|

पर्वत : तपाईँले कुन कुन प्रकारका मःम खानुभएको छरु भेज, चिकन, बफ वा अरू कुनै जुन सजिलै पाउन सकिन्छ। तर कोदोको मःम खाने ठाउँ भने सायदै भेटिएलान। यदि तपाईँले कोदोको मःम खानुभएको छैन भने त्यसको स्वाद पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा रहेको चनौटे होमस्टेमा लिन सक्नुहुन्छ।

सदरमुकाम कुश्माबाट आधा घण्टामा सवारीमार्फत पुगिने चनौटेको होमस्टे गुरुङ समुदायका १० परिवारले सञ्चालन गरिरहेका छन्। पर्वतको पर्यटकीय गन्तव्य समेत रहेको दुर्लुङकोटको नजिकै पर्ने होमस्टेमा बस्न जानेहरूको भीड पनि बढ्दै जान थालेको छ।

पाहुनाहरूलाई दिइने आतिथ्यता, स्थानीय उत्पादनका परिकार, कोदोबाट बनाइएको सेल रोटी, मःम, गुन्द्रुक लगायतका परिकारका लागि चनौटे होमस्टे धेरैको रोजाइमा परेको होमस्टे सञ्चालनका अभियन्ता गोलमान गुरुङ बताउँछन्। ‘हामीहरुले धेरैजसो परिकारहरू कोदोबाट नै तयार गर्छौँ, ढिँडो, रोटी, खोले, चिप्स र मःम कोदोबाट बन्छ। गहुँ र जौका परिकारहरू पनि धेरै छन्।’ उनले भने, ‘अहिले हरेक दिन जसो पाहुनाहरू आउनुहुन्छ, छोटो अवधिमा पनि होमस्टेले राम्रो ठाउँ पाएको छ।’

बजारमा पाइने खानाहरूमा रासायनिक मिसावट हुने भएका कारण गाउँमा पाइने शुद्ध जैविक परिकारहरू खानका लागि चनौटे होमस्टे राम्रो रहेको होमस्टेमा पुगेका पाहुना सूर्य भुसाल बताउँछन्।

‘जागिरको सिलसिलामा बजारमा बस्ने गरिएको छ। बजारको मिसावट भएको खाना र कोलाहल छाडेर एक दिन भए पनि रमाउँ भनेर साथीहरू मिलेर होमस्टेमा आएका हौँ,’ उनले भने, ‘होमस्टेमा गएर एक पटक अनुभव लिनुपर्छ। होटेलमा जस्तो महँगो हुँदैन, कति आसा र मिहिनेतका साथ होमस्टे सञ्चालन गरेकाहरूको जीवनस्तर थोरै भए पनि माथि उठ्न इँटा थपिन्छ।’

होमस्टेमै भेटिएका तनहुँ सदरमुकाम दमौलीका शिक्षक रामचन्द्र पोखरेलले पनि अन्नपूर्ण हिमशृङखलालाई नजिकैबाट अवलोकन गर्नुका साथै दुर्लुङकोटबाट विभिन्न जिल्लाका भाग सहित डाँडा र भीरहरू देख्न पाउँदा रमाइलो लागेको बताए। पर्वतमा रहेका साथीहरूको निमन्त्रणमा होमस्टेमा बस्न आएका उनले कोदोका फरक परिकारहरू पाउने होमस्टेका रूपमा चनौटे होमस्टे रहेको अनुभव सुनाए।

होमस्टेमा बस्न जानेहरूलाई साहसिक खेलहरू क्यानोनिङ (छांगारोहण) र रक क्लाईम्बीङ (डोरीको सहायताले चट्टान भएको भिरमा उक्लिने खेल) को समेत व्यवस्था रहेका कारण अन्यत्रको होमस्टेमा भन्दा चनौटेको होमस्टेमा थप आकर्षण रहेको विभिन्न ठाउँका होमस्टेहरूमा पुगेका युवा तथा व्यवसायी अच्युत पौडेल बताउँछन्।

होमस्टे सञ्चालक गोलमान गुरुङले पनि चनौटेको होमस्टेमा पुग्नेहरूका लागि साहसिक खेलहरूको समेत प्रबन्ध रहेका कारण बाह्य पर्यटकहरुको लागि समेत होमस्टे आकर्षणको केन्द्र बन्दै गएको बताए। सामान्यतः होमस्टेहरूमा स्थानीय परिकारहरूको स्वाद चाख्न, मौलिक संस्कृतिको अनुभव गर्नका लागि जाने भए पनि चनौटेमा गण्डकी प्रदेशकै अग्लो क्यानोनिङ रहेका कारण पर्यटकहरूको चाप बढ्दै गएको उनको भनाई छ।

होमस्टेमा जानको लागि पदमात्र अर्को विकल्पको रूपमा रहेको छ। सङ्घीय सांसद पदम गिरी र कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको पहलमा आवश्यक बजेट विनियोजन गरेर होमस्टे, क्यानोनिङ र रक क्लाईम्बीङमा पुग्नको लागि पदमार्ग समेत निर्माण भएको छ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक रहेको कुस्मा नगरपालिकाको अम्बोटबाट पदयात्रा प्रारम्भ हुन्छ। होमस्टे हुँदै उक्त पदमार्ग कास्की र म्याग्दी जिल्लाका अन्य चलेका पदमार्गहरूमा जोडिने भएकाले पनि होमस्टेको विकासमा टेवा पुग्ने स्थानीयको अपेक्षा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.