|

बारा : मापदण्डविपरीत बारा जिल्लाभित्र सञ्चालन भएका नदीजन्य उत्खनन् आजदेखि बन्द भएको छ। जिल्ला अनुगमन समितिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनविपरीत नदीजन्य उत्खनन् भएको भन्दै तत्काल उत्खनन् रोक्न सम्बन्धित पालिकाहरूलाई सोमबार नै निर्देशन दिएको थियो। अनुगमन समितिले दिएको निर्देशन आजदेखि कार्यान्वयन भएको छ।

‘जिल्ला अनुगमन समितिको पत्र पाए लगक्तै मैले प्रहरीलाई पत्र पठाएर नदीजन्य उत्खनन् रोक्न मंगलबार नै निर्देशन दिइसकेको छु’ बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भने। बारा जिल्लाभित्र रहेका उत्खनन् हुने पाँचवटा खोलाहरूमा दुधौरा, वालगंगा र पसाहा जीतपुरसिमरा उपमहानगरअन्तर्गत पर्दछ भने बकैया र धन्सार खोला कोहल्वी र निजगढ नगरपालिकाअन्तर्गत छ। ‘हामीले अर्को निर्णय नभइजेन्लसम्मका लागि सबै खोला रोक्न निर्देशन दिएका छौँ’ प्रजिअ पोखरेलले भने।

मापदण्डविपरीत नदीजन्य उत्खनन् भएको भन्दै जिल्ला अनुगमन समिति यसअघि पनि पटकपटक जीतपुर सिमरालाई निर्देशन दिएको थियो। तर नगरपालिकाले अनुगमन समितिको निर्देशनलाई अटेर गरेर ‘राजस्व मर्ने’नाममा ठेकदारलाई प्रोत्साहन गरिरहेको स्वयं वडाध्यक्षहरूले जनाएका थिए।

बाराका  प्रहरी नायव उपरीक्षक गौतम मिश्रले अनुगमन समितिको निर्देशनअनुसार आजदेखि खोलामा उत्खनन् रोकिएको दावी गरे। ‘खोलामा धेरै बेथीति भयो तत्काल खोला उत्खनन् रोकेर ठेकदारसँग उत्खनन्, भण्डारण र बेचविखनको सम्पूर्ण विवरण माग्ने र इआइए प्रतिवेदनका आधारमा भए/नभएको अनुगमन गरेर मात्रै संचालन गर्न दिने  अनुगमन समितिको निर्णय भएकोले सोही आधारमा हामीले खोलामा उत्खनन् रोकेका हौँ।’

हालसम्म कति उत्खनन् भयो, बेचविखन र भण्डारण कहाँ कहा भएको छ सम्पूर्ण बुझाउन अनुगमन समितिले जीतपुरसिमरा, कोहल्वी र निजगढ नगरपालिकालाई निर्देशन दिएको छ। ‘अनुगमन समितिले उत्खनन् कार्य बन्द गरी हाल जहाँ जुन अवस्थामा छ सोही अवस्थामा राखेर ५ दिनभित्र  सम्पूर्ण विवरण पेश गर्न नगरपालिकालाई  निर्देशन दिएको छ’ डिभिजन वन कार्यालय बाराका वन अधिकृत मञ्जुर अहमद्ले भने ‘जिल्ला अनुगमन समितिले पटक पटक दुधौरा, वालगंगा र पसाहा खोलाको अनुगमन गरेर दिएको निर्देशन हो, अब सम्बन्धित नगरपालिकाले मान्छ मान्दैन उहाँहरूको कुरा।’

जीतपुरसिमरा उपमहानगरले बाराको पसाहा खोला ओम सप्लार्यस, वालगंगा न्यु पाथीभरा र दुधौरा खोला श्रेष्ठ बिर्ल्डस्लाई भ्याटसहित साढे ३ करोड देखि पोने ४ करोडमा  उत्खनन्को ठेक्का दिएको छ। हालसम्म तीवटै खोला ठेकदारले नगरपालिकालाई कुल रकमको ३३ प्रतिशत पहिलो किस्ता स्वरुप बुझाएका छन् भने ५ प्रतिशत  रकम बैक ग्यारेन्टी बुझाएका  छन्।

