सिजन र साइतमा भ्याइनभ्याई

|

बाँके : समय बदलिएसँगै हाम्रो समाज पनि बदलिएको छ। समय परिवर्तनले हाम्रो समाजका परम्परागत संस्कृति, संस्कार, बाजागाजा थिच्दै लगेको छ। पछिल्लो समय पश्चिमा संस्कृतिले नेपाली संस्कृतिमाथि आक्रमण गरी आफ्नो प्रभुत्व जमाउँदै गएको छ।

अहिले नेपाली समाजका परम्परागत बाजागाजा गाउँघरमा सुनिन छाडेका छन्। बिहेवारीमा बजाइने नौमती बाजा होस् या विभिन्न पर्व र मेलामा बजाइने मादल, झ्याली पनि लोप हुने क्रममा छन्।

परम्परागत रूपमा बजाउँदै आएका समुदाय र गाउँदै आएका जातिको पनि परम्परागत बाजागाजाप्रति लगाव कम हुँदै आएको छ। दमाईंले बिहेमा बजाउने नौमती बाजा पनि लगभग लोप भइसकेको छ। यो बाजाको ठाउँमा बजारमा पाइने आधुनिक बाजाले ठाउँ पाएका छन्। यो न त नेपाली परम्परागत बाजामा पर्छ न त समाज सुहाउँदो नै छ।

संरक्षणमा जुटे क्षेत्री-बाहुन

दमाईंले नौमती बाजा बजाउन छाडेपछि बाँकेका गैरदलित (बाहुन र क्षेत्री) यसको संरक्षणमा जुटेका छन्। पश्चिम नेपालको पहाडी जिल्लामा लोकप्रिय मानिने नौमती बाजा लोप हुन थालेपछि संरक्षणमा जुटेको खजुरा गाउँपालिका–२, गौघाटका दलबहादुर मल्लले बताए। दमाईं जातिले बजाउँदै आएको नौमती बाजा बजाउन छोडेपछि संरक्षणका लागि दुई वर्षअघि संगठित भएको उनले बताए।

नौमती बाजा संरक्षणका लागि स्थानीयले समूह बनाएका छन्। समूहमा ज्‍येष्ठ नागरिकसमेत सदस्य छन्। समूहमा १७ जना स्थानीय सदस्य छन्। समूहका सदस्य आफ्नो कुशलताअनुसार, दमाह, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बजाउँछन्।

उनीहरूले बाजा बजाउन सुर्खेतबाट गुरु ल्याएर सिकेका थिए। 'पश्चिम नेपालको लोकसंस्कृति झल्काउने नौमती बाजा लोप हुन थालेपछि संरक्षण गर्नुपर्छ भन्ने लागेर संगठित भयौँ,’ दलबहादुरले भने।

जिल्लामा हुने सभा, समारोह, सम्मेलन, वार्षिक उत्सव, विवाह भोज, विजय उत्सव, पूजा र महोत्सवमा यही सिंगारु तथा बाजा समूहलाई नै बोलाउने गरिन्छ। जिल्ला बाहिरबाट पनि माग हुन थालेको बाजा समूहका सदस्य टीकाराम ओलीले बताए।

उनका अनुसार, सुर्खेतमा आयोजना भएको पर्यटन महोत्सवमा सिंगारु तथा बाजा समूहले नौमती बाजा बजाउने अवसर पाएको थियो। 'विवाह र महोत्सव हुने समयमा प्रायः नौमती बाजा बजाउनमै दिन बित्छ,’ ओलीले भने।

साइत र सिजनमा भ्याइनभ्याई

लोक संस्कृतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि शहर बजारमा हुने कार्यक्रमको शोभा बढाउन नौमती बाजाको खोजी हुन थालेको समूहका अध्यक्ष भीमबहादुर खत्रीले बताए।

उनले कुनै बेला एकैदिन धेरै ठाउँका लागि फोन आउने गरेको बताए। 'राम्रो साइत र मौसम राम्रो भएको बेला एकैदिन दुई–तीन ठाउँमा बाजा बजाउन आउनुपर्‍यो भनेर फोन आउँछ,’ अध्यक्ष खत्रीले भने।

