|

दाङ :  रुकुमबाट दाङमा चराउन ल्याएका भेडाहरू मर्न थालेपछि किसानहरू चिन्तित भएका छन्। पूर्वी रुकुमका उत्तरी भेगमा प्राय हिउँ पर्ने हुँदा त्यहाँ पशुपालक किसानहरू चिसो छल्नको लागि  दाङको घोराहीमा गत पुसको अन्तिममा भेडा बाख्रा लिएर  पूर्वी रुकुमको भुमे गाउँपालिका १ लुकुमका ४ जना भेडापालक किसानहरू आएका थिए। 

उनीहरूले विगत वर्षहरूमा रुकुमको  दक्षिणी भेगमा बथान सारेर हिउँदभर राख्ने गर्दथे। यो वर्ष चरन राम्रो हुने, चिसो धेरै नहुने भन्दै गत पुस २९ गते मात्रै दाङको घोराही उपमहानगरपालिका १९ को पाँच पोखरीमा आइपुगेको भेडापालक किसान प्रेमबहादुर पुनले बताए।

करिब २ महिनाअघि प्रेमबहादुरसहित भेडाको बथान लिएर हिँडेका धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुन रोल्पाको जलजला, भनभने, थामा हुँदै घोराही उपमहानगरपालिका  १९ को पाँच पोखरीमा आई पुगेका थिए। उनीहरूको यो पुर्ख्यौली पेशा हो। भेडा बाख्राबाटै उनीहरूको दैनिकी चलेको छ। घरबाट आउँदा ४ सय बढी भेडा, बाख्रा साथमा लिएर आएको प्रेमबहादुर पुनले बताए।  पुनका १ सय २०, धर्म बुढाका १  सय २० वटा, धर्मकुमारी पुनका १ सय १५  र रामकृष्ण पुनले १ सय १५ वटा भेडा थिए।

तर, केही दिनयता अचानक भेडाहरू मर्न थालेपछि उनीहरू चिन्तित भएका छन्।  बितेको २ हप्तामा ४ सयभन्दा बढी भेडामध्ये करिब २ सय बढी मरेको उनीहरूको भनाइ छ। दैनिक जसो १०/१२ वटासम्म भेडा मर्ने गरेको प्रेम बुढाले बताए।

भेडामा मुख पाक्ने, छेर्ने र झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको उनले बताए। तर, साथमा रहेका केही बाख्रामा भने यो समस्या नदेखिएको उनले बताए।

‘हाम्रो रोजीरोटी यही हो, हामी बर्बाद भयौँ,  यहाँ उपचार गराउने ठाउँ कहाँ छ, भन्ने पनि थाहा छैन, उनले भने।’

दैनिक मर्छन् भेडा

रोल्पाको माडी भन्ने ठाउँमा आउँदा भेडामा समस्या देखिएको धर्मकुमारीले बताइन्। शुरुमा चिसोका कारण भेडा मरेको होला भनेर सामान्य रुपमा लिएको भन्दै उनले अहिले अचानक  दिनमा १०/१२ वटासम्म मर्न थालेपछि भेडाको बथान नै सकिने हो कि भन्ने पीरले सताएको उनले दुखेसो पोखिन्।

कारण थाहा छैन : वडासदस्य

उनीहरूले हाल भेडा चराउन राखेको स्थान पाँच पोखरी बस्तीभन्दा करिब ५ सय मिटर  टाढा जंगल क्षेत्र हो। भेडामा देखिएको समस्या समाधानका लागि उनीहरूले स्थानीयलाई खबर गरे पनि कसैले चासो नदिएको गुनासो गरे।

उनीहरूले भेडा चैत्र वैशाखसम्म दाङमा चराउने र त्यसपछि रुकुम लैजाने भनिन् ल्याएका थिए। अहिलेसम्म यति धेरै भेडाहरू मरेको भए तापनि उपचारका लागि केही  नगरेको उनीहरूको भनाइ छ।

त्यसैगरी  पाँच पोखरीमा ल्याइएका भेडाहरू मर्दा किसानहरू समस्यामा परेको बारे घोराही उपमहानगरपालिका १९ का वडा सदस्य जंग रोकाले आफूलाई जानकारी भए पनि के कारणले मरेका हुन् भन्नेबारे यकिन गर्न नसकिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.