सिर्जना र क्षमताले मानिसको जीवन सार्थक पार्छ

|

काठमाडौं : कुर्सीमा मिलाएर क्यानभासका चित्रहरू राखिएका छन्। केहीमा रङको डब्बा छ। भुइँमा रङले पोतिएका ब्रस कुर्सीका छेउमा छरिएका छन्। कुर्सीमा राखिएको छ हिमालको चित्र। जसमा भर्खरै कालिञ्‍चोकमा हिउँ परेको जीवन्त तस्वीर उतारिएको छ।

पहिलोपटक नजिकैबाट हिउँ देखेर आएकी रुजा श्रेष्ठ यतिखेर हिउँ र हिमालको क्यानभास कोर्नमा व्यस्त छिन्। घुम्दा होस् वा हिमाललाई देख्दा, डुल्दा, हाइकिङ जाँदा देखिएका प्राकृतिक दृश्य सजीव ढंगले उतार्ने उनको खुबी छ।

काठमाडौंको सामाखुसीस्थित आफ्नै घरको सानो कोठालाई उनले स्टुडियो बनाएकी छिन्। फुर्सदको समय र वातावरणअनुसार चित्र कोरिहाल्ने उनको बानी छ। ब्रस र रङसँग खेल्‍न उनको रुचि हो। उनी प्रायजसो एक्रोलिक र पानी रङको प्रयोग गर्छिन्।

‘जहाँ रङले जीवनका आयामहरू बताइरहेको हुन्छ जस्तो लाग्छ,' उनी भन्छिन्, 'जसरी मानिसका मनमा अनेक तरङ्गहरू आउँछन्। रङले पनि नयाँ कुराहरू भनिरहेको हुन्छ र त्यसले जीवन सार्थकका कुराहरू बताइरहेको हुन्छ।'

१९ वर्षीय रुजालाई आफ्नो पढाइको साथसाथै सिर्जनामा पनि उत्तिक्कै रुचि छ। ‘सिर्जना  मानिसको बहुमूल्य गहना हो। हरेक मानिसमा प्रतिभा हुन्छ मेरो प्रतिभा चित्र बनाउने र सिर्जना बुझ्ने हो,’ रुजा भन्छिन्। उनले बनाएका सबै चित्रले आँखालाई लोभ्याइरहेको हुन्छ। उनले बनाएको डिजाइनले सिर्जनामा नयाँ आयाम थपिरहेको जस्तो लाग्छ।

‘हुने विरुवाको चिल्लो पात' भन्‍ने उक्ति रुजाको जीवनमा पनि लागू भएको छ। रुजा सानैदेखि चित्र कोर्न सिपालु थिइन्। स्कुलमा पनि साथी र शिक्षक उनको कलाको प्रशंसा गरेर थाक्दैनथे।

उनको सानैदेखिको रूचि चित्रकलामा क्यानभास कोरिएको रङले देखाउँछ। उनी काठमाडौंको नेवार सुमदायमा हुर्केकी हुन्।  बाबाले चित्र बनाएको देखेर रुजालाई चित्रकलामा प्रेरणा मिलेको हो।

सानोमा बाबाको हातमा लतपतिएको रङ देखेर रङसँग नजिक भएकी रुजा अहिले आफ्नै हातमा रङ लतपताउँदै जीवन्त चित्र बनाउन माहिर छिन्। अहिलेसम्म उनले दुई सयभन्दा बढी चित्र कोरिसकेकी  छिन्।

सेन्टमेरिज स्कुलमा कक्षा १ मा पढदादेखि नै उनी चित्रकलासँग नजिक भएकी थिइन्। स्कुलमा पढ्दा सधैं चित्र बनाउनमै उनको ध्यान हुन्थ्यो। पढाइमा पनि उनी अब्बल थिइन। क्यानभासमा ब्रस कुदाउने रमाउने उनी  चित्रमा भविष्य र खुसी खोजिरहेको बताउँछिन्। सिर्जनामार्फत नै आफ्नो भावना व्यक्त गर्ने उनको चाहना छ।

बाबाबाटै प्रेरणा

रुजाका बाबा पनि चित्र बनाउने गर्थे। रुजा बाबाले बनाएको चित्र हेरिरहन्थिन्। रुजा पनि सानैदेखि पेन्टिङमा खुब रुचि राख्थिन्। 'हजुरबुबा पनि चित्र कोर्नुहुन्थ्यो, उहाँहरूकै प्रेरणाबाट मैले पनि चित्र कोर्न सिकेकी हुँ' रुजाले विगत सम्झिइन्। कक्षा १ देखि नै चित्र बनाउनमा लागेकी रुजाको असाधारण सोच र असाधारण क्षमता स्कुले जीवनदेखि नै विकास भएको थियो।

'स्कुलमा पढ्दादेखि नै सिर्जना र यसको महत्व तथा बुझ्‍न थालिसकेकी थिएँ' उनी भन्छिन्, 'प्रतिभाले नै मानिसको नयाँ रूप दिँदोरहेछ।'

एसएलसी पछिको चित्रकला पढा

एसएलसी सकेपछि ए–लेभलमा पनि उनले चित्रकला विषय नै पढिन्। 'रुचिको विषयलाई कहिल्‍यै छाड्न नहुने रहेछ' उनले भनिन्,'रुचिलाई सिर्जनामा बदल्न सक्दा मात्र पनि जीवनले सार्थकता पाएको जस्तो हुन्छ।' हेर्दा सानो भए पनि प्रतिभा कहिले सानो नहुने रुजाले सुनाइन्।

