हिउँ छिचोल्दै सडक खुलाउने प्रयास

|

मुगु : हिमाली जिल्ला मुगु जोड्ने नाग्म-गमगढी सडक खण्ड एक महिनादेखि बन्द भएको छ। गत पुस १७ गते कर्णालीमा दोस्रो पटक परेको बाक्लो हिमपातले नाग्म गमगढी सडक अबरुद्ध भएको हो।

बाक्लो हिमपातले नाग्म गमगढी सडक खण्डको भुलबुले-घुच्ची, सात मोड-झाड नाउलामा ४ फिटसम्म हिउँ जमेपछि नाग्म गमगढी सडक एक महिनादेखि बन्द भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

पहिलो पटक गत मंसिर २८ गते परेको हिमपातले पनि नाग्म गमगढी सडक बन्द भएको र बन्द सडक एक सातापछि डोजर लगाई  खुलाइएको भए पनि पुन: परेको हिउँले सडक बन्द भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए। उनका अनुसार एक महिनादेखि हिमपातले बन्द सडक खुलाउने प्रयासमा सडक डिभिजन जारी राखेको छ।

'पाँच दिनदेखि हिउँ पन्छाउन डोजर  प्रयोग गरेका छौं। बाक्लो हिमपातले जमिन नछोडे पछि हिउँ पन्छाउन समस्या भएको छ। मौसममा सुधार आए र यस्तै कामको गतिमा डोजरले हिउँ पन्छाउदै गएमा नाग्म-गमगढी सडक एक साताभित्र संचालन हुन्छ' प्रमुख भण्डारीले भने।

हिउँद हिउँ वर्षा हिलो

नाग्म-गमगढी सडक खण्डमा हिउँदमा हिमपातले र वर्षामा पानीले अबरुद हुने गरेको छ। २०६९ साल पुस १ गते मुगु सडक सञ्जालमा जोडिएको भए पनि हालसम्म सडकको स्तरोन्नति नहुँदा यो सडक खण्ड वर्षको ४ महिना मात्र सवारी साधन चल्ने गरेका छन्। सडक खुलेको लामो समय भइसक्दा पनि सडकका न्यूनतम मापदण्ड ग्राभेल, पानीका नाला, ढल, कल्भड, ब्यवस्थित नहुदा हिउँद हिउले  र वर्षामा पानीले सडक बन्द हुने गरेको उद्योग वाणिज्य संघ मुगुका उपाध्यक्ष रत्न सिंह मल्लले बताउछन्।

वर्षको ८ महिनासम्म सडक बन्द हुँदा व्यवसाय गर्न पनि समस्या हुने गरेको छ। उपभोक्ताले खोजेको सामान पाउन समयमै उपलव्ध गराउन व्यापारीलाई मुस्किल हुने गरेको छ। सडकको नाममा राजनीतिक खिचातानीले व्यापारी, सर्वसाधारण मर्कामा परेका छन्।

सडक बन्द हुँदा स्थानीय तहका विकास निर्माणका काम पनि प्रभावित भएका छन्। स्थानीय तहका पुल, पुलेसा बत्तीका सामान ढुवानीमा समस्या भएको र काम पनि अधुरै रहेका स्थानीय तहले जनाएका छन्। 

दुई महिनादेखि गोठीजिउला-कालाकाँडा सडक बन्द

त्यस्तै मुगु जिल्लाको खत्याड गाउँपालिका जोडने गोठीजिउला–कालाकाँडा–गम्था सडक खण्ड पनि अबरुद्ध छ। अवरुद्ध भएको सडक दुई महिना पुगिसक्दा पनि सरोकारवाला निकायहरू सडक खुलाउनमा मौन रहँदा यो गाउँपालिकाका स्थानीय बजार रातापानी, माझचौर, राउतडी, सेरी र पाँचे बजारमा दैनिक उपभोग्य तथा निर्माण सामग्रीको अभाव बढदै गएको छ। यो खण्डमा बाख्लो हिउ जमेर सडक अवरुद्ध भई यातायातका साधनहरू चल्न नसक्दा स्थानीय व्यापारी तथा सर्वसाधरण सास्ती भोग्दै आएका छन्। 

स्थानीय व्यापारी लोकराज दाहाल सडक अवरुद्ध भएको लामो समय हुँदा पनि सडक डिभिजन तथा गाउँपालिकाले सडक खुलाउन कुनै प्रयास नगर्दा आफूहरू मर्कामा परेको बताउँछन्। यो गाउँपालिकामा पनि जिल्लाका अन्य स्थानीय तहहरू झै विकास निर्माणका काम शुरु हुन सकेका छैनन्।

निर्माण सामग्री स्थानीय बजारमा उपलब्ध नहुँदा विकास निर्माणका काम अवरुद्ध भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.