|

जनकपुरधाम : साउदी जेलबाट मृत्युलाई जितेर १४ वर्षपछि उमेश यादब घर आइपुगेका छन्। गत बुधबार नै काठमाडौं आइपुगेका उमेश सोमबार जनकपुर आएका हुन्। मृत्यु दण्डबाट जोगाएका सामाजिक अभियान्ता सरोज रायसँगै आएका उमेशलाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ।

कमला नगरपालिका ३ का उमेश घर आउन लागेको जानकारी पाएपछि उनका श्रीमती, छोरा र परिवारका अन्य सदस्यहरू जनकपुर एयरपोर्ट पुगेका थिए। 
विमानबाट उमेश बाहिरिएको देखेलगत्तै श्रीमती सञ्जु र छोराहरूले आफूलाई सम्हाल्न सकेनन्। श्रीमती रोएरै बेहोस भइन्। एयरपोर्टबाट उमेश बाहिरिएर निस्केपछि श्रीमती सञ्जु ढलेकी थिइन्। उमेशले समेत आँशु थाम्न सकेनन्। उमेशले श्रीमतीलाई उठाए। त्यसपछि श्रीमती सञ्जुले उनलाई अँगालो मारेर जोडले रुन थालिन्। छोराहरू कमलेश र हितेशले पनि मन थाम्न सकेनन्, भक्कानिए।

उमेश २००६ मा साउदी अरब गएका थिए। जतिबेला छोरा हितेश जन्मेको मात्र १३ दिन भएको थियो। उमेश आँखाबाट आँशु पुछ्दै दुवै छोरा र श्रीमतीलाई गाडीमा चढाए। उनी सपरिवार जन्मस्थल कमला नगरपालिका ३ माची हिडेका छन्। घरमा समेत ठूलो भीड लागेको छ। उमेश फर्केको खुसीमा आफ्न्तले स्वागत भोजको आयोजना गरेको बुझिएको छ।

साउदी अरबमा हरप्पा सबभन्दा खतरनाक कानुन हो। तर हरप्पा अनुसार नै पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा उमेशलाई घाँटी काटेर झुण्ड्याउने फैसला साउदी अरबको अदालतले गरेको थियो।

मृत्युदण्डको सजाय पाएको थाहा पाएपछि जनकपुरका सामाजिक अभियान्ता सरोजले उमेशको आममाफीको पहल थाले। उनी २ पटक पाकिस्तान र एक पटक साउदी अरब पनि पुगे।

हत्या गरिएको भनिएका पाकिस्तानी नागरिक लतिफ बसिरको घर पुगेर उनको परिवारसँग उमेशलाई माफी दिन 'कन्भिन्स' गरे। बसिरको परिवारले ३० लाख ब्लड मनी लिएपछि उमेशलाई माफी दिन सहमति भयो। उमेश सो रकम संकलन गर्ने अभियानमा लागे। केही दिनमै उमेशको नाममा ३० लाख रकम पनि संकलन भयो।

सरोजले रकम बुझाएपछि माफीनामा कागज बसिरका परिवारबाट ल्याएर साउदीको अदालत पठाए। त्यसपछि उमेशले माफी पाउन सफल भयो। अभियान्ता सरोजले भने, ‘मैले मृत्युदण्डबाट उमेशलाई जोगाएँ। तर त्यो भन्दा पनि उमेश घर फर्किँदा उनको परिवारले पाएको खुःसी नै मेरो लागि महत्वपूर्ण कुरा हो।

'उमेश नेपाल फर्के पनि अन्य ५ नेपाली साउदी अरबमै मृत्युदण्ड पर्खेर कैद जीवन विताइरहेका छन्। उनीहरूलाई पनि फर्काउने मेरो चाहना छ' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.