ब्लग

त्यो मुसहरबस्तीको कहर...

माघ १८, २०७६

    काठमाडौंः हरेक दिन अखबारका पानाहरूमा तराई मधेस केन्द्रित समाचार आइरहन्छन्। गरिबी, अशिक्षा र दमनले आक्रान्त समाजका ती तमाम घटनाले नेपालका राष्ट्रिय मिडियाले स्थान दिने गर्छन्।

    लाग्छ कि, 'वर्षौंदेखि शोषणमा परेको क्षेत्रमा सरकारको नजर पुग्न कि ठूलै घटना घट्नुपर्छ। नत्र मधेसमा आन्दोलन हुनुपर्छ। योभन्दा पर रहेर सरकार र राष्ट्रिय मिडियाका आँखा मधेसमा पुगेको न हिजो देखिएको थियो। न त आज। भलै देश संघीयतामा गइसकेको छ। हरेक क्षेत्रमा आफ्नै सरकार छ।'

    हेरौं हिजोदेखि गरिबी र संक्रमणमा बाँच्न मधेसको अनुहारमा खुशीको रंग भर्न कति सक्छ? 

    काठमाडौंको चिसोसँग पौंठेजोरी खेल्दै  गर्दा मधेस घुम्ने मेरो योजना तय भयो। जसले मनमा केही भए पनि न्यानोपना महसुस भएको थियो। कलेजका साथीहरूको झुण्डमा एक अंश बनेर गत माघ १२ गते मधेस भ्रमणमा निस्किने योजना बन्यो।

    हाम्रो पहिलो लक्ष्य थियो महोत्तरीमा रहेको मुसहर बस्ती। कलाकार द्वय धुर्मुस सुन्तलीको सक्रियतामा केही वर्ष अघि निर्माण भएको मुसहर बस्तीले धेरै मुसहरको जीवनमा खुशीका रंग छरेको थियो। तिनै खुसीको साक्षी बन्न हामी पनि मुसहर बस्ती पुग्यौँ।

    कलेजले लिने प्रयोगात्मक परीक्षाको लक्ष्य र हाम्रो इच्छीबिचको तालमेलको बिन्दु नै मुसहरबस्ती। बस्तीमा जाँदै गर्दा हरियाली वातावरणको दृश्यले जोसुकैलाई पनि लोभ्याउने सामर्थ्य राख्न सक्थ्यो।

    हिजो गरिबीमा बाँचेका मुसहरको जीवनमा कमसेकम आवासको भए पनि स्थायी समाधान निस्किएको छ। तिनै मुसहरका बच्चाहरूसँग हामीले प्रशस्तै फोटो खिचायौँ। सायद हरेक दिन आउने नयाँ मान्छेहरूसँगको सामिप्यताले गर्दा उनीहरूमा यसको प्रभाव देखिन्थ्यो। 

    मुसहर बस्तीको त्यो पीडा

    सोमबार बिहान हामी मुसहर बस्ती पुग्दा  कोही  खाना पकाउँदै थिए त कोही  तरकारी काट्दै थिए मुसहरबासी। चिसोले बसी सक्नु थिएन। चम्पल विना बालबालिकाहरू खेलिरहेका थिए। कत्तिपयले लुगासमेत लगाएका थिएनन्। कपडा  भएपो उनीहरूले लगाउँथे। मलाई लाग्यो,‘यति धेरै चिसोमा कसरी बस्छ होला मान्छे। गरिबीमा बाँचेको मान्छेले चिसो होस् या तातो बाँच्नु त छँदैछ।'

    हुस्सुले नजिक–नजिक बसेका मान्छेहरू पनि देखिन हम्मेहम्मे हुन्थ्यो। वृद्धवृद्धा आगो ताप्दै खाना बनाइरहेका थिए। चिसोसँग बच्न आगो तापिरहेकी एक महिला रेन्कु सदा नयाँ घरमा बस्न पाएकोमा खुशीको कुनै सीमा नरहेको बताउँछिन्।

