|

इरानमा एउटा यात्रुवाहक विमान रन-वे छाडेर सडकको बीच भागमा अवतरण भएको छ। दक्षिण-पश्चिम शहर माशहरको विमानस्थलनजिक यस्तो घटना भएको छ। यात्रुबाहक विमान रन-वेमा अवतरण गर्ने प्रयास गर्दा चिप्लिएर नजिकै रहेको राजमार्गमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

विमानमा १३५ जना यात्रु सवार थिए। यद्यपि सबै यात्रु सुरक्षित रहेका समाचारमा उल्लेख छ। क्यास्पियन एयरलाइन्सको उक्त विमान तेहरानबाट मासहर गइरहेको थियो। तर यसका पांग्रा अवतरणको लागि पूर्ण रुपमा नखुलेपछि घटना भएको हो। सामाजिक सञ्जालमा विमानबाट उत्रिरहेका यात्रुको कयौं तस्वीर र भिडियो पोस्ट भएका बिबिसीले जनाएकाे छ।

इरानी सरकारी टेलिभिजनले प्रान्तीय उड्डयन अधिकारीलाई उद्धृत गर्दै पाइलटले विमानको अवतरण गराउने ढिलाई गरेका कारण रन-वेबाट बाहिरिएको बताएका छन्। क्यास्पियन एयरलाइन्सले एक वक्तव्य जारी गर्दै घटनाको पुष्टि गरेको छ। इरानमा भएको पछिल्लोे विमान दुर्घटनामा ६६ जनाको मृत्यु भएको थियो।

उड्डयनको क्षेत्रमा इरानको सुरक्षा रेकर्ड निक्कै खराव अवस्थामा छ। सुरक्षा चिन्तालाई मध्यनजर गर्दै युरोपेली संघले इरानको दुईवटा एयरलाइन्सलाई आफ्नो हवाई क्षेत्रको उपयोगमा प्रतिबन्ध गरेको छ। इरानले सन् २०१५ को परमाणु सम्झौतामार्फत आफूमाथि लागेको प्रतिबन्धमा पाएको छुटको लाभ लिँदै पुराना यात्रुबाहक विमान बेचेर नयाँ विमान किन्ने योजना बनाएको थियो।

तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त सम्झौताबाट बाहिरिने निर्णयपछि अमेरिकी ट्रेजरीले इरानको यात्रुबाहक विमान बेच्नका लागि कम्पनीहरूको लाइसेन्स रद्ध गरी दिएको थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.