|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि थप निष्ठा र विश्वासका साथ अघि बढ्ने आत्मविश्वास पलाएको बताएका छन्। आफूले प्रधानमन्त्री छँदा गरेका सम्बोधनहरुको संगालो 'म प्रधानमन्त्री हुँदा' को शुक्रबार राजधानीमा लोकार्पण गर्दै ओलीले यस्तो बताएका हुन्।

सुभेच्छुकहरुबाट प्राप्त सद्भावले देश र जनताका लागि थप निष्ठावान भएर काम गर्ने उर्जा मिलेको उनको भनाइ छ। साथै ओलीले यस पुस्तकमा आफूले निष्ठापूर्वक दिएका अभिव्यक्ति सामेल रहेको बताए। 'यो मैले प्रधानमन्त्री हुँदा दिएका सबै अभिव्यक्ति होइनन्,' ओलीले भने, 'यी त निष्ठाका साथ दिएकामध्ये छनोटमा परेका अभिव्यक्ति हुन्।'

आफूलाई 'उखानटुक्के' भनेर आलोचना गर्नेहरुले यहाँ कुनै उखान टुक्का नभेट्ने उनको जिकिर छ। 'मलाई उखानटुक्के भन्नेहरुले यहाँ केही भेट्दैनन्,' उनले भने, 'बरु माया गर्नेहरुले भने केही भेट्न सक्नुहुन्छ।'

फरक प्रसंगमा ओलीले नेपाल विविधतायुक्त मुलुक रहेको भन्दै यसका थुप्रै विशेषताहरुलाई बोकेर अघि बढ्न सकिने बताए। उनले आफूले पाँच विषयलाई प्राथमिकता दिएको बताए। राष्ट्रियता र राष्ट्रिय एकता, लोकतन्त्र, सामाजिक न्याय र समानता तथा समृद्धि आफ्नो प्राथमिकता रहेको उनको भनाइ थियो।

विष्णु रिमाल र सार्दुल भट्टराईले सम्पादन गरेको यस पुस्तकमाथि लेखक तथा विश्लेषक सौरभ, कृष्णमुरारी भण्डारी, विजय कुमार, चरण प्रसाइँ, रघुवीर महासेठ लगायतले टिप्पणी गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.