    मुसहर बस्तीको कथा : आम्दानी छैन, पानी-बिजुलीको बिल तिर्नै मुस्किल

    'नहुनुभन्दा यो घर हाम्रालागि महल नै हो। तर, मान्छेको आवश्यकता बढ्दै जाने रहेछन्। साना कोठा छन्। सामग्री राख्ने ठाउँ छैन। बाहिर खाना पकाउनु परेको छ। चिसोमा लगाउने लुगाफाटा किन्न सकिएको छैन। खाद्यान्न उब्जाउ गने जमिन छैन।' उनले दुखेसो पोखिन्,  'जीवन बिताउन गाह्रो छ। हाम्रा लागि सरकार भएन।'

    आवासको लागि धुर्मुस सुन्तली भगवान बनेर ओत लगाइदिए। तर खानाको व्यवस्थाको लागि कसलाई गुहार्ने उनीहरूले? अवसर दिएर उनीहरुलाई जीविकोपार्जन गर्न सहज बनाउने काम सरकारको हो। तर सरकार कुनै नाफामुखी संस्था बनेको छ।

    यो देशमा सरकार समृद्धिको ठूला ठूला गफमा मस्त छ। श्रमजीवी गरिबको हकहितबारे सोच्ने फुर्सद नै सरकारलाई कहाँ छर? बालबालिकाहरूले खाना खाएको देख्दा मलाई मनमनै लाग्यो,‘फिल्ममा तराई क्षेत्रको  रहनसहन,परिकार,खाना,लुवाइखुवाई देखेको थिएँ। अहिले आफ्नै आखाँले नियाल्न पाएँ।’ तर, ती दृश्य साच्चै कहालीलाग्दा थिए। उनीहरूलाई व्यवस्थित गर्न सके कति राम्रो जीवन बिताउन पाउने थिए। उनीहरू प्राय आफ्नै मातृभाषा बोल्दा रहेछन्।

    जानकी मन्दिरमा राम सीताको बिहे

    बिहानै हुस्सुले शहर छोपिएको छ। हरेक मान्छे आफ्ना दैनिकी गुजारा चलाउन आफ्ना-आफ्ना धन्दामा लागेका छन्। कवही चिसोबाट बच्न आगो तापिरहेका छन्। 
    हामी जानकी मन्दिरमा पुग्दा भजन गीत घन्किरहेको थियो। लाग्थ्यौँ, दिनभरि सुनेर बस्न पाए हुन्थ्यो। मन्दिरभित्र प्रवेश गरेपछि एकजना दाइले टिकट समाउँदै भने,‘१० मिनेटको विद्युतीय चलचित्र हेर्ने हो?’

    उनकै अगाडि पनि विद्युतीय चलचित्र भनेर लेखिएको थियो। टिकट काट्यौँ र भित्र छिर्यौं। सांस्कृतिक संग्राहलयभित्रको मण्डपमा राम सीताको बिहे भइरहेको थियो। रामले सीतालाई बेहुली बनाउन घुमाइरहेका थिए। साँचो बिहेमा देख्न नपाए पनि उनीहरूको आकृतिमा विद्युतीयमार्फत मण्डपमा घुमाउँदै गरेको देख्न पायौँ। अहो! छुट्टै आनन्द लाग्योँ। 

    मेरा साथीहरू खै फिल्म हल? कति खेर हेर्न पाइने? मेरो पनि त्यही प्रश्न मनमनै उब्जिरहेको थियो। अन्तिममा पो थाहा भयो त्यो नै फिल्म रहेछ। प्राचीन मिथिला संस्कृति देख्न पाउँदा साह्रै खुसी लाग्यो। संग्रहालयभित्र जानकीको प्राचीन मुकुट,चन्द्रिका, पोसाकलगायत देख्न पायौँ। चलचित्र हेर्नलाई भन्दा पनि ती ऐतिहासिक वस्तु हेर्न पाउनु नै हाम्रो लागि ठूलो अवसर थियो।  

