अख्तियारको फन्दामा पर्ने डरले भारतमै पुगेर असुली

|

नवलपरासी : भारतीय सीमासँग जोडिएका पश्चिम नवलपरासीका सीमानाकामा तस्करहरुले रजाईं गर्न थालेका छन्‌। सीमा सुरक्षार्थ खटिएको प्रहरीले तस्करसँग साँठगाँठ मिलाउने र भन्सारका कर्मचारीले गोजी भर्ने गरिरहेको तथ्य फेला परेको छ 

बिसुनपुरा, महेशपुर, भुजहवा, बसहिया झुलनिपुरनाबाट दिनहुँ नेपालतर्फ लाखौं रुपैयाँ बराबरका सामान अवैध रुपमा भित्रने गरेको छ। यसबाट राज्यलाई मासिक करोडौं रुपैयाँ राजस्व घाटा लागिरहेको छ। तर राजस्व उठाउन बसेका भन्सारका कर्मचारीहरु भने मालामाल हुने गरेका छन्‌। 

नेपालतर्फ तस्करी हुँदै गरेको सामान सीमापारी भारतीय प्रहरीले बेलाबखत समात्छ, तर नेपालको सिमाना छुनेबित्तिकै तस्करहरु ढुक्क महशुस गर्छन्‌। केहिअघि भारतको ठुठीबारीमा त्यहाँको 'एसएसबी कस्टम'ले विभिन्‍न गोदामबाट १५०० बोरा केराउ बरामद गरेको थियो। भारतबाट नेपालतर्फ नभई नेपालबाट भारततर्फ पनि निकै तस्करी हुने गरेको छ। नेपाली सिमानाकाबाटै छिरेका तस्करीका अवैध सामान भारततर्फ समातिने गरेको छ।

सीमानाकामा चोरी-तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र महेशपुर भन्सारका कर्मचारी खटिँदै आएका छन्‌, तर दैनिक ठूलो परिमाणमा अवैध निकासी पैठारी भइरहेको छ। छिटपुट रुपमा केही सामान बरामद हुने गरेपनि तस्करी नियन्त्रणमा सुरक्षाकर्मी र भन्सारका कर्मचारीले नजरअन्दाज गरेको स्थानीयवासीहरुको गुनासो छ। 


भारतबाट तस्करी गरेर सामान ल्याउनेसँग घुस बुझ्दै एक कर्मचारी।

तस्करी नियन्त्रण गर्न भन्दै यसअघि सशस्त्र र नेपाल प्रहरीले सादा पाेसाकमा घुमुवासमेत खटाउने गरेको थियो। तर तस्करी नियन्त्रणको साटो तस्करसँगै मिलेर रकम असुल्न थालेको आलोचना भएपछि प्रहरीले यस्ता घुमुवा परिचालन गर्न छाडेको छ। 

यसअघि अख्तियारले सशस्त्र प्रहरीका सहायक हवल्दार ज्ञानेन्द्र मौर्यलाई ब्यापारीसँग घुस लिँदै गर्दा गत असोजमा पक्राउ गरेको थियो। प्रतापपुरबाट पक्राउ परेका मौर्य घुमुवाकै रुपमा खटिएका थिए। उनी पक्राउ परेयता भारतीय क्षेत्रमै पुगेर रकम असुल्ने गरेको तस्करीमा संलग्न एक व्यापारीले जानकारी दिए। 

भन्सार छलेर साईकल र मोटरसाईकलमा सामान ल्याई बर्दघाट र गोपिगञ्ज बजारमा छोड्नेहरुका अनुसार सामान तस्करी गर्न दिएवापत प्रहरी र कर्मचारीहरुले मासिक रुपमै रकम बुझ्ने गर्छन्‌। प्रहरी र भन्सारमा कार्यरत माथिल्ला तहका कर्मचारीहरुले तस्करबाट असुल्ने रकम बुझ्न आफ्ना विश्वासिला सुरक्षाकर्मीलाई नै खटाउने गरेका छन्‌। मोटरसाइकलमा सामान ल्याउँदै गरेका एक व्यक्तिले भने,'मिडियामा नाम चाहिँ नलेखिदिनुहोला, तर पुलिसलाई पैसा बुझाइसकेको छु, अब रोकतोकबिनै ढुक्कले तस्करी गर्न सक्छु।'