चित्रकलाबाट मात्रै भविष्य बनाउन कठिन रहेकोमा उनी सहमत छिन्। सिर्जनालाई बचाउन सक्दा जीवनमा एक्लो नपर्ने उनको दृढ विश्वास छ। शब्दले भन्दा पनि सिर्जना र क्षमताले मानिसको जीवनमा आत भर्ने काम गर्ने उनको धारणा छ।

पैसा कमाउन नसके पनि सन्तुष्ट

चित्रकलाबाट धेरै पैसा कमाउन नसके पनि सन्तुष्ट कमाउन सक्नेमा उनको विश्वास छ। पैसा खर्च भएर जाने तर सिर्जना कहिल्यै नसकिने उनको बुझाइ छ। 'ए लेभलमा पढ्दा पैसाको महत्वभन्दा सिर्जनाको महत्व बुझेँ' उनले भनिन्, 'चित्रले मानिसका जीवन र वातावरणलाई ब्रस र रङमार्फत उतार्न सक्नुपर्थ्यो। त्यसबखत लाग्थ्यो सिर्जना सबैभन्दा माथि रहेछ, त्यसपछि जीवन। सिर्जनाको माध्यमले हरेक मानिस बाँचिरहेका हुन्छन्।'

अग्रज कलाकारहरूले कोरेको चित्रले उनलाई मार्गदर्शन गरेको छ। उनी काठमाडौं उपत्यकाको हरेक आर्ट ग्यालरीमा घुमेकी छन्। बबरमहलको आर्ट काउन्सिलमा भएका प्रदर्शनीमा उनी नछुटाई पुग्‍ने गर्छिन्। विभिन्‍न समयमा हुने प्रदर्शनीमा स्वदेशी र विदेशी कलाकारको चित्र हेरेर अझ थप सिक्न पाएको उनी सुनाउँछिन्।

लाखेको चित्रबाट थप ऊर्जा

रुजाले ए-लेभल पढदा प्रोजेक्ट वर्कमा बनाएको लाखेको मास्कको चित्रले उनको कलाकारिता आयाममा नयाँ ऊर्जा थप्‍यो। एक महिना लगाएर बनाएको उक्त लाखेको मास्कको चित्र प्रदर्शनको लागि बेलायत पनि लगिएको थियो।

लाखेको चित्रले रुजालाई व्यावसायिक बन्न सहयोग मिल्‍यो। त्यसपछि  उपत्यकाका विभिन्न ठाउँबाट उनलाई चित्रको अर्डर आउने गरेको उनी सुनाउँछिन्।

उनी आफूले बनाएको पेन्टिङको मिहिनेतअनुसार मूल्‍य तोक्ने गर्छिन्। उनका अधिकांश चित्रहरू १० हजार माथिका छन्।

रुजाले महिनामा ३ देखि ४ वटासम्म चित्र बनाउने गरेकी छिन्। क्यानभास र ज्याकेटमा डिजाइन गर्छिन्। उनका अनुसार कपडामा रंग लगाउँदा बढी रङ लाग्छ कि भनेर डराउनुपर्ने हुन्छ। रङ गाढा वा फिक्का पार्न भने 'ट्रिटमेन्ट' गर्न सकिने उनले सुनाइन्।

सौन्दर्यमा सिर्जना खोज्न सक्नुपर्ने उनको धारणा छ। उनी भन्छिन्,’ चित्रले संसार र प्रकृति उतार्ने गर्छ।'

सिर्जनाका लागि शान्त र कोलाहलमुक्त वातावरण हुनुपर्ने उनको मत छ। आफैँले बनाएको रचनाले जबसम्म सन्तुष्टि प्रदान गर्दैन तबसम्म चित्रको सुन्दरता आफैँलाई लाग्दैन,’ उनले भनिन, 'चित्र स्वयं कलाकारलाई सुन्दर लाग्नुपर्छ। तब दर्शकलाई मनपर्छ।'

चित्र र क्यानभासले दृष्टिकोण पनि बनाउँछ। जब चित्र व्यावसायिक रुपमा बन्न थाले तब मानिसका दृष्टिकोण पनि फरक फरक रहेको थाहा पाएको उनले बताइन्। सबैले चित्र बुझ्दैनन् जसले बुझ्छ उसले अर्थ पनि बुझ्छ।

सोचेजस्तो चित्र कोर्न नसक्दा उनी आफैँसँग धेरै पटक रिसाएकी छिन्। चाहेजस्तो चित्रमा रङ पनि छनौट गर्न नसक्दा कहिलेकाहीँ उनी आफूदेखि आफैँ रिसाउँछिन्। 'रिसभन्दा धैर्यता हुनुपर्ने रहेछ,’ उनले हास्दै सुनाइन, 'अझ चित्र बनाउँदा त शान्त र धैर्यता विना सम्भव नै छैन।'

रङसँग जति बढी खेल्न सक्यो त्यति नै बढी आनन्द आउने उनी सुनाउँछिन्। हरेक रङमा मानिसका जीवन भेट्टाउँछिन् रुजा। 'मानिसको जीवन सादा र रंगीन हुन्छ,’ रुजाले ब्रस समाउँदै भनिन्, 'जति रंगसँग खेल्छु त्यति नै मानिसका भावना र प्रकृतिसँग नजिक भएको जस्तो हुन्छ। यी चित्र सबै मानिसको लागि बनाएको हुँ र आँखालाई रङ छुट्याउन अधिकार दिएको छु।'

रङ र जीवन मानिसलाई सरप्राइज दिने वस्तु हो जस्तो लाग्छ रुजालाई। ‘शब्द पढेँ वाक्य बनाएँ सबैभन्दा गाह्रो लाग्ने विषय 'ए' लेभल पढेँ तर आज रङसँग खुसी छु,’ उनी भन्छिन्, 'सिर्जना अमर हुने भनेको यही रहेछ मानिसको मन र आँखामा बस्ने भएकोले होला।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.