नेविसंघ अझै अलमलमा

|

काठमाडौं : विद्यार्थी संगठनहरु स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा होमिएका छन्। विद्यार्थी संगठनहरुले फागुनमा हुने स्ववियु चुनावका लागि धमाधम उम्मेदवार छनोट गर्न थालेका छन्।

उनीहरुले फागुन १४ मा हुने चुनावका लागि विभिन्‍न कलेजबाट उम्मेदवार चुनिरहेका छन्। स्ववियु निर्वाचनले क्याम्पसहरुमा राजनीतिक माहोल तातिएको छ। चर्को आन्तरिक विवादमा फसेको कांग्रेसको भातृ संगठन नेविसंघ पनि निर्वाचनमा होमिइसकेको छ।

चुनाव मुखैमा आएपछि विद्यार्थीहरु आफ्नो संगठनलाई जिताउन कम्मर कसेर लागेका छन्। नेकपा सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय नेता सुदेश पराजुलीले कलेजबाट स्ववियुका लागि उम्मेदवार छनोट भइसकेको बताए।

उनका अनुसार स्ववियु सभापतिको दाबेदारका लागि रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) क्याम्पसबाट संगम देवकोटा, पशुपति क्याम्पसबाट ललेन्द्र राई, ल क्याम्पसबाट विशेष सुवेदी र शंखरदेव क्याम्पसबाट आशीष लिम्बु मैदानमा देखिएका छन्।

त्यस्तैगरी पाटन बहुमुखी क्याम्पसबाट निरज सापकोटा,पृथ्वी नारायाण क्याम्पस पोखराबाट सन्तोष न्यौपाने, स्वारस्वाती बहुमुखी क्याम्पसबाट पवन भण्डारी,पद्मकन्या क्याम्पसबाट संगीता रेग्मी चर्चामा रहेका छन्।

उनले यो पटक स्ववियु निर्वाचन कुनै हालतमा हुने बताए। ‘पञ्चायतकालिन समयमा पनि स्ववियुको चुनाव भयो। जनताले नचाहेको शासन व्यवस्थामा पनि स्ववियु निर्वाचन भएको छ', उनले भने, 'यसैको जगबाट नेपाली शासन प्रणालीको परिवर्तन भएरु देशमा गणतन्त्र आयो।’

अहिलेको अवस्थामा पनि स्ववियु निर्वाचन हुन नसके विद्यार्थी संगठनहरुमाथि प्रश्‍न उठ्ने भएकाले सबै संगठन जुट्नुपर्ने बताए।

नेपाल विद्यार्थी संघमा भने स्ववियु निर्वाचनलाई लिएर अझै संशय छ। नेपाली कांग्रेसको नेतृत्वले नेविसंघमै विवादित तदर्थ कार्य समिति ल्याएपछि नेविसंघ अलमलमा परेको हो।

नेविसंघका निवार्चनमा आशंका देखिएको पराजुली बताउँछन्। ‘हामी त पूरै निर्वाचनको तयारीमा छौँ,’ उनले भने, ‘सबै विश्वविद्यालयका कलेज प्रशासन, विद्यार्थी लागेर यसलाई सफल पार्नुपर्छ।’
 

तयारी तीव्र

त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी दिपक शाहीले फागुन १४ गतेको स्ववियु निर्वाचनका लागि तयारी तीव्र पारिएको जानकारी दिए।

‘फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय भइसकेको छ,’उनले भने,‘सबैलाई चुनावमा लाग्‍न निर्देशन गरेका छौँ। हाम्रोतर्फबाट पहल गरिरहेका छौँ। निर्वाचनबाट असल नेतृत्व लिने व्यक्ति चुनिने विश्वास लिएका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.