तस्करसँग रकम असुल्न पल्केका प्रहरी र भन्सारका कर्मचारीले दैनिक अत्यावश्यकीय उपभोग्य सामान लिन सीमापारी जाने सर्वसाधारणलाई समेत ठग्ने गरेका छन्‌। महेषपुर भन्सार कार्यालयका कर्मचारीहरुले भारतीय बजारबाट दैनिक प्रयोजनका लागि थोरै सामान किनेर फर्कनेहरुसँग पैसा असुल्ने गरेका हुन्। 

भन्सारकै कर्मचारीले पटक-पटक बाटोमा रिक्सा र जिपलगायतका सवारीसाधन रोकेर पैसा माग्न थालेपछि स्थानीयबासी आजित हुने गरेका छन्। महेषपुर भन्सार कार्यालयका सहायक लोकबहादुर शाहीले घरायसी प्रयोजनका लागि सामान ल्याउनेहरुसँग रकम असुलिरहेको प्रमाण नै प्राप्त भएको छ।

माथिल्ला तहका अधिकारीहरुको आदेशमा शाहीले निर्वाध रुपमा तस्कर र सर्वसाधारणसँग रकम असुल्ने गरेका छन्‌। तर यो भन्सारका प्रमुख हेमचन्द्र शर्मा चाहिं तल्लो दर्जाका कर्मचारीले आर्थिक प्रलोभन परि यस्तो कार्य गरेको हुनसक्ने, तर आफूहरुले कुनै साँठगाँठ नगरेको दाबी गरे। प्रहरी र कर्मचारी नै संलग्न भएपछि अहिले सीमानाकामा चाेरी-तस्करी निकै फस्टाएको छ। 

भन्सार प्रमुख नै भन्छन्‌-'तस्करी रोक्न सकिनँ'

तस्करसँग कुनै साँठगाँठ नगरेको दाबी गर्ने महेषपुर भन्सारका प्रमुख हेमचन्द्र शर्माले तस्करी नियन्त्रण गर्न नसकेको तथ्यलाई घुमाउरो भाषामा स्वीकारे।

उनले भने,'सीमा नाकाबाट रातको समयमा राँगाभैंसी तस्करी गरी नेपाल भित्र्याएर बिक्रीवितरण हुने गरेको छ, धेरै पटक फिल्डमै खटेर पक्राउ नै गरेको छु, तर तस्करी रोकिएन।'

भन्सारले अनुरोध गरेका बेला सुरक्षाकर्मीले तदारुकता देखाउने गरेपनि अन्य समयमा गर्ने सुरक्षाव्यवस्थाबारे आफूलाई कुनै जानकारी नहुने शर्माले बताए। भन्सार कार्यालयमा आएदेखि नै तस्करी रोक्नका लागि निरन्तर प्रयास गरिरहेको, तर सफल हुन नसकेकाले अब फरक रणनीतिका साथ अगाडि बढ्ने योजना उनले उनले सुनाए।

भारतसँग सीमा जोडिएका नवलपरासीका नाकाहरुबाट मरिच, सुपारी, केराउ, सुठो र कवाडका सामग्रीहरु भन्सार छली गर्दै भारतमा तस्करी हुने गरेको छ। भारतबाट चाहिं तस्करहरुले कपडा, विद्यूतीय, दैनिक घरायसी प्रयोजनका सामग्री, कुखुराका चल्ला, खसी-बोका, हार्डवयरका सामाग्री, टायललगायतका धेरै सामानहरु नेपाल भित्र्याइरहेका छन्‌। 

यसरी हुन्छ तस्करी

जिल्लाको परासी, सुनवल, भुमही बर्दघाट, गोपिगञ्ज , पूर्वी नवलपरासीको कावासोती, चितवनको नारायणगढका व्यवसायीहरु ठुठीवारी पुगेर सामान खरिद गर्छन्‌। सामान बेच्ने भारतीय व्यापारीले सो सामान नेपाली व्यापारीकै पसलसम्म ल्याइदिने जिम्मा लिन्छन्‌। अनि शूरू हुन्छ तस्करीको साम्राज्य !

