|

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकाले १५ महिनादेखि सबइन्जिनियर र सहायक सबइन्जिनियर पदको विज्ञापन प्रक्रिया अघि नै नबढाएको पाइएको छ।

गाउँ कार्यपालिकाको कार्यालयले २०७५ असोज ८ गते करार सेवामा कर्मचारी भर्नाका लागि विज्ञापन खोलेर दर्खास्त आह्वान गरेपनि अहिलेसम्म दरखास्त दिने उम्मेदवारलाई नै नबोलाइएको सहायक सबइन्जिनियर पदका प्रत्यासी सुरज कुवँरले बताए।

‘आवेदन दस्तुर र परीक्षा दस्तुर तिरेर दरखास्त दिएको थिएँ। तर, अहिलेसम्म यसबारे केही जानकारी छैन’ सहायक सबइन्जिनियर पदका लागि आवेदन दिएका दुहुँ गाउँपालिका-४ पासुका सुरज कुवरले भने।

एउटै सूचनाबाट विज्ञापन प्रक्रिया सुरु गरिएका कृषि र पशुसेवा प्राविधिक, अनमी, अहेव र हेभी सवारी चालकको भर्ना प्रक्रिया भने केही महिनामै सम्पन्न गरिएको थियो। तर, सोही सूचनाबाट खोलिएको सब-इन्जिनियरको एक पद र सहायक सब-इन्जिनियरको तीन पदको विज्ञापन भने अहिलेसम्म अघि नबढेको उम्मेदवारले बताएका छन्।

गाउँपालिकाले २०७५ भदौमा निर्माण गरेको करारमा कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधिमा उम्मेदवारको संक्षिप्त सूची प्रकासित गरी लिखित र अन्तर्वार्तामार्फत छनोट गरिने व्यवस्था गरेको भए पनि विज्ञापन खोलिएको सूचनामा यसबारे उल्लेख गरिएको सहायक सब-इन्जिनियर पदका अर्का उम्मेदवार दुहुँ गाउँपालिका-४ पासुका पूजा कुवँरले बताएन्।

‘एउटै सुचनामा खोलिएका अन्य ५ विज्ञापनमा कर्मचारी भर्ना गरिए तर हामीहरूको विज्ञापनबारे कुनै जानकारीसम्म दिएको छैन’ सहायक सब-इन्जिनियर पदका प्रत्यासी पूजाको भनाइ छ।

विज्ञापन प्रकासित भएलगत्तै नेपाल सरकारले एकजना स्थायी सब-इन्जिनियर दुहुँ गाउँपालिकामा पठाएको प्राविधिक शाखामा कार्यरत अर्का सब-इन्जिनियर दिलानन्द जोशीले जानकारी दिएका छन्। विज्ञापन खोलिएको सब-इन्जिनियर पदमा स्थायी कर्मचारी आए पनि सहायक सब-इन्जिनियरका लागि खोलिएका ३ पदमा भने अहिलेसम्म कुनै पनि कर्मचारी व्यवस्थापन गरिएको छैनन्।

एउटै सूचनामार्फत खोलिएको विज्ञापनबाट कृषि प्राविधिक चारजना, पशुसेवा प्राविधिक तीनजना, हेभी सवारी चालक एकजना, अनमी एकजना र अहेव एकजनालाई गतवर्ष नै नियुक्ति दिइएको थियो।

‘सव इन्जिनियर र सहायक सब-इन्जिनियर पदको विज्ञापन प्रक्रिया अघि नबढनुको कारण आफूलाई थाहा नभएको’ प्रमुख प्रशासकीय अधिकृत महेशवहादुर बम बताउँछन्। आफूले २०७६ जेठदेखि मात्रै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको र त्यसभन्दा अघिको विज्ञापन प्रक्रियाबारे आफू जानकार नभएको उनको भनाइ छ।

परीक्षा दस्तुर गाउँपालिकामै

विज्ञापन प्रक्रिया अलपत्र परेका आवेदकहरूबाट उठाइएको परीक्षा शुल्क दुहुँ गाउँपालिकाले अहिलेसम्म आफूसँगै राखेको छ। १५ महिनाअघि खोलिएको विज्ञापनअनुसार सब-इन्जिनियर र सहायक सब-इन्जिनियर पदको प्रक्रिया ‘रद्द वा स्थगित के गरियो?’ भन्ने जानकारीसमेत नदिइएको आवेदक पूजाको भनाइ छ।

विज्ञापन खोलिएका सबै पदमा प्रत्येक उम्मेदवारबाट १ हजार ५ सय रुपैयाँका दरले परीक्षा शुल्क उठाइएको थियो। ‘परीक्षा शुल्क हामीहरूले फिर्ता पाएका छैनौँ’ सहायक सब-इन्जिनियर पदका आवेदक सुरज कुवरले भने। आवेदन फारमवापत उम्मेदवारहरूले एक सय रुपैयाँ छुट्टै तिरेका थिए।

सहायक सब-इन्जिनियरको तीनपदका लागि पाँचजनाले दरखास्त दिएको थिए। प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बम आवेदकहरूले लिखित रूपमा परीक्षा दस्तुर फिर्ता मागेमा उपलब्ध गराइने बताउँ छन्। ‘आवेदकहरूले लिखित रूपमा परीक्षा दस्तुर फिर्ता माग गरेमा गाउँपालिकाले फिर्ता गर्छ’ उनले भने।

‘आवेदक फरक पार्टीका हुँदा प्रक्रिया अलपत्र’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य नरेन्द्रसिंह बडालले दुहुँ गाउँपालिकाले सहायक सब-इन्जिनियर पदका अधिकांश उम्मेदवार फरक पार्टी समर्थक भएकाले विज्ञापन प्रक्रिया नै अपलत्र पारिएको बताए।

राजनीतिक पूर्वाग्रहले कर्मचारी भर्ना नै अलपत्र पारिएको छ’ उनले भने, ‘एउटै सूचनामा विज्ञापन गरिएका पाँच प्रकारका पदहरूमा कर्मचारी भर्ना गरिनु तर सहायक सब-इन्जिनियर पदको विज्ञापन अलपत्र पार्नु आश्चर्य छ।’

‘आवेदन दिएकाहरू पार्टी कार्यकर्ता होइनन्, शुभचिन्तक मात्र हुन्। तर, राजनीतिक पूर्वाग्रहले विज्ञापन प्रक्रिया नै अलपत्र पारिएको छ’ बडालले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.