'कोरोनाबाट कोही नेपाली संक्रमित छैनन्'

|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अहिले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरिरहेका छन्।

राष्ट्रिय सभागृहमा जारी बैठकको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदबाट चाँडै पारित हुने पुन: दोहोर्‍याए। 

सम्बोधनका क्रममा उनले सरकार सामाजिक न्याय, समानता र नागरिकका अधिकारको बिषयमा सचेत रहेको बताए। 'राष्ट्रियताको विषयमामा कुनै पनि कुराबाट सरकार पछि हट्दैन', उनले भने, 'मिचिएको सिमाना फिर्ता ल्याउन सरकार दृढ छ। एमसिसीलाई निकट भबिष्यमा टुंगो लगाउने तयारीमा छौँ।'

अध्यक्ष ओलीले देश र जनताको पक्षमा पार्टी एकताबद्ध भएको बताए। 'देश र जनताको पक्षमा गरिएको एकतामा दायाँ बायाँ हुँदैन', उनले थपे, 'सही नीति र सिद्धान्ततको आधारमा एकता भएको छ।'

नेपालमा कोरोना छैन

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा नभएको स्पष्टीकरण दिएका छन्। 'कोरोना भाइरसको बिषयमा सरकार सचेत रहेको छ', उनले भने, 'चीनमा नेपाली सुरक्षित रहेको जानकारी आएको छ।'

उनले चीनबाट फर्किन चहाने नेपालीलाई सुरक्षित साथ ल्याउन सरकार तयार अवस्थामा रहेको जानकारी दिए। 'चीनबाट नेपालीलाई ल्याउन सरकार तत्पर छ। नेपाल ल्याएपछि १४ दिन क्यारेन्टाइनमा राखेर मात्रै पठाउन सकिने अवस्था छ', उनले भने, 'कोरानाले एक जना संक्रमित भएका थिए। त्यो हटिसकेको छ। नेपालमा अहिले कोरोना भाइरसका कोही बिरामी छैनन्।'

विश्‍वका २० भन्दा धेरै देशमा १२ हजार भन्दा बढी संक्रमित भएको बताउँदै उनले सरकार सचेत रहेको पुन: दोहोर्‍याए। प्रम ओलीले सरकारले छाउपडी हटाऊ अभियान चलाइरहेको पनि जानकारी दिए।

'सरकारले छाउपडी हटाउने अभियानलाई जारी राखेको छ', उनले भने, 'तर, छाउपडीलाई मानसिक रूपमा हटाउन सकिएको छैन, त्यसमा पनि सरकार प्रयत्‍नरत छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.