|

पोखरा : दुईजना झगडियामध्ये प्रदेश सांसद दिपक मनाङे ६ हजार धरौटीमा रिहा भएका छन्। मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले आइतवार ६ हजार धरौटीमा रिहा गरेको हो। 

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेको आरोपमा प्रकाउ सांसद राजीव गुरुङ ‘दीपक मनाङे’६ हजार रुपैया धरौटीमा रिहा भएसँगै हिरासत बसाइ राम्रो भएको बताए । उनलाई यही १३ गते उपस्थित हुनेगरी प्रशासनले छाडेको हो।

रिहा भएपछि प्रतिक्रिया दिँदै मनाङेले ठग र भ्रष्टलाई नछाड्ने बताए। 'ठग मिलन गुरुङविरुद्ध म सफल भएको छु', उनले भने, ‘एन्फाको भ्रष्टाचार अब उजागर गर्छु। यसको सुरुआत मैले गरेँ, अब रोकिन्‍नँ।'

एन्फा कास्की अध्यक्ष गुरुङमाथि कुटपिटपछि कास्की प्रहरीले मनाङेलाई लेकसाइडस्थित एक होटलबाट बिहीवार पक्राउ गरेको थियो। गुरुङलाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

गुरुङले गत गण्डकी प्रदेश सभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए। गत मंगलबार मनाङेले पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष गुरुङलाई झापड हानेका थिए।

मनाङबाट आएका खेलाडीको व्यवस्थापनका लागि आफूले मागेको खर्च नदिएको भन्दै प्रदेश सांसद मनाङेले गुरुङलाई झापड हानेका थिए।

गुरुङ थुनामै 

मनाङे छुटे पनि बैंकिङ कसुरमा पक्राउ परेका एन्फा कास्की अध्यक्ष गुरुङविरुद्ध अनुसन्धानका लागि ७ दिन म्याद थप गरिएको छ। मिलनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार उच्च अदालत पोखराका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुवास पौडेलको संयुक्त इजलासले प्रहरीलाई अनुमति दिएको हो ।

खातामा पैसा नभएको चेक दिएको भन्दै मिलनविरुद्ध किटानी जाहेरी परेको थियो। उनी शुक्रबार पक्राउ परेका हुन्। मुख्यमन्त्री कपमा खेलाडीका लागि आवास तथा मैदान व्यवस्थापन नगरेको भन्दै सांसद मनाङेले मंगलबार मिलनलाई झापड हानेका थिए ।

राजीवबिरुद्ध जाहेरी दिएपछि मिलनविरुद्ध पनि बैंकिङ कसुरको उजुरी परेको थियो। हरिभक्त आचार्यले मिलनविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहीबार जाहेरी दिएका थिए। 

आचार्यले ओम गौरा जोस्टेल होटेलमा गत भदौमा ३४ जनालाई मिलनको जिम्मामा खानेबस्ने व्यवस्था मिलाएका थिए। साफ यू-१८ च्याम्पियनसिपमा तयारी टोली आचार्यको होटलमा बसेको थियो ।

मिलनले २ लाख रुपैयाँको चेक दिए पनि खातामा पैसै नभएको  जाहेरी आचार्यले दिएका थिए। बक्यौता रकम मागेपछि केही दिनअघि मिलनले पोखरा क्रियटिभ हाउसका सञ्चालकमाथि पनि कुटपिट गरेका थिए।

बैंकिङ कसुर अनुसार चेकमा उल्लेख भएको रकम पीडितलाई दिलाउने र ३ महिना जेल सजाय हुन सक्छ। बैंकिङ कसुर मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी प्रावधान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.