अनुगमन समितिको निर्देशनविपरीत नगरपालिकाको निर्णय

जिल्ला अनुगमन समितिले तत्काल उत्खनन् रोक्न दिएको निर्देशन विपरीत जितपुरसिमरा उपमहानगरले भने खोला उत्खनन् रोक्ने नरोक्ने विषयमा छलफल गरेर मात्रै निर्णय गर्ने जनाएको छ। ‘आजदेखि खोलामा उत्खनन् रोकिएको छ भन्ने सुनेको छु। तर, त्यो उत्खनन् नगरपालिकाले रोकेको होइन पुलिसले होला’ जीतपुरसिमरा उपमहानगरका प्रशासकिय प्रमुख शिवराज सेढाईले भने ‘हामीलाई आज कार्यालय समयपछि मात्रै जिल्ला अनुगमन समितिको पत्र आयो अब यो विषयमा के गर्ने भोलि मात्रै निर्णय हुन्छ।’

जीतपुरसिमरा उपमहानगरले भने ठेकेदारले नदीजन्य उत्खनन्मा चरम लापरवाही गरेको देख्दादेख्दै उत्खनन् रोक्नुको साटो ठेकेदारहरूलाई बोलाएर अगामी दिनमा  सम्झौता पालना गर्न सामान्य सचेत मात्रै गरेको छ। दुधौरा, वालगंगा र पसाहा खोलाका ठेकेदारहरूसँग भएको छलफलमा उत्खनन् जारी नै राखेर खोला उत्खनन्, भण्डारण र बेचविखन सम्बन्धि सम्पूर्ण  विवरण तीन दिनभित्र बुझाउन र ७ दिनभित्र  सम्झौतामा उल्लेख भएका सम्पूर्ण शर्तहरू पालना गर्न सोमबार ठेकेदारलाई  निर्देशनका दिएको हो।

नगरपालिकाले आह्वान गरेको टेन्डरमा पूर्णरूपमा सबै सम्झौता पालना गर्छु भनेका ठेकेदारहरूले उत्खनन् सुरु गरेको २ महिना नतित्दै मनपरी उत्खनन् गरिरहेका छन्। नगरपालिकासँग भएको सम्झौतामा ठेकदारले इआइए प्रतिवेदनमा उल्लेख भएको क्षेत्र, उत्खनन् मात्रा, उत्खनन्मा प्रयोग गर्ने साधनहरू र प्रत्येक १५/१५ दिनमा उत्खनन्को मात्रा, भण्डारण र बिक्री वितरणको सम्पूर्ण विवरण बुझाउने सहमति गरेका थिए। तर, हालसम्म तीनवटै खोलाका ठेकदारले नगरपालिकासँग गरेको सम्झौता पालनागरेका छैनन्।

उत्खनन् रोकिएको छैन्, एक्जाभेक्टर मात्रै रोकिएको हो : वडाध्यक्ष लामिछाने

वालगंगा खोला अनुगमन समितिका संयोजक तथा जीतपुरसिमरा उपमहानगरका वडाध्यक्ष रामप्रसाद लामिछानेले खोला उत्खनन्मा एक्साभेक्टरको प्रयोग मात्रै रोकिएको तर उत्खनन्  भने नरोकिएको बताए। ‘ठेकदारले खोलामा सबै माल निकाली सकेको छ, आज खोलामा एक्जाभेक्टर चलेको मैले भेटिन तर, सयौँको बेल्चाको प्रयोग गरेर उत्खनन् भइरहेको छ’ वडाध्यक्ष लामिछानेले भने ‘खोलामा सयौँको संख्यामा ट्याकटरहरू चलिरहेका छन्। मापदण्डमा उल्लेख भएको क्षेत्रभन्दा बाहिर ठूलाठूला खाल्टा खनेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.