    मिथिला सभ्यताले सुजज्ती शहर हो जनकपुर। यसले मात्र जनकपुरको परिभाषा पूरा हुन सक्दैन। किनभने अस्ट्राबक्र, यज्ञवल्लभ,राजा जनकको शासनको सीप सिकाउने शहर हो। ५२ कुटी, ७२ कुण्ड भएको शहर पनि हो।

     तर यति सुन्दर र सभ्य सहरको फोहोरको कब्जा गरेको दृश्य भने त्यति सुहाउँदो छैन। मन्दिर घुमिसेकपछि फेरि बर्दिबासकै होटलमा फर्कियौँ।

    बर्दिबासको जनता नमुना माध्यामिक विद्यालयमा गयौँ। त्यहाँका विद्यार्थी भाइबहिनीहरूलाई शैक्षिक सामग्री वितरण गर्नु अर्को हाम्रो उद्देश्य थियो। स्कुलभित्र छिर्दा त्यहाँका संरचना,बगैँचाले मनै आनन्दित बनायौँ। कोही साथीहरूले त्यहाँका हातखुट्टा नधोई आएकाहरूलाई हात धुन सिकाए। कसैले डान्स गर्न त कसैले ब्रस गर्न। कापी,पेन्सिल वितरण गर्ने कार्यक्रम तयार भयो।

    बालबालिकाहरू नयाँ कापी देख्दा हामीतिर झुम्मिए। बल्ल बालापनको सम्झना आयो,म पनि सानोमा छँदा नयाँ कापी पाउँदा हुरुक्कै हुन्थेँ। साथीभाईसँग रमाइलो गरिन्थ्यो।

    ती मेरा साथीहरू कहाँ पुगे होलान् के गर्दै होलान्? फेरि पनि बालपनको जन्म लिन पाए हुन्थ्यो नी।’ कापी बाडीसकेपछि सबै विद्याथीहरू खुसी भए। कापी र पेन्सिल ठाउँको माथि राँख्दै खुसीले चिच्याए। यो बेला कसलाई पो बालापनको सम्झना नआउँला र? 

    खाजा चटपटे र पानीपुरी 

    हामी बर्दिबास बजार नपुग्दै लहरै ठेला–ठेलामा चटपटे र पानीपुरी राखिएका थिए। खानेमान्छेको कमी थिएनन्। ठेलालाई चारैतिरबाट खेरिएको देखिन्थे। स्कुलमा पनि टिफिनको बेला अन्य खाजाहरू भन्दा चटपटे र पानीपुरी नै खाजा रहेछ।

    दिउँसो एक बजेको घण्टी बज्दा नबज्दै स्कुल गेटअगाडि रहेको चटपटे ठेलामा विद्यार्थीहरूले भरिए। मैले सोधेँ खाजा नै चटपटे हो? जनता नमुना माध्यामिक विद्यालयका एक छात्रा विद्यार्थीले मुसुक्क हास्दै जवाफ दिइन्,‘हो नि दाइ। चटपटे नै मिठो लाग्छ। सधैँ हाम्रो खाजा भनेकै चटपटे हो।’

    हामी त्यहाँको रेडियो बर्दिबास स्टेशनमा अवलोकन गरेर काठमाडौं फर्कियौँ। चार दिन मधेस घुम्दा नेतृत्वले मधेसलाई प्राथमिकता दिन नसकेको प्रस्ट देखिन्थ्यो। मनमनै सरकारलाई सुझाव दिन मन लागेको छ, 'पानीजहाज, रेल ल्याउँदै गरौँला। पहिले जनतालाई गाँस बास कपासको आवश्यकता पूरा गर्ने अवसर देऊ। समृद्धिको चिप्लो गफमा जनता चिप्लिएर कोमामा जाने सम्भावना धेरै छ।' 

श्याम राई

राई शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]