|

काठमाडौं : सरकारले चीनको वुहानमा रहेका सबै नेपालीहरूलाई बुधबारसम्ममा नेपाल ल्याइसक्ने दाबी गरेको छ। बुधबारसम्ममा नेपालीहरूलाई स्वदेश फर्काइने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए।  

सरकारी आँकलनअनुसार वुहानमा करिब १ सय ९० जना नेपाली छन्। नेपाल सरकारले चीनबाट फर्किन चाहनेलाई आइतबार बिहानसम्म फारम भरिसक्न भनेको थियो। तर, सरकारले दिएको समयसम्म करिब ३ सयभन्दा बढीले फाराम भरेका छन्। फर्किनेमध्ये हुबेई प्रान्तमा रहेका नेपालीलाई प्राथमिकतामा राखिएको छ।  

पाँचवटा विज्ञ टोलीहरूको समूहले शनिबारदेखि  चीनको वुहान प्रान्तबाट ल्याउन तयार गरिएका नेपालीहरूलाई स्वास्थ्य मन्त्रालयले सुरक्षाका लागि निगरानीमा राख्‍न सम्भावित ठाउँहरू खोजेको र भोलिसम्म सो ठाउँ टुंगो लाग्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले नेपाली सेनाको नवनिर्मित भवन, आर्मी ब्यारेक, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हलहरु, इचंगु नारायणमा रहेको सुकुम्बासीका लागि बानाइएको आवास, स्टाफ कलेज, भक्तपुरको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र, कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताल परिसर, बोडेस्थित कृषि तालिम केन्द्रमध्ये एक ठाउँमा राख्नेसमेत तयारी भएको प्रवक्ता क्षेष्ठले बताए।

उनले भने, ‘उनीहरुलाई ल्याएर १५ दिनसम्म क्वारेन्टाइन गरी राख्‍नुपर्छ यसरी राख्दा उनीहरूलाई मनोरञ्जनका साधनदेखि धेरै सुविधा हुनुपर्छ' उनले थपे, 'उपयुक्त ठाउँको टुंगो लागेपछि उनीहरूलाई छिटोमा बुधबारसम्म  ल्याइनेछ।'

कोरोना भाइरसको केन्द्रबिन्दु चीनको हुबेई प्रान्तको वुहानसहितका सहरबाट भारत, बंगलादेश, श्रीलंकाले आफ्ना नागरिक फिर्ता लैजान थालेपछि नेपाल सरकारले पनि ल्याउने तयारी गरिरहेको छ।

चीनमा भाइरसको संक्रमण बढ्दै गएपछि विश्वका सबैजसो देशले आफ्ना नागरिक फर्काइरहेका छन्। वुहानबाट फर्किएकाहरु सीधै घरपरिवारमा जान मिल्दैन। उनीहरुलाई दुई साता निरन्तर स्वास्थ्य परीक्षण र चिकित्सकको निगरानीमा राख्नुपर्ने हुन्छ। मन्त्रालयका अनुसार नेपालीलाई फर्काउन चीनस्थित नेपाली दूतावासले सबै व्यवस्था गरिसकेको छ। अहिले वुहानमा नेपालीलगायत सबै नागरिकलाई निगरानीमा राखिएको प्रवक्ता श्रेष्ठले बताए।

हालसम्म टेकु अस्पतालमा १४ जना कोरोना भाइरसका शंकास्पद बिरामी पुगिसकेका छन्। जसमध्ये १ जनामा कोरोना भाइरस पोजेटिभ,  ९ जनामा नेगेटिभ र ३ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको समेत प्रवक्ता श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.