|

काठमाडौं : पछिल्लो समय उपभोक्तामाथि विभिन्न बहानामा ठगिने क्रम बढिरहेको विषयलाई ध्यान दिँदै सरोकारवाला निकायले कारबाहीलाई तदारुकता दिएको बताएका छन्।

बजारमा निर्माण, औषधि, खाद्यान्नलगायत सामग्रीमा ठगी भइरहेको गुनासा आएको सन्दर्भमा तराई विकास तथा सञ्चार केन्द्र नेपालले बुधबार गरेको कार्यक्रममा यस्तो बताइएको हो।

यही सन्दर्भमा ‘बजार अनुगमन, अपराध अनुसन्धानमा लागुऔषधको अवस्था र नियन्त्रणका उपाएहरू’ विषयक अन्तरक्रियामा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं जिल्ला प्रशासन कार्यालय नेपाल सरकारको उद्देश्य पूर्तिका लागि दत्तचित्त भएर लागेको बताए।

काठमाडौं उपत्यकाभित्र घट्ने विभिन्न किसिमका आपराधिक घटना र उपभोक्ता ठगीका घटनाहरू न्यूनीकरण गर्न आफूहरू सक्रिय भएर लागेको उनले बताए। उनले नागरिकता, राहदानी लिने क्रममा समेत विचौलियाबाट सेवाग्राहीहरू ठगिँदै आएकाले यस विषयमा आम नागरिक सचेत हुन आग्रह गरे।

यसैगरी, शान्ति सुरक्षाको हिसाबले काठमाडौं उपत्यका शतप्रतिशत सुरक्षित रहेको जिकिर गर्दै उनले भने- ‘काठमाडौं उपत्यका जुनसुकै कोणबाट सुरक्षित छ, यसको लागि हामी उत्तिकै सचेत पनि छौँ।’

त्यसैगरी, कार्यक्रममा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विगतमा भएका कामहरूलाई सम्मान गर्ने र बाँकी कामलाई प्राप्त सुझावका आधारमा विभाग अगाडि बढ्ने जानकारी दिए। उनले उपभोक्ताहरूको हितका लागि विभिन्न कार्यक्रमहरू अगाडि सारेको बताउँदै भने, ‘एसएमएस सिस्टम, क्यु सिस्टम, विद्युतीय हाजिरी, उपभोक्ता सहायता कक्षाहरू अप्रेसनमा ल्याएका छौँ।’

उनले कालाबजारीमा संलग्न व्यक्तिहरूमाथि मुद्दासमेत चलाइएको उनले बताए। उनले अनुगमनमा जाने टोलीका सदस्यहरूलाई आचारसंहिता निर्माण गरेको उल्लेख गर्दै उनले अब छिट्टै नै पालना भए नभएको अनुगमनसमेत गरिने बताए।

त्यसैगरी, कार्यक्रममा औषधि व्यवस्था विभागको महानिर्देशक नारायणप्रसाद ढकालले औषधि व्यवस्था विभागले विदेशबाट स्वदेशमा भित्रिने औषधिको गुणस्तरीयता, बजार व्यवस्थापन, फार्मेसीको अनुमगन गर्दै आएको जानकारी दिए। उनले विभागले औषधिको समुचित प्रयोगलाई प्रवर्द्धन गर्ने क्रियाकलाप सक्रिय भएको बताए।

त्यसैगरी, कार्यक्रमा साल्ट टेडिङ कर्पोरेशनका डिजिएम ब्रजेश झाले साल्ट टेडिङले आफ्ना संस्थाबाट उपलब्ध गराउँदै आएका सामग्री बजारको भन्दा सुलभ मूल्य र गुणस्तरीय सामाग्रीमा सम्झौता नगरेको जानकारी दिए। साथै सरकारले लिएको उद्देश्यअनुसार जनमानसलाई सहज र सुपथ रूपमा नुन, तेल, गेडागुडीसहितका खाद्यान्न उपलब्ध गराएको बताए।

प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईंले बजारमा उपभोक्ता ठगिएको गुनासा आएको, आम जनताले सरकार भएको अनुभूति गर्नका लागि सरोकारवाला निकायले काम गर्नुपर्ने भएकोले त्यसअनुरूप गर्न आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.