|

झापा : दमक १५ का सुदिप गौतम नेपालमा रोजगारी नपाएपछि विदेशिएका थिए। उनी ८ वर्ष दक्षिण अफ्रिकामा बसे। तर अफ्रिका बसाईबाट सन्तुष्ट हुन सकेनन्। विदेशमा अर्काको काम गर्नुभन्दा फर्किएर आफ्नै माटोमा केही गर्ने सोच पलायो।  

'विदेशमा कृषि फर्ममा काम गरेको थिएँ। पैसा राम्रो थियो। काम गर्दा आफ्नै देश संझन्थेँ,' उनले भने,'नेपाल फर्किएर आफ्नो सीपलाई आफ्नै काममा प्रयोग गर्ने अठोट गरेँ। अनि नेपाल फर्किएँ।'

झण्डै ५ लाख रुपैयाँको मासिक जागिर छाडेर २०६८ सालमा नेपाल फर्किएका सुदिप अहिले समाजमा उदाहरणीय व्यक्ति बनेका छन्। उनले सुरुआतमा २ वटा गाई पालेर दुध बिक्री सुरु गरेका थिए। दुध बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि उनले गाई फर्म खोल्न दर्ता प्रक्रिया अघि बढाए। पाथिभरा गाई फर्मको दर्ता गरे।  यसरी २ वटा गाईबाट व्यवसाय सुरु गरेका गौतमको फर्ममा अहिले ६० वटा गाई छन् । मासिक रुपमा ४ लाख बढी आम्दानी भैरहेको उनले बताए।

अहिले उनले दमकमा दुईवटा दुध डेरी सञ्चालनमा ल्याएका छन्। डेरीबाट दैनिक ८ सय लिटर बढी दुध निर्यात गर्छन्। फर्ममा चार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। ' प्रत्यक्ष रुपमा चार जनाले तथा अप्रत्यक्ष रुपमा अरु पनि धेरैले रोजगारी पाएका छन्,' उनले भने।

आफ्नो अधुनिक गाई फर्ममा उनले हलिस्टेन र जर्सी जातका गाई पालेका छन्। अफ्रिकाबाटै सिकेको सिमेन प्रविधिबाट गाईको कृतिम गर्भाधान गर्दै आएका छन्।

वैदेशिक रोजगारिमा गएका युवाहरुलाई  नेपालमै केही गर्न सकिने सल्लाह उनी दिन्छन् । ' विदेशमा जति नै काम गरेपनि नेपाल फर्किएपछि बेरोजगार भइन्छ। त्यसैले समयमै मैले गाई फर्म सुरु गरेको हुँ,' उनले भने,' मेहेनत गरियो भने हाम्रै देशमा  रोजगारीका प्रशस्त माध्यमहरु छन्, त्यसैले आफ्नै देशमा केही गर्नुपर्छ, विदेशमा कमाएकोले सधैलाई पुग्दैन।'

कृषिमा आधुनिकिकरण आवश्यक रहेको सुदिप बताउँछन्। 'म अहिले गाईहरु पनि मेसिनबाटै दुने गर्छु। आधुनिकीकरण गर्नसके विदेशको कमाई यही हुन्छ।केही दुख भने गर्नु पर्छ,' उनले थपे, नेपाल कृषिप्रधान देश हो। त्यसैले कृषिमा अत्मनिर्भर बन्न कृषिलाई आधुनिकीकरण यसका लागि सरकारले सहयोग गर्नुपर्छ।'

गाई पालन गर्ने कृषकहरुलाई लाभान्वित गर्न सरकारले नक्सल सुधारका योजनाहरु ल्याउनुपर्ने उनी बताउँछन्।

गाईपालनसँगै खेतीपातीमा पनि सक्रिय 

परम्परागत पशुपालनभन्दा भिन्न रुपमा अघि बढेकाले सफलता उन्मुख भएको गौतम बताउँछन्। आधुनिक गोठ भएकाले उनको फर्ममा उत्पादन हुने पिसाब र गोबर कम्पोष्ट मलको रुपमा सुदुपयोग भइरहेको छ।

बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म उनी गोठमा व्यस्त रहन्छन्। उनलाई गाईपालनमा श्रीमती सीताले साथ दिएकी छिन्। केही समयअघिसम्म दमक बहुमुखि क्याम्पस र पथरी क्याम्पसमा प्राध्यापन गराउँदै आएकी सीता अहिले दमक क्याम्पसमा मात्रै अध्यापन गराउँछिन्। बाँकी समय उनी श्रीमानलाई काममा सघाउँछिन्। ' गोठको काममा समय दिनुपर्ने भएकाले एक ठाउँमा मात्रै पढाउँछिन्। पथरी क्याम्पस १४ किलोमिटर टाढा थियो। त्यसैले दुबै ठाँउमा समय दिन सकिनन्,' सुदिपले भने।

उनले सञ्चालन गरेको गाई फर्मले २०७३ सालमा राष्ट्रपति कृषि पुरस्कार प्राप्त गरेको थियो।  गाईपालनबाटै उनले आफ्नो जग्गाकै सिमानामा १० विगाह जग्गा समेत जोडेका छन्। उनीसँग पुख्र्यौउली जग्गा १० विगाह थियो । गाईपालनसँगै उनी खेतीपातीमा समेत सक्रिय छन्। 

उनले अहिले जिरो टिलएज मेसिनबाट मकैको खेती लगाउँदै छन्।  यस प्रविधिको प्रयोग गर्दा ९० प्रतिशत खर्च कम हुने र उत्पादनमा वृद्धि हुने उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.