|

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५, खरी भदुवारमा होम-स्टे (घरबास) संचालनमा ल्याईएको छ। ‘भदुवार कालिका होम-स्टे’ नामबाट संचालनमा आएको यो घरबास माघ ११ गते शनिबारदेखि औपाचारिक रुपमा सञ्चालनमा आएको हो।

काठमाडौँबाट देशका ६७ जिल्लालाई जोड्ने नागढुङ्गा-नौबिसे सडक हुँदै मलेखुको पुलबाट १८ किलोमिटर पक्की बाटो पार गरेर सदरमुकाम धादिङबेसी पुगेपछि त्यहाँबाट १५ किलोमिटरको दुरीमा ५ किलोमिटर पक्की बाटो र १० किलोमिटर ग्रावेल बाटो हुँदै भदुवार कालिका होम स्टे पुग्न सकिन्छ। 

भदुवार गाउँको नौवटा ओटा घरमा एकैपटक ३० जनासम्म पाहुनाहरु राख्नसक्ने गरि सञ्चालनमा ल्याइएको होम स्टे व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर आलेले जानकारी दिए। उनका अनुसार अन्य घरहरुमा पनि होम-स्टे विस्तार गर्ने लक्ष्य राखिएको छ। 

यो होम-स्टे सदरमुकाम धादिङबेसीबाट एक घण्टाको मोटरबाटो पर्छ। होम-स्टेमा मगर जातिको परम्परागत संस्कृति, उनीहरुले खाने खानाका साथै सोरठी र घाटु लगायतका गीतसङ्गीतबाट मनोरञ्जन लिन सकिने व्यवस्था मिलाइएको छ।

साँधेको गुन्द्रुक र भटमास, कोदो/मकैका परिकार, कोदो/चामलको सेल रोटी, स्थानीयले घरमै पालेका लोकल कुखुरा, सुँगुर, बुंगुरको मासु मौसम अनुसारका विषादीरहित ताजा तरकारी, खरिको पिंडालुको परिकारलगायतका विभिन्न स्वादले पाहुनाको स्वागत-सत्कार गरिने स्थानीयहरू बताउँछन्। 

बहुचर्चित पहिलो जलाशययुक्त बुढीगण्डकी जलबिद्युत आयोजना बनेपछि त्यसको ताल हेर्न जाने पर्यटकहरुको लागि यो होम स्टे उपयुक्त बासस्थान हुन सक्छ। बुढीगण्डकी राष्ट्रिय गौरवको आयोजना हो। 

यसैगरी, स्थानीय उत्पादनका साथै स्थानीय कला र संस्कृति झल्काउने संग्रहालय निर्माणको काम अगाडी बढाउने व्यवस्थापन समितिले जनाएको छ। होमस्टेको सेवालाई स्तरीय बनाउँदै लगेपछि गाउँमा आउने पर्यटकहरूको संख्या बढ्ने र स्थानीय उत्पादन तथा कृषि उपजहरुको समेत उत्पादनमा स्थानीयहरुको उत्साह बढ्ने विश्वास गरिएको छ।

कालिका होम स्टेमा बहुउद्देश्यीय सामुदायिक भवनसमेत बनाईएको छ। पाहुनाहरुको आवश्यकतालाई हेरेर संयुक्त रूपमा खाना खुवाउने तथा सांस्कृतिक कार्यक्रम गर्ने योजना रहेको व्यवस्थापन समितिले जनाएको छ। सुन्दर तथा प्राकृतिक यस क्षेत्रको विकास तथा होमस्टे प्रवद्र्धन मार्फत स्थानीयवासीको जीविकोपार्जन तथा ग्रामीण पर्यटनको संभावनालाई बढाउन आफ्नो तर्फबाट सक्दो सहयोग रहने धादिङ क्षेत्र नम्बर २ का संघीय सांसद खेमप्रसाद लोहनीको भनाई छ। 

मगर गाउँको सफा वातावरणमा उनीहरुको संस्कार अनुसारको बसाईको साथै स्वच्छ वातावरणमा संचालित भएको उक्त होम स्टे आन्तरिक तथा वाह्य दुवै पर्यटकका लागि उत्तम गन्तव्य हुन सक्ने ट्रेकिङ एजेन्सी एशोसियन अफ नेपाल ( टान) का अधयक्ष खुमवहादुर सुवेदीको भनाई छ। होम स्टेमा पर्यटकहरु ल्याउन आफूले पनि सक्दो सहयोग गर्ने सुवेदीले बताए।

भदुवार कालिका होम-स्टेको संघीय सांसद खेमप्रसाद लोहनी र पूर्व सांसद एवम्‌ संविधान सभाका सदस्य गुरुप्रसाद बुर्लाकोटीले माघ ११ गते शनिबार संयुक्त उद्घाटन गरेका थिए। नेपाल सरकारले जनवरी १ मा घोषणा गरेको भ्रमणवर्ष २०२० लाईनै लक्षित गरी होम स्टे संचालनमा ल्याईएको सञ्चालकहरुले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.