|
फाइल फोटो

बागलुङ : विदेशको कहर भोगेर फर्किएका युवाहरुले बल्ल 'सुन फल्ने माटो' को महत्व बुझ्न थालेका छन्‌। वैदेशिक रोजगारीमा अत्यधिक आश्रित बागलुङमा यतिखेर विदेशबाट फर्किएका युवाहरु धमाधम कृषिकर्ममा आकर्षित हुँदैछन्‌।

बागलुङ नगरपालिका वडा नं. ३ रात्माटाका विजय शर्मा पराया भूमीमा रगत र पसिना बगाएर फर्कने दाजुभाइका लागि आदर्श हुन सक्छन्‌। उनले विगत १६ बर्षदेखि निरन्तर कुखुरा पालन गरिरहेका छन्‌। विदेश जाने सपना भुलेर गाउँमै विजयले गरेको प्रगतिबाट शिक्षा लिनेहरु धेरै छन्‌।

त्यसो त, विजयलाई पनि वैदेशिक रोजगारीको 'फेसन'ले नतानेको होइन। हुँदाखाँदाको कुखुरापालन व्यवसाय श्रीमतीको जिम्मा लगाएर उनी दुई बर्षसम्म विदेश भासिए। यतिखेर चाहिँ, विदेशको कहर भोगेका विजय गाउँमै कृषिकर्ममा रमाउँदैछन्‌। 

अहिले उनको खोरमा १००० कुखुरा नियमित जस्तो रहन्छन्। 'ब्रोइलर' र 'लेयर्स' जातका कुखुरा पाल्न उनले रुची राख्दै आएका छन्। बागलुङ बजारमै सजिलै बिक्री हुने भएपछि उनीहरु कुखुरा पालनलाई निरन्तरता दिने उनको सोच छ। पछिल्लो समय उनले मासु बेच्‍ने 'फ्रेस हाउस' र रेष्टुरेन्ट पनि चलाएका छन्‌। श्रीमान/श्रीमती व्यवसायका लागि गरिरहेको मेहनतमै सन्तुष्ट छन्‌।

उनी भन्छन्‌, 'विदेशमा गर्ने दुःख यही गरियो भने दोब्बर कमाई हुन्छ, अब यही पेशालाई व्यवसायिक बनाएर निरन्तरता दिने हो।’ ब्रोइलर कुखुरा पाल्दा बर्षमा झण्डै चार पटक बेच्न सकिने र सामान्यतया: ४० दिनमै कुखुरा बिक्रीयोग्य हुने उनले बताए। 

नेपाल सरकारले विदेश गएर फर्केकाहरुलाई सहुलियतपूर्ण कर्जा दिने नीति बनाएको छ। राष्ट्र बैंकको नीतिलाई स्थानीय बैंकहरुले पूर्ण रुपमा पालना गरेका छैनन्। धितो नपुगेको भन्दै धेरै युवालाई निराश बनाएर बैंकहरुले फर्काउने गरेका छन्‌। लगानी अभावमा काम गर्ने वातावरण अझै बनि नसकेको समेत युवाहरु बताउँछन्‌।

विजयजस्तै बानपा ४ पाखाथरका जीवन जिसीले पनि व्यवसायिक कुखुरापालन थालेका छन्। ५ बर्षसम्म कोरिया बसेर फर्केपछि उनले कुखुरा पालन थालेका हुन्‌। उनकी श्रीमती मनिषा र बाबुआमाले व्यवसायमा साथ दिएका छन्। भेटेनरी तालिम समेत लिई कृषि प्राविधिक बनेर काम गर्ने तयारीमा छन्। ८ लाख रुपैयाँमा उनले कुखुरा पाल्ने घर बनाइसकेका छन्। ‘अब विदेश नजानुहोस् भनेर यही लगानी गर्न लगाएँ’ श्रीमती अनिषाले भनिन्, ‘मेहनत गरियो भने यहीँ सुन फलाउन सकिन्छ।’ जीवनले पनि विदेशमा भन्दा गाउँघरमै मेहनत गर्दा सजिलै कमाई गर्न सकिने भेउ पाइसकेका छन्‌।

यतिखेर जिल्लामा खोलिएका दर्जनौं कृषि तथा पशु विकास फर्महरु विजय र जीवन विदेशबाट फर्किएका युवाहरुले चलाइरहेका हुन्‌। स्वदेश फर्केपछि विदेशमा गरेको दुःख सम्झँदै गाउँघरमै मेहनत गर्ने युवाहरुको संख्या बढ्दैछ। यसरी धेरै युवाहरुलाई कृषि र पशुपालनमा लाग्ने गोरेटो चाहिँ स्थानीय बैकुण्ठ सापकोटाले खनिदिएका हुन्‌। उनले गैरसरकारी संस्थामार्फत तालिम र प्रविधि दिएर युवाहरुलाई कृषिमा लगाउने गरेका थिए। अहिले उनै सापकोटा पनि युवाहरुको सफलताबाट प्रभावित भइ आफैं कुखुरापालन व्यवसायमा लागेका छन्‌।  

अहिलेसम्म यहाँका किसानले उत्पादन गरेका मासुजन्य खाद्यवस्तु बागलुङ बजारमै खपत भइरहेको छ। ‘बाहिरबाट आउने वस्तु विस्थापित गरेर आत्मनिर्भर बनाउन धेरै मेहनत बढाउन जरुरी छ,’ भेटेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख शम्भू रेग्मीले भने, ‘कृषि क्षेत्रमा लगानी बढाएर जाने हो भने आत्मनिर्भर बन्न सकिन्छ।’ किसानहरुले सामान्य अनुदान, प्राविधिक सेवा र प्रविधि सहजै पाउने व्यवस्था नमिलाएसम्म कृषिमा आत्मनिर्भर बन्न नसकिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.