|

सल्यान : वैदेशिक रोजगार छाडेर कृषि पेसा अंगालेका शारदा नगरपालिका १३ सांघारमुलका ४० वर्षीय निमबहादुर पुन अगुवा किसान बनेका छन्‌। 

पुन यसअघि वैदेशिक रोजगारीका क्रममा सात वर्षसम्म मलेसिया र साउदी अरबमा बसेका थिए। तर नेपाल फर्केर व्यवसायिक तरकारी खेतीमा लागेका पुन अहिले सो नगरपालिकाकै अगुवा किसान भएका हुन्‌।

विदेश गएपनि मेहनतअनुसार कमाई  गर्न नसकेका पुन अहिले व्यवसायिक तरकारी खेतीमा रमाउँदै छन्। उनी भन्छन्‌, 'विदेशमा बगाउने पसिना स्वदेशमै बगाउने हो भने यहीँ राम्रोसँग जीवन जिउन सकिनेमा विश्वस्त भएर कृषि पेसामा लागेको हुँ।'

६ रोपनी जग्गामा तरकारी खेती गर्दै आएका उनले वार्षिक ४ देखि ५ लाख रुपैयाँ आम्दानी गर्दै आइरहेका छन्। उनले भने ‘परम्परागत खाद्यन्‍नबालीबाट जीविकोपार्जन गर्न नसकेर विदेश गइयो, त्यहाँ पनि दुःख भोगेपछि गाउँमै फर्किएर तरकारी खेती गर्न थालेको हुँ।’ 

परम्परागत अन्न उत्पादनभन्दा व्यवसायिक तरकारी खेतीबाट धेरै राम्रो आम्दानी भई रहेको अर्का कृषक मोतीलाल वलीले बताए। ४ रोपनी जमिनमा बेमौसमी तरकारी खेती गर्दै आई रहेका वलीले वार्षिक ५ लाख रुपैयाँ हाराहारीमा आम्दानी गर्दै आईरहेको बताए।  

व्यवसायिक तरकारी खेतीबाट सदरमुकाम खलंगामा घडेरी जोडेको भीम बहादुर वलीले बताए। सबै खर्च कटाएर वार्षिक ३ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनको भनाई छ। उनले भने ‘तरकारीकै कमाईले घरखर्च र छोराछोरी पढाई खर्च गरेर बचेको पैसाले गत वर्ष खलंगामा एउटा घडेरी किनेको छु।’ 

सांघारमा मात्रै तीन दर्जनभन्दा बढी परिवारले व्यवसायिक तरकारी खेती गर्दै आई रहेका छन्। गाउँमा उत्पादित गोलभेडा, बन्दा, काउली, सिमि लगायतका मौसमी तथा बेमौसमी तरकारी जिल्ला बाहिर समेत निकासी हुने गरेको छ। सांघारका किसानले करिब १०० रोपनी जमिनमा तरकारी खेती गर्दै आइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.