए। 

सापकोटालाई तीन गोली लाग्दा जो सँगै थिए

जनयुद्धको क्रममा भूमिगत रहेको बेलामा २०६२ साल चैत्र १४ गते सिन्धुपाल्चोकको ठोकर्पामा शाही नेपाली सेनाले हेलिकोप्टरबाट आक्रमण गरेका थियो। सेनाको तीन गोली लागेको बेलामा सापकोटाका साथमा थिए मेलम्ची नगरपालिका सिन्धुकोटका टीकाजंग रायमाझी। 

जनयुद्धको क्रममा सापकोटाको विशेष कमाण्ड बनेको टिमभित्र रायमाझी पनि अटाएका थिए। जनयुद्धताका सापकोटासँग बिताएका कहालीलाग्दा पल रायमाझीलाई अहिले पनि याद छ।

ठोकर्पा सेनाको आक्रमण र जिल्ला सदरमुकाम चौतारामा भएको भिडन्तको क्षण उनको दिमागमा ताजै छ। सापकोटालाई सेनाको तीन गोली लाग्दाको क्षण अहिले पनि सम्झन डर लाग्ने उनी बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.