|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा राजावादी शैलीको अभ्यास भएको भन्दै केन्द्रीय सदस्यहरुले चर्को आलोचना गरेका छन्। 

बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा बोल्दै नेताहरुले नेतृत्वको चर्को आलोचना गरे। आलोचनामा उत्रिएकामध्ये एकजना केन्द्रीय सदस्य हुन् प्रदेश १ का सांसद तथा नेता राजेन्द्रकुमार राई। 

उनले बैठकमा बोल्ने क्रममा राष्ट्रिय सभा गृहमा भएको उद्घाटन कार्यक्रमका लागि टाँगिएको ब्यानरमा दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो राखेकोमा विरोध जनाए। मञ्चमै बसेका नेताहरुको फोटो ब्यानरमा पनि टाँगेर राजावादीकै अभ्यास गरेको भन्दै राईले तीव्र असन्तुष्टि जनाए। 

बैठकका क्रममा मञ्चमा ९ जना सचिवालय सदस्यका लागि आसन राखिएको थियो। त्यससँगै मञ्चको दायाँतर्फ एकजना अध्यक्ष ओली र बायाँतर्फ अर्का अध्यक्ष प्रचण्डको फोटो टाँसिएको छ। राईको आपत्ति यसैमा थियो। 

‘तपाईं (अध्यक्ष) हरु यहीँ हुनुहुन्छ, तर तपाईंहरुको फोटो राजारानीको जस्तै राखिएको छ', उनले भने, 'यो फोटो राख्नु सामान्ती तरिका भयो। राजावादी प्रवृत्ति देखियो। यो फोटो त्यहाँबाट निकाल्नुहोस्। अहिले नसकेमा अबदेखि यस्तो नगर्नुहोला।’

केन्द्रीय सदस्य राईले दुई अध्यक्षको फोटोले राजतन्त्रको झल्को दिएको टिप्पणी गरे। ‘यो फोटो टाँग्ने निर्णय कसले गरेको होला? आज हटाउन लाज हुन्छ भने अर्को बैठकमा हटाउनुस्, राजाहरुको जस्तो भयो,’उनले भने।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पनि कम्युनिस्ट पार्टीको बैठकमा अध्यक्षको फोटो राख्ने निर्णयबारे प्रश्न उठाए। उद्घाटनमा सम्बोधन गरेर एकजना अध्यक्ष बाहिरिइसकेको अवस्थामा खतिवडाले प्रचण्डलाई ‘तपाईंलाई यो फोटो देखेर आनन्द लागेको छ? भनेर प्रश्न गरे। 

मनमोहनको तस्बिर हरायो

नेपालका कम्युनिष्ट प्रधानमन्त्रीमा सबैभन्दा जनपक्षीय मानिने मनमोहन अधिकारीको तस्बिर नै नेकपाले उद्घाटका क्रममा राखेन। यसपट मार्क्स, एंगेल्स, लेनिनसहितका अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नेताको तस्बिर पनि गायब छ। मार्क्स र लेनिनहरुको फोटो यस पटकदेखि हटेका छन्।

बैठकमा पुष्पलाल र मदन भण्डारीको तस्बिर राखिएको थियो। तर पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री तथा एमाले अध्यक्ष मनमोहन अधिकारीको तस्बिरले कतै स्थान नपाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.