|

धादिङ : नुवाकोट जिल्लाको विकटमा रहेको दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीबाट हराइरहेका दुई युवाको शव हिउँले पुरेको अवस्थामा फेला परेको छ।

गोसाइँकुण्ड पदयात्रामा निस्किएको दुई सदस्यीय टोली माघ ३ गतेदेखि हराएपछि उनीहरूको खोजी भइरहेको थियो। सिन्धुपाल्चोक जिल्ला मेलम्चीका २१ वर्षीय वाङदेल शेर्पा र काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ का  १९ वर्षीय जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा फेला परेको नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए। 

उद्धारका लागि गाउँपालिकामार्फत परिचालन गरिएको पर्यटक गाइड समेत रहेका तादी गाउँपालिका १ उर्लेनीका लालबहादुर तामाङ र होटल व्यवसायी अन्तरे तामाङ नेतृत्वको उद्धारकर्मीको टोलीले हराइरहेका दुई जनाको शव सोमबार दिउसो ११.४५ दुप्चेश्वर गाउँपालिकाको फेदीको खोँचमा हिउँले पुरिएको अवस्थामा  ४० मिटरको फरकमा फेला पारेको अध्यक्ष तामाङले वताए। 

गोसाइकुण्डलगायतका क्षेत्रको पदयात्रामा माघ १ गते सिन्धुपाल्चोकबाट निस्किएको टोली माघ ३ गतेदेखि सम्पर्क वाहिर रहेको खबर आएपछि गाउँपालिकाले उनीहरूको खोजीका लागि विशेष अभियान सञ्चालन गरेको थियो।

हराइरहेका व्यक्तिको खोजी कार्यलाई प्रभावकारी बनाउन गाउँपालिकाले एक लाख सहायताको घोषणा गरेको पनि अध्यक्ष तामाङले जानकारी दिए। मृत अवस्थामा भेटिएका दुई युवाको शव आफन्तलाई बुझाउन हेलिकोप्टर ल्याउने प्रयास गरिएको भए पनि घटनास्थलमा अत्याधिक चिसो र हुस्सु लागिरहेको कारण हेलिकोप्टर अवतरण गराउन नसकिएको वताइएको छ। 

हराइरहेका दुई व्यक्तिको शव भेटिएको जानकारी आएपछि नुवाकोटको खरानीटारस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।

घटनास्थल सदमुकाम विदुरबाट ७७ किलोमिटर टाढा रहेको भए पनि अत्याधिक चिसो र हिमपात भइरहेको कारण समस्या भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.