इच्छा शक्ति भए देशमै छ पैसा

|

उदयपुर : भनिन्छ– ‘मिहिनेत गर्ने हो भने असम्भव केही छैन, परिश्रम गर्ने हो भने ढुंगामा पनि सुन फलाउन सकिन्छ।’

सामान्य रूपमा नेपाली समाजमा विद्यार्थी नेता भन्नाले लामो समय क्याम्पसमै बसेर राजनीति गरिरहने प्रौढ उमेरका विद्यार्थीले काका, काकी भन्न सुहाउने व्यक्तिलाई चिन्ने गरिन्छ।

जुन व्यक्ति उत्पादनको क्षेत्रमा भन्दा नेताहरूको चाकडी प्रचारमा तथा ठेक्कापट्टातिर लागेर गुजारा चलाउने धन्दामा संलग्न हुन्छ। या त अन्य विद्यार्थीहरूझैँ अन्त्यमा केही सीप नलागेर विस्तारै देशलाई गाली गर्दै विदेश पलायन हुने गर्दछ।

यसैबीचमा उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगढा स्थाई घर भई (अनेरास्ववियू) जिल्ला संयोजकसमेत रहेका युवा विद्यार्थी नेता बिमल कार्की भने राजनीति सँगसँगै उत्पादनको क्षेत्रमा पनि सक्रिय हुने भन्दै व्यावसायिक कृषि पेसामा संलग्न छन्।

६ वर्ष अगाडि +२ मा अध्ययन गर्दागर्दै तत्कालीन माओवादीको निकट विद्यार्थी संगठन अनेरास्ववियू  (क्रान्तिकारी) बाट विद्यार्थी राजनीतिमा लागेका विमल कार्की अहिले जिल्लामा व्यावसायिक कृषकको रुपमा चिनिन थालेका छन्।

२ बिघामा तरकारी खेती

दुई वर्ष अगाडि उनी अखिल (क्रान्तिकारी)को जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। जिल्ला अध्यक्षमा निर्वाचित भएसँगै आफूलाई आत्मनिर्भर बनाउँदै आफ्नो राजनीतिक यात्रा अगाडि बढाउने उद्देश्य साथ नमुना कृषि फर्म दर्ता गरी व्यावसायिक तरकारी खेतीमा लागेका हुन्।

यसका लागि उनले आफ्नै घर अगाडि करिब २ विघा जमिनमा व्यावसायिक तरकारी खेती लगाएका छन। जमिन लिजमा लिदा बर्षको असि हजार र्तिनु परेको कार्कीले बताए।

जसमा उनले सिजनअनुसार मौसमी तथा बेमौसमी टमाटर, काउली, बन्दा, भिन्डी, भान्टा, खुर्सानी, बोडी लगायतकाको खेती सुरु गरेका छन्। कार्की सँगै घर परिवारका सबैजना कृषि कर्ममा लागेका छन्। ‘घर परिवारलाई चाहिने अर्गानिक तरकारी यहीँ नै उत्पादन गरेर खान पाएको छु, आफ्नो पौरखले उब्जाएको तरकारी घर परिवारले मिलेर खाँदा अर्कै आनन्द आउने गरेको छ’ कार्की भन्छन्।

मासिक ५० हजार कमाइ 

तरकारी बेचेर मासिक ५० हजारसम्म कमाइ हुने गरेको कार्की बताउँछन्। आफ्नो कृषि फर्मलाई अझ विस्तार गर्ने योजनामा रहेको पनि उनले सुनाए। उनले भने, 'आफू मात्र आत्मनिर्भर भएर संगठन नचल्ने भन्दै जिल्लाका आफ्ना युवा विद्यार्थी साथीहरूलाई पनि समेटेर तत्काल ७ विघा जमिनमा कृषि खेती गर्न लागेको हुँ।'

युवालाई आत्मनिर्भर हुन सुझाव

उनी विदेशमा रगत र पसिना बगाएर २० र ३० हजार कमाउनभन्दा स्वदेशमै व्यावसायिक कृषि कर्ममा लागेर आत्मनिर्भर हुन युवाहरूलाई सुझाव दिन्छन्। आफू सँगैका सहयात्री साथीहरू कतिपय पैसा कमाउने बाटो नभेटी वैदेशिक रोजगारीका लागि विदेश पलायन भइरहँदा उनी भने आफू कृषि व्यवसाय बाटनै प्रशस्त आम्दानी गरेर आफ्नो जिविकापार्जन गर्न सक्छु भन्ने आत्मविश्वास साथ तरकारी खेतीमा लागेको बताउँछन्।

उनले भने, 'पछिल्लो समय नेपालको राजनीति इमानदार पार्टीका कार्यकर्ताभन्दा पनि ठूल्ठूला व्‍यापारीहरूको कब्जामा रहेकोले सामान्य कार्यकर्ताले चुनावमा टिकेट पाए पनि चुनावमा उठ्न निकै कठिन छ।' चुनाव महँगो भएको र पार्टीका नेता कार्यकर्ताहरू व्यापार, व्यवसायभन्दा पनि ठेक्कापट्टातिर लागेकोले भ्रष्टाचार मौलाउनुका साथै नियन्त्रण गर्न कठिन भएको उनले गुनासो गरे।

एकपैसा अनुदान पाएको छैन

उनले जिल्ला कृषि ज्ञान केन्दको कार्यालय उदयपुरमा केही अनुदानको लागिसमेत फर्म भरेका छन् तर अहिलेसम्म अनुदान पाएका छैनन्। उनी भन्छन्, ‘अहिलेसम्म एकपैसा अनुदान पाएको छैन।’

आफ्नो तरकारी फर्मबाट दैनिक सय केजीभन्दा माथि तरकारी बिक्री हुने गरेको उनले बताए। यतिबेला कार्कीको फर्ममा सबै भन्दा बढि टमाटर रहेको र दैनिक ८० केजीसम्म बिक्री हुने गरेको छ।

सुरुमा कृषि पेसा गर्छु भन्दा साथीभाइहरूले जिस्क्याउने गरेको र घरमा पनि बुबा–आमालाई फकाउन निकै गाह्रो परेको उनले सुनाए। स्वदेशमै केही गर्छु, भन्ने इच्छा शतिm भए पैसा कमाउन विदेश जानु नपर्ने उनी बताउँछन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.