थाहा संवाद

डाक्टर बन्‍न काठमाडौं पसेको, कमेडियन बनेँ

कमेडी च्याम्पियन जितेर बुवाको मिर्गौला फेर्छु

माघ १९, २०७६

    काठमाडौं : कमेडी च्याम्पियनका प्रतिस्पर्धी हुन् आदर्श मिश्र। कमेडी गर्न मञ्‍चमा उक्लनुअघि उनलाई बोलाउने नारा नै बनेको छ, 'मधेसको शान, नेपालको मान आदर्श मिश्र...।

    तराई-मधेसका जनतालाई राज्यले हेर्ने आँखाबारे फरक शैलीमा प्रस्तुत गरेर छानिएका उनी आमदर्शकको रोजाइमा परिरहेका छन्। खिरिलो शरीरका उनले मञ्‍चमा उक्लिएर उठाउने कमेडीका विषयले नेपाली दर्शकको ध्यान तानिरहेको छ।

    तराई-मधेसको मुद्दा लिएर कमेडी च्याम्पियनमा आएका उनले पछिल्लो भागमा नेपाली सैनिकहरुबारे बोलेका थिए। आदर्श कमेडी गरेर दर्शकलाई हसाउँदैनन् मात्र। कमेडीमार्फत नेपाली समाजका गम्भीर विषय वस्तु पनि उठाउँछन्। जसले धेरैलाई सोच्न बाध्य बनाउँछ।

     उनले बुझेका छन्, 'समाजसामू विमति राख्‍न सकिने माध्यम हो कमेडी।' कमेडीमा उनको लगाव, यहाँसम्म आउन गरेको संघर्षको कथा र भविष्यको योजनाबारे थाहाखबरकर्मी राजु पौडेलले बुझ्‍ने प्रयास गरेका छन्।

    अचेल अन्तर्वार्ता दिनेहरु 'कन्ट्रोभर्सी'मा परिरहेका छन्। तपाईंलाई यसको डर छैन?

    कन्ट्रोभर्सीमा पर्नुपर्ने त्यस्तो ठूलो विषय मसँग केही छैन। तर  बोल्दै जाँदा भावनामा बगेर अनेक भनिएला। मैले बोलेको कुरा बढाइँचढाइँ गरेर लेखिँदैन भन्‍ने कुरामा म विश्वस्त छु। म सत्यमा विश्‍वास गर्छु।

    हिजोको आदर्श र आजको आदर्शमा के फरक भेट्टाउनु भएको छ?

    केही फरक छैन। हिजो जे जीवन म बाँचिरहेको थिएँ त्यही जीवन आज पनि बाँचिरहेको छु। फरक यत्ति हो, म भिडमा केही  चिनिन थालेको छु। यद्यपि, म भिडकै एउटा अंश न हुँ।

    कमेडी च्याम्पियन जित्‍नु भयो भने तपाईंको जीवनमा के फरक पर्छ?

    जित-हार जीवनको एउटा चक्र नै हो। प्रतियोगितामा भाग लिएपछि जोसुकै प्रतिष्पर्धीले जित्न नै चाहन्छ। म हार्न चाहने मान्छे होइन। कमेडी च्याम्पियन जितेमा मेरो जीवनमा परिवर्तन हुने पक्का छ। यसले मेरो परिवारमा पनि परिवर्तन ल्याउने छ। मेरो बुवाको मिर्गौला फेल भएको छ। म बुवाको मिर्गौला ट्रान्सप्लाण्ट गर्न चाहन्छु। जसले बुवाको शरीर पुरानै अवस्थामा फर्किनेछ।

    तपाईंले बुझेको हास्यव्यङ्‍ग्यमा के हुनुपर्छ?

    मैले बुझ्‍नै बाँकी छ। समय, परिस्थिति र परिवेश अनुसार कमेडीको स्वरुप फरक हुन  सक्छ। कमेडीका आफ्नै विषय हुन्छन्। कुनै पनि विषयवस्तुलाई आमदर्शकसम्म पुर्‍याउने र हँसाउने कलाचाहिँ कमेडियनमा हुनै पर्छ। अर्को कुरा हास्यव्यङ्ग्य रमाइलोका लागि मात्रै होइन, यसले समाजको वस्तुस्थिति र मनोविज्ञानमा पनि प्रश्‍न गर्न सक्नु पर्छ।

    मुख बिगारेर हास्यव्यङ्ग्य हुन्छ भन्‍ने आमबुझाइलाई त परिवर्तन गरिदिनु भयो नी?

    ज्यादातर अग्रजले कमेडीलाई कमेडीकै धर्मानुसार निर्वाह गर्नु भएको छ। यहाँ कुनै आवाजबिना पनि कमेडी भइरहेका छन्। कोही मुख बिगारेर कमेडी गरिरहेका छन्। हरेकसँग आफ्ना क्षमता हुन्छन्। त्यही क्षमता अनुसार देखाउने हो भन्‍ने लाग्छ। हामीले के गरिरहेका छौं भन्‍ने कुरा समयको कुनै कालखण्डमा थाहा होला।

    कोही अभिनय गर्न सिपालु हुन्छन्। कोही बोल्न। यी दुवै एउटा पुलका दुई कुनामा बसेका हुन्। अहिले विस्तारै यी दुवै कला एकै ठाउँमा ल्याउने प्रयास गरिँदैछ। यो प्रयास ज्यादै सुन्दर कुरा हो।

    'कमेडी च्याम्पियन'मा उठाएका मुद्दाले तपाईंको जीवनमा पनि प्रभाव पारेको छ?

