|

नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषदद्वारा संयुक्त रुपमा माघ १५ र १६ गते प्रज्ञा भवनमा आयोजना गरिने राष्ट्रिय गजल महोत्सवको सबै तयारी पूरा भएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख एवं महोत्सवका संयोजक प्राडा हेमनाथ पौडेलले प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय गजल महोत्सवको सबै तयारी पूरा भएको बताए। उनले भने,'महोत्सवमा सहभागी हुने गजलकार, कार्यपत्र प्रस्तोता, समीक्षक र प्रतिनिधिको छनोट र आवास तथा भोजन व्यवस्थापनका साथै सबै आवश्यक तयारी पूरा भएको छ।' 

पौडेलका अनुसार महोत्सवमा सातै प्रदेशबाट पाँच पाँच जना प्रतिनिधि गजलकारका साथै उपत्यकाबाट करिब ४० गरी ७५ जना प्रतिनिधि गजलकारको सहभागिता रहने छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईबाट माघ १५ गते बिहान १० बजे महोत्सवको समुद्घाटन हुनेछ। समुदघाटन सत्रपछि प्रदेशबाट छानिएर आएका गजलकारहरूको गजल वाचन हुनेछ भने बेलुकी वरिष्ठ गजलकारहरूले गजल सुनाउने छन्।

महोत्सवको दोस्रो दिन माघ १६ गते पहिलो सत्रमा गजलसम्बन्धी बहस हुनेछ। बहसमा ‘नेपाली गजलः परम्परा र प्रवृत्ति’ शीर्षकमा टीकाराम उदासीले कार्यपत्र प्रस्तुत गर्नेछन् भने डा घनश्याम न्यौपाने ‘परिश्रमी’ र घनेन्द्र ओझाले ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गर्नेछन्। त्यसैगरी अर्को सत्रमा ‘आजको गजल लेखनः चुनौती र दिशा’ विषयमा परिसंवाद हुनेछ। त्यसपछि प्रादेशिक गजल लेखनको अवस्थाबारे प्रतिवेदन प्रस्तुति हुने आयोजकले जनाएका छन्। 

महोत्सवका अवसरमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा आधुनिक नेपाली गजल’ र ‘प्रज्ञा नेपाली बाल गजल’को लोकार्पणसमेत हुनेछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.