कम्तीमा तीन ठाउँ स्वास्थ्य जाँच, कडा निगरानी

|

काठमाडौं : नेपाल सरकारले चीनको उहानमा रहेका नेपाली फर्काउने तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुलाई नेपालमा ल्याएर राख्‍ने ठाउँबारे गृहकार्य थालेको छ। 

शनिबार र आइतवार चीनको उहान प्रान्तबाट ल्याउन तयार गरिएका नेपालीहरुलाई स्वास्थ्य मन्त्रालयले सुरक्षाका लागि निगरानीमा राखिने सम्भावित ठाउँ अवलोकन गरिएको छ।

त्यसका लागि मन्त्रालयले नेपाली सेनाको नवनिर्मित भवन, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हलहरु, इजंकु नारायणमा सुकुम्बासी लागि बानाइएको आवास, स्टाफ कलेज, भक्तपुरको नेपाल विद्युत पाधिकरणको तालिम केन्द्र, कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताल परिसर र बोडेस्थित कृषि तालिम केन्द्रलाई सम्भावित सेल्टरका रुपमा रोजिएको छ।

ती ठाउँको अवलोकन गर्न मन्त्रालयले स्वास्थ्य प्राविधिक समितिका संयोजक डा. दीपेन्द्र रमण सिंहलाई जिम्मा दिएको मन्त्रालयका प्रवक्ता महेन्द्रले बताए। यी सेल्टरमा राख्दा विशेषज्ञ डाक्टरहरुले निरन्तर निगरानी र परीक्षण गर्ने छन्। 

सिंहको संयोजकतामा ठाउँ खोजी भइरहेको मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए। कोरोना भाइरसको केन्द्रबिन्दु चीनको हुबेई प्रान्तस्थित उहान सहरबाट भारत, बंगलादेश, श्रीलंकाले आफ्ना नागरिक फिर्ता लैजान थालेपछि नेपालले पनि ल्याउने तयारी गरिरहेको छ।

‘सबैभन्दा महत्वपूर्ण कुरा स्थानको हो त्यसको टुंगो लाग्नेबित्तिकै उनीहरुलाई ल्याउँछौं । उहानबाट ल्याउने नेपालीलाई दुई साता छुट्टै राख्नुपर्छ। त्यसका लागि केही सम्भावित स्थान हेरेका छौँ', श्रेष्ठले भने, 'भक्तपुरको विद्युत तालिम केन्द्र, बोडेको कृषि तालिम केन्द्र, जावलाखेलको स्टाफ कलेज र आर्मीको ब्यारेकको पनि अनुगमन भइरहेको छ। तर टुंगो लागेको छैन।'

चीनमा भाइरसको संक्रमण बढ्दै गएपछि विश्वका सबैजसो देशले आफ्ना नागरिक फर्काइरहेका छन्। नेपाल सरकारले पनि चीनबाट फर्किन चाहनेलाई आइतबार बिहानसम्म फारम भरिसक्न भनेको थियो।

सरकारी आँकलनअनुसार उहानमा करिब १ सय ९० जना नेपाली छन्। तर, सरकारले दिएको समयसम्म करिब ३ सयभन्दा बढीले फाराम भरेका छन्।

फर्किनेमध्ये हुबेई प्रान्तमा रहेका नेपालीलाई प्राथमिकतामा राखिएको सरकारले जनाएको छ। ती सबै फारामको अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ।

उहानबाट फर्किएकाहरु सीधै घरपरिवारमा जान मिल्दैन। उनीहरुलाई दुई साता निरन्तर स्वास्थ्य परीक्षण र चिकित्सकको निगरानीमा राख्नुपर्ने हुन्छ।

मन्त्रालयका अनुसार नेपालीलाई फर्काउन चीनस्थित नेपाली दूतावासले सबै व्यवस्था गरिसकेको छ। अहिले उहानमा नेपालीलगायत सबै नागरिकलाई निगरानीमा राखिएको प्रवक्ता श्रेष्ठले बताए।

‘अहिलेसम्म नेपालमा सर्वसाधारण मानिसको ‘क्वारेन्टाइन’ भएको छैन‘चीनमा सबैलाई बन्द गरिएको छ। बाहिर हिँडडुल गर्न दिइएको छैन, त्यहाँ नै क्वारेन्टाइनजस्तै छ तर हामीले त्यहाँ रहेका हाम्रा नेपालीलाई ल्याएर कम्तिमा १५ दिन सम्म छुट्टै ठाउमा राख्नु पर्छ हामीले त्यसको तयारी गरिरहेका छौँ।’

कोरोना परीक्षण गरेर ल्याइने

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार संक्रमण फैलिएको ठाउँबाट मानिसहरुलाई रिस्कियू गर्दा रिस्कूयू गरिने मानिसको स्वास्थ्य परिक्षण गर्नु पर्छ।

संक्रमण देखिए हवाई उडान गर्न नमिल्ने भएकाले चीनबाट नेपाली ल्याउनु पूर्व त्यहाँ पनि परीक्षण गरिने छ। नेपाल आएपछि एयरपोर्टमा पनि परीक्षण गरेर १५ दिन सम्म छुट्टै राखेर स्वास्थ्य परीक्षण गरिने भएको छ।

यसैगरी स्वास्थ्य आपातकालिन तथा विपद व्यवस्थापन इकाई प्रमुख सागर दाहालले कोरोना भाइरस संक्रमण भएकालाई नभई स्वस्थ ब्यक्तिलाई लिएर आउने भएकाले रोग फैलिने सम्भावना नभएको बताए।

उनले शंका लागेमा त्यहीं नै परीक्षणपछि उपचार हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको जिकिर गरे। लक्षण नदेखिएको हकमा भने २ साता क्‍वारेन्टाइनमा राख्दा पत्ता लाग्ने पनि उनले जानकारी दिए ।

सरकाले नेपाल आउन चाहनेलाई आइतबार ९ बजेसम्म फर्म भर्न लगाएको थियो । चीनमा रहेका १ सय ७० जनाले फर्म भरेको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसका कारण हालसम्म चीनमा ३०४ जना र फिलिपिन्समा एक जनाको ज्यान गइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.