फोक्सोको क्यान्सरबाट बर्सेनि २३ प्रतिशतको जान्छ ज्यान

|

काठमाडौं : नेपालमा बर्सेनि २६ हजार १ सय ८४ नयाँ क्यान्सर रोगी थपिँदैछन्। जसमध्ये १९ हजार ४ सय १३ जनाको क्यान्सरकै कारण हरेक वर्ष मृत्यु हुने गर्छ। क्यान्सर हुने यकिन कारण हालसम्म पत्ता लाग्‍न सकेको छैन।

क्यान्सरको जोखिम दिनानुदिन बढिरहेको छ। समयमै पहिचान गर्न सके निको हुन्छ। तर बिरामीहरू ढिलो अस्पताल पुग्‍ने भएकाले  क्यान्सरका बिरामी बढिरहेका छन्। बदलिँदो जीवनशैली, खानपान, वंशानुगत र सुर्तीजन्य पदार्थले क्यान्सरको उच्च जोखिम बढाइरहेको छ।

वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईंका अनुसार समयमै उपचार गर्न आए क्यान्सर रोग सन्चो बनाउन सकिन्छ। तर नेपालमा धेरै बिरामी आन्तिम समयमा अस्पताल आउने उनले बताइन्।

‘समयमा नै क्यान्सर पत्ता लागउन सकियो भने ३० देखि ५० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ', उनले भनिन्, 'तर हाम्रोमा अझै पनि क्यान्सरको सचेतनाको कमी छ, धेरै बिरामी अन्तिम समयमा अस्पताल आइपुग्छन्।'

फोक्सो र पाठेघरका बिरामी बढी

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र  बरालले  खानपिन, विलाशी जीवनशैली र मोटोपनबाट बच्‍न सके क्यान्सरबाट पनि जोगिन सकिने बताए। नेपालमा सबैभन्दा धेरै फोक्सो र महिलाको पाठेघरको क्यान्सर रहेको डा. बरालले बताए।

नेपालमा २३ प्रतिशत फोक्सोको क्यान्सर, १७ प्रतिशत पाठेघरको मुखको क्यान्सर, १५ प्रतिशत स्तन क्यान्सर, १५ प्रतिशत पेटको क्यान्सर, ७ प्रतिशत घाँटीको क्यान्सर, ७ प्रतिशत अण्डाशयको क्यान्सर, ७ प्रतिशत मूत्रथैलीको क्यान्सर देखिएको अध्ययनले पुष्टि गरेको छ। पित्ताशयको क्यान्सर ५ प्रतिशत, कलेजो क्यान्सर ५ प्रतिशत र मलाशयको क्यान्सरका बिरामी ४ प्रतिशत छन्।

नेपालमा बर्सेनि २ हजार ३ सय ३२ महिलालाई पाठेघरको मुखको क्यान्सर हुने परिवार कल्याण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर चन्दले बताए।

जसमध्ये १ हजार ३ सय ६७ जनाको मृत्यु हुन्छ। ८० दशमलव ९ प्रतिशत पाठेघर मुखको क्यान्सर देखिने गरेको छ। विश्‍वमा करिब १३ प्रतिशत मानिसको कुनै न कुनै क्यान्सरका कारण मृत्यु हुने गरेको डब्लुएचओको तथ्यांकले देखाएको छ।

नेपालमा कुल मृत्युको ६६ प्रतिशत नसर्ने रोगका कारण हुने सरकारको तथ्यांकमा २० प्रतिशत क्यान्सर हुने गरेको पाइएको छ।

क्यान्सरको जोखिम बढ्दो

क्यान्सर लाग्‍ने मुख्य कारण सुर्तीजन्य प्रदार्थको सेवन मानिन्छ। सुर्तीजन्य वस्तुको प्रयोगले मुख, नाक, गला, घाँटी र फोक्सोमा क्यान्सरको जोखिम बढी हुन्छ।

शरीरको कुनै भागमा भएको घाउ लामो समयसम्म निको भएन भने त्यसले पनि पछि क्यान्सरको रूप लिन सक्छ। अनियमित जीवनशैली, रक्सीको अत्यधिक सेवन र वंशानुगत कारणले पनि क्यान्सर रोग लाग्छ।

पछिल्लो समयमा क्यान्सर बढ्नुको मुख्य कारण वातावरण प्रदूषणसमेत हो। यसबाहेक फलफूल, तरकारी लगायतका खाद्यान्‍नमा अत्यधिक मात्रामा विषादीको प्रयोग, धुलोधुँवा, असन्तुलित आहार, जनचेतनाका कमीलगायत कारण नेपालमा क्यान्सरको जोखिम बढ्दो छ।

क्यान्सर हिजो र आज केही वर्षअघि क्यान्सर थोरैलाई मात्र देखिने गर्थ्यो। तर पछिल्लो समय जीवनशैली तथा खानपानले गर्दा कम उमेरमै धेरै मानिसलाई क्यान्सर देखिने गरेको छ।

क्यान्सर भएर पनि अस्पताल नआउने र नेपालमा क्यान्सर पत्ता लगाउने आधुनिक उपकरण नभएकाले पनि क्यान्सरका बिरामी कम देखिने गरिएको हो।

क्यान्सरको कारणमध्ये ८० प्रतिशत सुर्तीजन्य पदार्थ हो। त्यसैले सुर्तीजन्य वस्तुको सेवनबाट टाढै रहनुपर्छ। सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, किड्नी, ब्ल्याडरको  र गर्भाशयको क्यान्सर हुनसक्ने सम्भावना हुन्छ। सुर्ती र गुट्खा खाँदा मुख र पाचनग्रन्थीमा क्यान्सर हुन सक्छ।

मोटोपन पनि क्यान्सर हुनुको एक प्रमुख कारण भएकाले शरीरको तौललाई नियन्त्रणमा राख्नुपर्छ। मोटोपनको कारण महिलाहरूमा पाठेघर, मुत्रनली तथा स्तनको क्यान्सर हुने सम्भावना रहन्छ। 

क्यान्सरबाट बच्‍न सन्तुलित खानेकुरा खानुपर्छ। फलफूल, हरियो सागपात र गेडागुडी धेरै खानु राम्रो हुन्छ। सकेसम्म पोलेको, बासी, ढुसी आएका खानेकुरा खानु हुँदैन।

रासायनिक पदार्थ मिसावट भएका मिठाइ, जंकफुडबाट सकेसम्म टाढै रहेको राम्रो हुन्छ। यस्ता खानेकुरामा क्यालोरीको मात्रा पनि बढी हुन्छ।

स्वाद बढाउन हानिकारक वस्तु प्रयोग गरिएको हुन्छ। यसका साथै विकिरणहरूबाट समेत टाढा बस्‍नुपर्छ। चर्को घाममासमेत बस्नु हुँदैन। घाममा हुने विकिरणबाट छालाको क्यान्सर हुने सम्भावना धेरै हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.