घरायसी प्रयोजनका लागि ल्याइएका कपडा, कुखुराका चल्ला, खसीबोकालगायत सामानहरु र छिटपुट तस्करलाई समेत समात्ने सशस्त्र प्रहरीले ठूलो परिमाणमा तस्करी हुने सामानमा चाहिँ आँखा नै लगाउँदैन। धेरै सामान प्राय: ठूला व्यापारीले नै नाका कटाउँछन्‌ र त्यसबापत प्रहरीलाई मोटो रकम बुझाउने गर्छन्‌। अख्तियारले नै रङ्गेहात समात्नेगरी तस्करसँग रकम असुल्ने प्रहरीलाई यस क्षेत्रका व्यापारीहरुले मोटो रकम दिइ हात लिने गरेका छन्‌।

एकाथरी व्यापारी चिन्तित, तस्करी घटेको अर्काथरीको दावी

बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने चोरी तस्करी नियन्त्रण हुन नसक्दा भन्सार तिरेर ल्याएका सामग्री कारोबार गर्नेहरुलाई निकै मर्का परिरहेको बताउँछन्‌। उनी भन्छन्‌, 'बेलाबखत थोरैतिनो सामान समातिन्छ, तस्कर समातिँदैनन्, यसो हुनुमा सुरक्षा निकायले मिलेमतो गरेको सजिलै बुझ्न सकिन्छ।' कदाचित्‌, तस्कर समातिए पनि लेनदेनमै कुरा मिलाएर उनीहरुलाई उन्मुक्ति दिने प्रवृत्ति रहेको न्यौपानेले बताए। 

तर, उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी चाहिं पहिलेको तुलनामा अहिले तस्करी घटेको दावी गर्छन्‌। उद्योग बाणिज्य संघले यस विषयमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरिरहेको र  नियन्त्रणका लागि प्रयास गरिरहेको भण्डारीले बताए।

सिमानामा तस्करको गोदाम, यस्तो छ दररेट

तस्करहरुले सीमानाका नजिकका रगरगंज, गेरमा, गेर्मी, गोपालपुर, भक्सिपुर, महेशपुर, रमपुरवा, भुजहवा, बसहियालगायतका स्थानमा नेपालतर्फ ल्याउने सामान गोदाम नै बनाएर राख्ने गरेका छन्‌। एउटै तस्करले एकै दिनमा १० ट्रकसम्म सामानहरु यस्ता गोदाममा राख्ने गरेका छन्‌। यस्ता ट्रकले तस्करका गोदाममा केराउ, छोकडा, सुपारी, मरिच, श्रृङ्गारका सामान ओसार्ने गर्छन्‌।

यी सामान निर्वाध नेपालतर्फ भित्र्याउन दिएबापत आफूहरुले सशस्त्र र नेपाल प्रहरीलाई मासिक रुपमा ५० हजारदेखि एकलाख रुपैयाँसम्म बुझाउने गरेको तस्करहरु दाबी गर्छन्‌। सजिलै सामान भित्र्याउन नसकेका बेला तस्करहरुले बालबालिकाको समेत प्रयोग गर्ने गरेका छन्‌। गाडीबाट सामान ल्याउँदा चाहिँ प्रतिगाडी २०० देखि ५०० रुपैयाँसम्म असुल्ने गरिएको व्यापारीहरु बताउँछन्‌।

तस्करहरुले यात्रुबाहक बसहरुमा समेत सामान लोड गरेर कावासोती र नारायणगढका बजारसम्म पुर्‍याउने गर्छन्‌। 

प्रहरी भन्छ : तस्करको भागाभाग भएको छ

सशस्त्र प्रहरी बल २६ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक भरत खनिया चाहिँ अहिले सीमा नाकामा कडाई गरेका कारण तस्करहरुको भागाभाग भएको दाबी गर्छन्‌। उनले सशस्त्रका तर्फबाट घुमुवा खटाउन रोक लगाईएकोले आफूहरुले कुनैपनि घुमुवा नखटाएको दाबी गरे।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले नेपाल प्रहरीले घुमुवा खटाउँदा उजुरी परेपछि घुमुवाहरु हटाइएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.