|

काठमाडौं : नेपाल चलचित्र संघ ४४ औं साधारण सभाबाट प्रदीप उदय अध्यक्ष निर्वाचित भएका छन्। हेटौंडामा मंगलबार भएको साधारणसभाले उनको नेतृत्वमा १३ सदस्यिय कार्यसमिति चयन गर्‍यो।नेपाली फिल्म हलहरुमा हप्तामा सरदर २ वटा फिल्म प्रदर्शनमा आएपनि तुलनात्मक रुपमा चलचित्रको व्यापार राम्रो नभएको गुनासो चलचित्रकर्मीकै छ। ३ वर्षका लागि चलचित्र संघको नेतृत्वमा चयन भएका प्रदीप उदयले यस्तो परिस्थितीलाई चिर्नकालागि के-कस्ता योजना ल्याएका छन् त? थाहाखबरका लागि जयसिंह महराले नेपाली चलचित्र क्षेत्रको अवस्था र नयाँ योजनाबारे उदयसँग गरेको कुराकानी:

नेपाली चलचित्र क्षेत्रको विकासका लागि तपाईसँग कस्ता छन्

नेपाली चलचित्र क्षेत्रको सबैभन्दा पहिलो समस्या भनेको पारदर्शिता हो। यो क्षेत्रमा व्यवसायिक पारदर्शीता छैन। हलवाला, वितरक, निर्माण पक्ष सबैले हामी व्यवसायी हौं भन्ने बुझ्नुपर्‍यो।

चलचित्र क्षेत्र गरिमामय हुन सकिरहेको छैन। यसलाई पारदर्शी र सम्मानित बनाउने मेरो प्रयास हो। हाम्रा हलहरुमा एकै हप्तामा २, ३ फिल्म प्रदर्शन भइरहेका छन्। प्रदर्शनमा पनि व्यवस्थित हुन सकिरहेका छैन। त्यसैले, यो कार्यकालमा मेरा चारवटा योजना रहेका छन्, व्यवसाय पारदर्शी बनाउने, वितरण व्यवस्थित बनाउने, यो क्षेत्रलाई सम्मानित र प्रतिष्ठित बनाउने।

नेपाली फिल्मको  व्यापारको अवस्था कस्तो छ?

नेपाली चलचित्र उद्योग राम्रो छ। तर, हामी व्यवस्थित हुन नसक्दा असफलता व्यहोर्नुपरेको छ।  जति पनि निर्माताहरु आउनुहुन्छ, धेरैले व्यवसाय बुझेका छैनन्। यो व्यवसायलाई बुझेर मात्र आउनुपर्‍यो। अनि मात्र हामी सफल हुन्छौं। 

बुझ्दै नबुझी चलचित्र निर्माणमा हाम फाल्ने र चलचित्रको प्रदर्शनलाई पनि व्यवस्थित नगर्दा नेपाली चलचित्र उद्योग धराशायी भएको छ। चलचित्र हल पनि समयअनुकूल परिमार्जित हुँदै जानुपर्छ। दर्शकको सुविधालाई ध्यानमा राख्नुपर्छ। यी यावत कुराहरुले नै चलचित्र उद्योगलाई असफल बनाइराखेको हो। चलचित्र हलहरुलाई परिवर्तन गर्ने र चलचित्र प्रदर्शनलाई व्यवस्थित गर्ने हो भने यस उद्योगको भविष्य राम्रो छ।

चलचित्र क्षेत्रमा आबद्ध कलाकार र व्यवसायीहरु सरकारले हामीलाई सहयोग गरेन भनेर गुनासो गर्छन्, सरकारबाट कस्तो सहयोगको अपेक्षा छ?

सबभन्दा पहिला त सरकारले चलचित्रलाई व्यवसायको मान्यता दिनुपर्‍यो। उद्योगको मान्यता दिनुपर्‍यो। अरु उद्योगले पाउने सुविधाहरु जुन हुन्छन्, ती दिनुपर्‍यो। अर्को कुरा, सरकारले अहिलेसम्म चलचित्र क्षेत्रलाई गम्भीर रुपमा हेरेको छैन। संस्कृति, परम्परा, कला क्षेत्रको कुरा पनि गर्ने तर भनेअनुसार व्यवहार नगर्ने भइराखेको छ। बजेटमा चलचित्र क्षेत्रलाई समेट्न कञ्जुस्याँई गरिन्छ। दबाब दिँदा अलिकति काम गरेजस्तो गर्ने तर पछि नहेर्ने। यो व्यवहार सरकारले हटाउनुपर्‍यो। 

अहिले नेपाली चलचित्रमा 'अर्ग्यानिक' र 'हाइब्रिड' को चर्चा छ, यसलाई कसरी लिनुहुन्छ?

चलचित्रको कुनै धार हुँदैन। चलचित्रको धार भनेको दर्शकले छुट्याउने हो। मौलिक र मनोरञ्जन दिने चलचित्र हरेक देशमा बन्छन्। त्यो आफ्नो व्यवसाय गर्ने तरिका हो। कसैले मौलिकतालाई व्यवसायको रुपमा प्रयोग गरिरहेको छन् भने कसैले मनोरञ्जनलाई व्यवसायको रुपमा प्रयोग गरिरहेका छन्र। वास्तवमा हामी व्यवसायी नै हो। जसले जे भनेता पनि चलचित्र बनाउने पैसा कमाउनकै लागि हो। बरु सिंगल थिएटर र मल्टिप्लेक्सको सामञ्जस्यता नमिलेकोले अलि विभाजन आएको छ।

बेला- बेला हुने चलचित्र पाइरेसीले चलचित्रकर्मीलाई समस्यामा पार्छ, यसको नियन्त्रणका लागि कस्ता योजना छन्? 

यो विषयलाई सरकारले गम्भीर रुपमा लिनुपर्छ। अहिलेसम्म हामीले पाइरेसी, चोरीका कुरा लिएर गयौँ भने सरकारबाट सहयोग पाइरहेका छैनौं। त्यसका लागि सबै चलचित्रकर्मी एक भएर सरकारलाई दबाब दिनैपर्छ। दबाब दिने वातावरण बनाउन म अग्रसर हुन्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट