|

इलाम : सवारी साधन चल्न थालेको इलाम र झापा जोड्ने दानाबारी(सुखानी)-राजदुवाली (इलाम) सडकखण्ड कालोपत्रे हुने भएको छ। २०१७ सालमा इलामका तत्कालीन बडाहाकिम सन्तवीर लामाले ट्याक्सी चढेर इलाम गएको सडक विभिन्न कारणबाट ओझेलमा परेको थियो। 

यही सडक प्रदेश सरकारको पहलमा सडक कालोपत्रे हुने भएको हो। सडक कालोपत्रे हुने भएपछि स्थानीय हर्षित भएका छन्। स्थानीय व्यवसायी सावित्रा ढकाल सडक कालोपत्रे भएपछि माई नगरपालिकाअन्तर्गतको दानाबारी क्षेत्रले विकासमा फड्को मार्ने बताइन्।  उनले भनिन्, ‘यत्रो वर्ष हिलोमैलोमा गाडी ठेल्दै व्यापार गर्न हिँडियो, अब केही राहत होला कि?’

सडक कालोपत्रे गर्न हिम्डुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिले ४५ करोड ४७ लाख १५ हजार ८१९ रुपैयाँ ६० पैसामा ठेक्का पाएको छ। सम्झौताअनुसार २०७९ असार मसान्तसम्म कालोपत्रे गरिसक्नुपर्ने छ। सात मिटर चौडा रहने कालोपत्रे पहिलो चरणमा सुखानीदेखि लोदिया बगैंचासेरोसम्म १४ दशमलव ७ किलोमिटर सम्पन्न गरिने भौतिक पूर्वाधार मन्त्रालय प्रदेश १ का सचिव राजेश घिमिरेले जानकारी दिए। 

कालोपत्रे निर्माणको शिलान्यास आइतबार प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङबोले बताए। शिलान्यासपछि मन्त्री आङबोले विगतमा भएका राजनीतिक अस्थिरताको सिकारमा परेको सडक आगामी ३० महिनामा सम्पन्न हुने बताए। ६ दशकसम्म इलामका दक्षिण क्षेत्रका बासिन्दाले इलाम सदरमुकाम र झापा जान भोग्नुपर्ने सास्ती अव अन्त्य भएको आङबोको भनाइ छ । प्रदेश सांसद धिरेन्द्र शर्माले गुणस्तरीय सडक निर्माणका लागि स्थानीयवासी जागरुक हुनुपर्ने बताए। सो क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधि गर्ने सांसद काजीमान कागतेले जनताको आवश्यकता र वर्षौदेखि भोगेको सास्तीलाई बुझेर सडक कालोपत्रे माग गरेको बताए।

माई नगरपालिकाका प्रमुख दिपककुमार थेबेले इलाम र झापा जोड्ने यो सडक मेरुदण्ड भएको बताए। वर्खाको समयमा हुने सास्तीबाट नगरवासी मुक्त हुने भन्दै उनले खुशी व्यक्त गरे। यस साडक हुँदै इलाम सदरमुकामबाट झापाको बिर्तामोड पुग्न करिब ५३ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ। 

गाग्रेभञ्ज्याङ-सोक्तिम सडक कालोपत्रे पनि शिलान्यास

देउमाई नगरपालिकाको गाग्रे भञ्ज्याङ-जितपुर , इलाम नगरपालिकाको बेलासे र माई नगरपालिकाको सोक्तिम जोड्ने सडकखण्डको २२ दशमलब ५ किमी सडक कालोपत्रेको समेत शिलान्यास गरिएको छ।  ३९ करोड ८६ लाख १० हजार ५०९ रुपैयाँमा प्यासिफिक इलाइट जेभीले कालोपत्रेको ठेक्क लिएको छ।

दुई वर्षभित्र सम्पन्न हुने सम्झौता भएको सडक हरेक दृष्टिले अति नै महत्त्वपूर्ण र उपयोगी रहने मन्त्री आङबोले बताए। डेनमार्क सरकारको सहयोगमा उन्नति समावेशी परियोजनाअन्तर्गत ट्रयाक खोलिएको सडक कालोपत्रेको लागि गत जेठमा पूर्वाधार विकास कार्यालय झापाले टेन्डर आह्वान गरेको थियो। 

गाग्रेभञ्ज्याङ-जितपुर-सोयाक-बेलवासे-सोक्तिम सडक निर्माण भएसँगै इलामका पश्चिमी क्षेत्रका बासिन्दालाई तराई झर्न सहज हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.