|

धुलिखेल : होटल, क्यासिनो तथा रेष्टुराँमा काम गर्ने मजदुरहरुले आफुहरुलाई दिनुपर्ने  १० प्रतिशत सेवा शुल्क अझै पनि मालिकहरुले उपलब्ध नगराएको बताएका छन्। उनीहरुले सेवा शुल्क तत्काल उपलब्ध गराउन माग गरे।

काभ्रेपलाञ्चोकको धुलिखेलमा अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले कार्यक्रमको आयोजना गरी मालिकहरुलाई तत्काल आफुहरुले पाउने सेवा शुल्क दिन आग्रह गरे। 'शत प्रतिशत सेवाशुल्क मजदुरको अधिकार, ब्यवस्थित प्रतिष्ठान तथा गुणस्तरिय सेवाको लागि बनौं सबै तयार' भन्ने नाराका साथ मजदुर संघले सबै होटलमा काम गर्ने मजदुरहरुको भेला गरी गरेको थियो।

होटल संघ नेपाल(हान)ले केही दिन अगाडि विज्ञप्ती जारी गर्दै १० प्रतिशत सेवा शुल्क दिन नसक्ने उल्लेख गरेपछि अहिले नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियन कांग्रेस, एमाले सम्बद्ध जिफण्ड र माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघ आन्दोलनमा उत्रिएका छन् । सोही कार्यक्रम अनुसार मजदुर संघहरुले विभिन्न होटलमा रहेका प्रतिष्ठानहरुको उपस्थितिमा दबाबमुलक कार्यक्रम गरिरहेका छन्।

कसले के भने ?

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मजदुर नेता प्रेमबहादुर भुजेलले हिजो माओवादी पार्टी शक्तिमा हुँदा  लुरुक्क भएर मजदुरको हितमा सेवा शुल्क दिन सहमति गर्ने होटल मालिकहरु अहिले अटेर गर्दै मजदुरको अधिकार खोस्न खोजेको बताए।'हिजो हामी शक्तिमा थियौं र मजदुरको पक्षमा साथ दिन आग्रह गर्दा सहमति भएर आउने अनि आज त्यही सहमतिलाई तोड्न खोज्नु भनेको मजदुरमाथि पुनः राज गर्ने नियत हो, त्यसको विरुद्धमा मजदुरहरु एक हुन आवश्यक छ,' उनले भने,'१० प्रतिशत सेवा शुल्क मालिकका कारण पाएको नभई मजदुरहरुले ग्राहकको सेवा गरेबापत पाएको शुल्क हो। मजदुरहरुलाई नै सतप्रतिशत दिनुस् ।'

अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका केन्द्रीय उपाध्यक्ष रोशन श्रेष्ठले मजदुरहरुको हितमा काम गर्न होटल मालिकहरुलाई आग्रह गरे। ‘हामीले तपाईहरुको लगानीमाथि हस्तक्षेप गरिरहेका छैनौं, मात्रै हामीले पाहुनालाई गरेको सत्कारको सेवा बापतको शुल्क मात्रै दिउ भनेका हौं,' श्रेष्ठले भने,'मजदुरले सेवा गरे बापत पाउने शुल्कमाथि तपाईको किन हस्तक्षेप ?’ ‘१० प्रतिशत सेवा शुल्क हाम्रो श्रमको मुल्य हो, त्यसलाई खोस्ने काम नगर्नुस्।'

संघका केन्द्रीय महासचिव मुक्ति दाहालले होटल मजदुरहरुले पाउने सेवा शुल्क सतप्रतिशत उपलब्ध गराउने काममा सहयोग गर्न होटल मालिकहरुलाई आग्रह गरे। दाहालले धेरैजसो मालिकहरुले सुरुमा मजदुरलाई फकाई फकाई काममा लगाउने र २ सय ४० दिन पुग्नुभन्दा अगाडि नै विभिन्न बहाना बनाएर निकाल्ने अनि पछि पुन जोड दिने गर्नाले मजदुरहरुको स्थायी हुने अधिकारलाई खोस्ने काम भैरहेको बताए।  

अभियानको क्रममा संघले सेवाको गुणस्तर बृद्धि गरी कामदार कर्मचारीहरुको जीवनयापन सहज बनाउनुपर्ने, मजदुरहरुलाई जिम्मेवार कर्तब्यनिष्ठ बनाई सेवा शुल्कलाई कानुनी दायरामा ल्याउनुपर्ने, मजदुर आन्दोलन मार्फत एवं अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा शुल्क दिएर मजदुरहरुको अधिकार सुनिश्चित गर्नुपर्ने, सेवा गरे बापतको टिप्समा मालिकहरुले अंश नपाउने विषय कार्यान्वयन गर्नुपर्ने र प्रतिष्ठानको लेखा प्रणाली पारदर्शी बनाई कर छली गर्ने व्यवसायीहरुलाई नियमन गर्नुपर्ने लगायत ५ वटा बुँदालाई कार्यान्वयन गर्न जोड दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.