    देशका सुदूर पूर्व र पश्‍चिमका गाउँले यो देशमा हाम्रो सामाजिक, सांस्कृतिक, भाषिक, लैङ्गिक अस्तित्व छ भन्‍ने महसुस गर्न पाएकै छैनन्। यो हाम्रो साझा समस्या हो। यहाँ देश भनेको काठमाडौं मात्र हो भन्‍ने मानसिकतामाथि मेरो टिप्पणी हो।। यहाँ हरेक क्षेत्र वर्गले आफ्नो पहिचान र अस्तित्व चाहन्छन्।  म आफैँ तराईमा हुर्किएकाले मैले त्यहाँको विषय र मुद्दा उठाएको हुँला।

    एउटा युवाका अगाडि धेरै विकल्प छन्? यो नै विकल्प रोज्‍नुको कारण?

    बच्चैदेखि मलाई जोक मन पर्थे। पहिले पहिले झुर जोक पनि लेखियो। म काठमाडौंमा हुने साना ठूला कमेडी शोहरूमा जान्थेँ। हरेक दिन त्यहाँ पुग्दा बुवाको गाली खाइन्थ्यो। कमेडी गरेर कमाउन थालेपछि एमबीबीएसको इन्ट्रान्स पनि छोडियो। बुवाआमा डाक्टर पढाउन चाहनुहुन्थ्यो। मैले आफ्नो मनको कुरा सुनेँ। उहाँहरुको सपना त्यागेँ।

    बाराको युवा सपना देखेर काठमाडौं आएको छ। सपना देख्‍न चाहिने आँखामा कसले ऊर्जा दियो? बुवाआमा की समाज?

    कसैले देखाएनन्। म गाउँबाट डाक्टर बन्‍न आएको हुँ। तर लागियो कमेडीतिर। कमेडी गर्न थालेको गाइँगुइँ गाउँमा चलेछ। मिश्रको छोरो रातबिरात घुमेर बस्छ भन्‍ने हल्ला चलेछ। गाउँ र विद्यालयमा  बिग्रेको केटोको उदाहरण मलाई नै दिन्थे। विस्तारै कमेडीका साथीहरु भेट्टिए। उनीहरूले मलाई  साथ दिन थाले। कमेडीमा लागेर बिग्रिए म मात्रै होइन साथीहरू पनि सकिन्छन् भन्‍ने लाग्यो। धेरै समथीहरू कमेडीमा लागेपछि मैले पनि आफ्नो रहरलाई दागबत्ती दिने चेष्टा गरिन।

    'एउटा मधेसीलाई नेपाली भन्‍न ऊ भगवान हुनुपर्छ' भन्‍ने तर्क तपाईंको जीवनमै लागु भएको थियो?

    मैले कमेडी गरेका विषयवस्तु मैले भोगेकै समाजका बिमति हुन्। मैले उठाएका विषय नजिकबाट नियालेको छु, भोगेको छु। ती विषयमा कुरा गर्न 'कन्फिडेन्ट फिल' हुन्छ। मैले भोगेका मेरै 'स्टोरी' आफ्नो तरिकाले भनेको हुँ।

    तपाईं हुर्किएको समाजले हास्यव्यङ्ग्यलाई कसरी लिन्छ?

    हाम्रो समाज नै पुरानो ढर्राबाट संचालित छ। अब यसलाई सुधार गर्नुपर्छ। यहाँ अरुलाई हसाउँनेहरु डिप्रेशनमा गएका उदाहरण छन्।  मेरो बुवाले कपिल शर्माको उदाहरण दिनुहुन्छ। उनी  कुनै बेला डिप्रेशनमा थिए। त्यो डिप्रेशनको असर मेरो समाज र बुवासम्म पुगेको छ। कहिलेकाहीँ लाग्छ, परिवार समाज, राजनीति, परम्परमगत रुढिवादी मान्यताबाट बिमति राख्‍ने व्यक्ति नै कमेडियन बन्छ। समाजले अझै पनि बिग्रेको संज्ञा दिन छाडेको छैन।

    हास्यव्यंग्यमार्फत तपाईं समाजलाई के प्रमाणित गर्न चाहनुहुन्छ?

    कमेडियन हुने मेरो लक्ष्य हो।  मान्छे हँसाउने मेरो काम । मेरो कामले समाज र परिवारले गर्व महसुस गरे भने त्यही नै खुशीको कुरा हो। म केही पनि प्रमाणित गर्न चाहन्‍न। तर हँसाउने मान्छे बिग्रेको हुन्छ भन्‍ने समाजको सोचाईलाई फेर्न चाहन्छु।

    अन्तर्वार्ता लिनुहुन्थ्यो, आज दिनुपरेको छ। कस्तो महसुस भएको छ?

    गज्जब महसुस हुने रहेछ। आफूले गरेको कामको सम्मान गर्दा खुशी नहुने सायदै कोही होला। मैले धेरै काम गर्न बाँकी छ। मैले समातेको बाटो सही रहेछ भन्‍ने कुराले खुशी लागेको छ। सबैको माया पाउन त इमान्दार भएर कर्म गर्नै पर्छ।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]