कायमै छ अपहेलनाको सोच

दमाईं जातिले बजाउने भएकोले नौमति बाजालाई 'दमाह’ पनि भनिन्छ। दमाईं जातिलाई हेर्ने दृष्टिकोण परिवर्तन भइनसकेकोले कुनै–कुनै विवाह, पाटी र पूजामा बाजा बजाउन गएका बेला सिंगारु तथा बाजा समूहका सदस्य पनि अपहेलित हुनुपरेको छ। दमाईं भनेर नछुने र टाढा बस्न भन्छन्। 'कुनै–कुनै ठाउँमा दमाईं भनेर तिमी भनेर सम्बोधन गरेको घटना पनि छ,’ भीमबहादुरले भने।

दु:ख मानेका छैनौँ

दमाईं भनेर अपहेलित गरे पनि आफूहरूलाई दु:ख नलाग्ने गरेको समूहका अर्का सदस्य यामबहादुर महतराले बताए। उनले दमाईं भनेर अपहेलना गर्दा आफूहरूलाई नमजा नलाग्ने गरेको बताए। 'अरूले अपहेलना गर्दा हामीलाई झनै गर्व लाग्छ। बाजा बजाउन जानेकोमा हामीलाई पछुतो होइन खुसी महशुस हुन्छ,’ उनले भने।

सबैको साझा संस्कृति

उनले संस्कृति कुनै एउटा जातिको मात्र नभई सबैको साझा हुने बताए। पहिले दमाईं जातिले बजाउने भएकोले उनीहरुको जस्तो लागे पनि नेपालमा भएका संस्कृति सम्पूर्ण नेपालीको साझा भएको उनको भनाइ छ। 'पश्चिम नेपालको परिचय बोकेको नौमती बाजा बजाएर संरक्षण गर्ने प्रयास गरेकोमा हामी गौरवान्वित छौँ,’ यामबहादुरले भने।

सिंगारु तथा बाजा समूहले पहिले सल्यान, सुर्खेत, दैलेख क्षेत्रमा प्रचलित सिंगारु नाच मात्र नाच्दै आएको थियो। पछि आफ्नै क्षेत्रमा लोकप्रिय मानिने नौमती बाजा लोप हुन थालेपछि संरक्षणको प्रयास गरेको दलबहादुर मल्लले बताए।

दूरी र ठाउँ हेरेरे पैसा लिन्छौँ

नौमती बाजा बजाएबापत बाजा समूहले निश्चित शुल्क लिने गरेको छ। उनले दूरी र ठाउँ हेरेर शुल्क लिने गरेको बताए। ठाउँ र दूरी हेरेर एक दिनको १२ देखि २५ हजार रुपैयाँ शुल्क लिने गरेको मल्लले जानकारी दिए। 'व्‍यक्ति र संस्थालाई पनि फरक शुल्क लिने नियम बनाएका छौँ,’ उनले भने।

समूहलाई दर्ता गरेर वैधानिकता दिइने भएको छ। समूह दर्ता नगर्दा बिल, भरपाई मिलाउन समस्या भएकोले दर्ता प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ। पारिश्रमिक लिँदा आधिकारिक संस्था चाहिने भएकोले दर्ता गर्न लागिएको उनले बताए। 'लुज फोरमलाई वैधानिकता दिने तरखरमा छौँ,’ मल्लले भने।

सामूहिक बाजा नौमती

नौमती बाजा नौवटा बाजाहरूको सामूहिक बाजा हो। यो पञ्चे बाजाको ठूलो रूप हो। जसमा चारवटा अरू बाजाहरू थपिएको हुन्छ। यसअन्तर्गत दमाह, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई/दुईवटा हुन्छन्।

सहनाई र नरसिंगा फुकेर, ठूलो दमाह, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ। नौजना बाद्यवादक लोक कलाकारहरुले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्यसमूहलाई नौमती बाजा भनिएको हो।

सहनाई अर्थात् सनई नौमती बाजाको प्रमुख आकर्षण हो जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ। फुक्दै पौन फेर्दै यसमा मुरलीमा झैं आठवटा प्वालहरुमा औंला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरूले मात्र बजाउन सक्छन्।

एउटा सनई औंला चाल्दै बजाउँदा अर्काले फुकेर सुर मात्र दिइरहन्छ त्यसैले सुर दिने सनईलाई भाले सनई र औंला चाल्दै भाखा हालेर बनाइने सनईलाई पोथी सनई पनि भनिन्छ। नौमती बाजामध्ये ठूलो बाजाका रुपमा दमाहा पर्दछ। तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.