शंकास्पद बिरामीमा भेटिएन कोरोना

|

काठमाडौं :  चीनसहित विश्वका विभिन्‍न देशमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालले यसको जोखिम न्यूनीकरण तयारी बढाएको छ।

त्यसकै लागि स्वास्थ्य मन्त्रालयले टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालसँगै अन्य अस्पताललाई पनि तयारी अवस्था रहन भनेको छ।

मन्त्रालयले छाउनीस्थित नेपाली सेनाको अस्पतालमा बन्दै गरेको ओपिडी भवनलाई तत्कालका लागि आइसोलेसन वार्डको रुपमा प्रयोग गर्न सम्भाव्यता अध्ययन गरेको छ।

मन्त्रालयको एउटा टोलीले स्थलगत अध्ययन पनि गरेको छ। छाउनी अस्पताल परिसर प्री-फ्याव मोडलमा बन्दै गरेको भवनमा एक सय भन्दा बढी संक्रमित राख्नु परे सम्भव हुने टोलीको निस्कर्ष छ।

स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्र रमण सिंहको टोलीले मंगलबारै छाउनी अस्पतालको निरीक्षण गरेको थियो ।

६ बेडको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको टेकु अस्पतालले थप ५० जना बिरामी आए पनि त्यसलाई व्यवस्थान गर्न सक्ने मन्त्रालयका अधिकारीलाई बताएको छ ।

 ‘अहिले सरुवा रोगका बिरामी खासै छैनन्। आवश्यक परेमा अरु बिरामीलाई तल सारेर माथिल्लो तलालाई आइसोलेसन वार्डको रुपमा ५० भन्दा बिरामी राख्न सकिन्छ,’ निरीक्षणमा गएका सहसचिव डा. गुणराज लोहनीले बताए ।

यता मन्त्रालयका अनुसार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले पनि ६ बेडको आइसोलेसन वार्ड बनाउने तयारी गरेको छ। अहिले नै नयाँ भवन बनाउन सम्भव नभएपछि शिक्षण अस्पतालकै वार्डलाई अन्यत्र सिफ्ट गरेर ६ बेडको आइसोलेसन वार्ड बनाउने योजनामा अस्पतालले गरेको छ।

शंकास्पद बिरामीमा कोरोना भेटिएन

यता कोरोना भाइरसको शंका गरेर टेकु अस्पतालमा उपचार गराइरहेका बिरामीमा कोरोना भाइरस नभएको पुष्टि भएको छ। अस्पतालको आइसोलेसन वार्डमा कोरोना भाइरस संक्रमणको आशंकामा भर्ना भएका चारमध्ये दुईजना सोमबार दिउसो डिस्चार्ज भएका थिए।

मंगलबार एक महिलाको केन्द्रीय प्रयोगशालामा भाइरहेको ल्याब परीक्षणबाट कोरोना भाइरस नेगेटिभ भेटिएको प्रयोगशालाकी निर्देशक डा रुना झाले बताइन्।

ती बिरामीमा कोरोना भाइरस नभेटिएसँगै अन्य परीक्षण गरेर बिरामी डिस्चार्ज गरिने टेकु अस्पतालका डा. अनुप बाँस्तोलाले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले आइसोलेसन वार्डमा दुई तीन दिन अघिदेखि रहेकी चिनियाँ प्राध्यापकको रिपोर्ट नेगेटिभ आएको बताइन्। रिपोर्ट नेटेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्ने तयारी गरेको छ।

अहिलेसम्म नेपालमा १ जना (जो उपचार गरी डिस्चार्ज भइसकेका छन्) मा मात्रै नयाँ कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

टेकु अस्पतालको आइसोलेसन वार्डमा अहिलेसम्म ६ जना बिरामी भर्ना भएकामा चार जना डिस्चार्ज भइसकेका छन्। मंगलबार बेलुकासम्म थप एकजनालाई डिस्चार्ज गर्ने अस्पतालको तयारी छ।

एक शंकास्पद बिरामी थपिए

कोरोना भाइरसको आशंकामा मंगलबार फेरि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा थप एकजना बिरामी भर्ना भएका छन् । चीनको उहान शहरमा अध्ययन गरी फर्किएकी २५ वर्षीया नेपाली छात्रा भर्ना भएको अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले बताए ।

‘केही दिनअघि नै नेपाल फर्किएकी उनमा ज्वरो आउने र अरु केही लक्षण देखिएपछि आकस्मिक कक्षमा आफैँ आउनु भएको थियो। हामीले अहिले उहाँलाई भर्ना गरी आइसोलेसन वार्डमा सारेका छौँ,’ उनले भने।

टेकुको आइसोलेसन वार्डमा हिजोसम्म दुईजना बिरामी थिए । तीमध्ये बिहानै एकजना डिस्चार्ज भए। परीक्षणका क्रममा अर्का एकजनाको रिपोर्ट पनि नेगेटिभ देखिएपछि डिस्चार्ज गर्ने तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.