|

काठमाडौं :  दुई हप्ताअघि  चीनको वुहान प्रान्तबाट  फैलिएको कोरोना भाइरस यतिखेर विश्वका २७ देशमा पुगिसकेको छ। मृत्यु हुनेको संख्या २ सय ५९ पुगेको छ भने कोरोना भाइरसबाट विश्‍वभर अहिलेसम्म १८१६ मानिस संक्रमित भइसकेका छन्।

पछिल्लो केही हप्तामा  विश्वभर फैलिएको कोरोना भाइरसको कारणले गर्दा विश्व स्वास्थ्य संगठनले समेत विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

अहिले यसको संक्रमण विश्वका २७ देशमा फैलिइसकेको छ। कोरोना तीव्र गतिमा फैलन थालेपछि डब्लुएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो।

विश्व स्वास्थ्य आपतकाल घोषणापछि के हुन्छ?

छिट्टै सर्ने र धेरै मानिसको ज्यान  लिने खालका संक्रमणहरू देखिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकालीन घोषणा गर्ने गर्छ। डब्लुएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला संक्रमण गरी पाँचपटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।

हाल फैलिएको  कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म २ सय ५९ जनाको ज्यान गइसकेको छ। भाइरसले चीन बाहिर २७ देशका ९८ जनामा संक्रमण भएको पुष्टि भएको डब्लुएचओले जनाएको छ।

जटिल अवस्था रोक्न स्वास्थ्य आपतकालीन

छोटो समयमै फैलिएको कोरोना भाइरसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न र कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था नआओस् भनेर डब्लुएचओले आपतकालीन घोषणा गरेको बताएको छ।

विश्व स्वास्थ्य संगठनले आपतकालीन घोषणा गर्नुको मुख्य उदेश्य भनेको अब विश्वभरको स्वास्थ्य अवस्था जोखिममा रहनु हो। डब्लुएचओले सबै देशले ध्यान दिनुपर्ने र विश्वभर संक्रमण फैलिएका देशलाई विश्वका अन्य देशले समेत सहयोग गर्न अनुरोध गरेको छ।

चीनले मात्र संकटकाल घोषणा

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेपछि जुन देशमा धेरै संक्रमण फैलिएको छ। सो देशले आफैँले पनि आफ्नो देशमा स्वास्थ्यको संकटकाल घोषणा गर्न सक्छ। हाल धेरै कोरोना भाइरस फैलिएको देश चीनले भने आफ्नो देशमा स्वास्थ्यको संकटकाल घोषणा गरेको छ। भने अन्य देशले भने स्वास्थ्य संकटकाल घोषणा गरेका छैनन्।

 विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको संकटकाल लगाएपछि विश्वभर एक देशबाट अर्को देशमा यात्रा गर्न रोक लगाउने भए पनि अहिले भने संगठनले यात्रामा रोक भने लगाएको छैन।

तर, अन्तरदेशीय सीमाहरूमा स्वास्थ्यको दृष्टिकोणले उच्च निगरानी गर्न भने अनुरोध गरेको छ। डब्लुएचओले आपतकालीन घोषणा गरेपछि संक्रमण फैलिएका देशहरुले आपतकालीन रूपमा अन्तर्राष्ट्रियस्तरका  विज्ञहरुको सहयोग माग्नुको साथै विश्वका विभिन्न संघ संस्थामा रहेको इमजेन्सी फन्डहरु लिन सजिलो हुने बताइन्छ।

उच्‍च सतर्कता

हाल चीनबाट फैलिएको कोरोना भाइरस विश्व अन्य देशमा फैलिएपछि विश्वका विभिन्न देशहरूले बच्नको लागि उच्च सतर्कता अपनाएका छन्। इटालीले चीनसँगै हुँदै आएको हवाई उडान सबै रद्द गरेको छ।  रोममा २ चाइनिजमा कोरोना भाइरसको लक्षण देखिएपछि चीन जाने सबै उडान रद्द गरेको हो।

अमेरिकाले पनि  वुहानबाट ल्याइएका आफ्ना नागरिकलाई ७२ घण्टासम्म मिलिटरी क्याम्पमा छुट्टै राखेर मात्र घर पठाउन सुरु गरेको छ भने   रूसले  चीनसँगको ४३०० किलोमिटरको दूरीमा रहेको बोर्डर पूर्ण रुपमा बन्द गराएको छ।

फ्रान्सले पनि  २ सय ५० जना आफ्ना नागरिकलाई  वुहानबाट आफ्नो देश फर्काएको छ। भारतले पनि वुहानमा बसेर पढिरहेका भारतीय एक भारतीय विद्यार्थीमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि उच्च सतर्कता अपनाएको छ। यस्तै,  इजरायलले चीनसँगका सबै नाकाहरू बन्द गराएको छ। 

पपुवान्युगिनीले एसियाबाट आउने सबै यात्रुलाई रोक लगाएको छ। उत्तर कोरियाले पनि  चीन जाने र चीनबाट भित्रने सबै उडान र रेल सेवा बन्द गरेको छ।

के हो त कोरोना भाइरस?

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहमध्येको एक हो।

नयाँ प्रकारको कोरोना भाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन। यो जुनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो। पहिचान भएका थुप्रै प्रकारका कोरोना भाइरस जनावरहरूमा देखिए पनि तिनीहरूबाट मानिसमा संक्रमण फैलाएका छैनन्।

यी हुन् मुख्‍य लक्षण

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट संक्रमितमा केही साझा लक्षण देखिन्छन्। खोकी लाग्नु,छिटोछिटो सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ हुनु, गम्भीर भएमा निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु, विस्तारै मिर्गौलाले काम गर्न छोड्नु यस रोगका मुख्‍य लक्षण हुन्। यस रोगबाट अन्तमा मानिसको मृत्यु  हुनसक्छ।

यसबाट बँच्‍न नियमित रूपमा हात सफा गर्ने, खोक्दा वा हाच्‍छ्युँ गर्दा मुख छोप्ने, मासु र अण्डा राम्रोसँग पकाएर खाने, कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढै बस्नुपर्ने चिकित्‍सकहरूको सुझाब  छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.