|

बारा : बारामा नदीजन्य पदार्थ अवैध उत्खननको अनुगमन र कारवाही गर्ने निकायका जनप्रतिनिधि नै त्यसलाई ढाकछोप गर्न लागि परेका छन्। बाराको निजगढ नगरपालिका ९ स्थित बकैया खोला खोलामा व्यवसायीले नदीजन्य पदार्थको उत्खनन् गर्दा मापदण्डविपरित खाल्डो पारेका छन्। 

बकैया खोलाको उत्खनन् बारेमा गुनासो बढेपछि जिल्ला अनुगमन समितिको टोलीले अनुगमन गर्ने तयारी गरेपछि त्यसलाई ढाकछोप गर्न निजगढ नगरपालिकाले साथ दिएको भेटिएको छ।

निजगढ नगरपालिकाको निर्देशनमा क्रसर उद्योगी र व्यवसायीले आफैँले खनेका खाल्टा वरिपरिको बालुवा तानेर पुर्न सुरु गरेका छन्। तीन दिनदेखि गिटी, बालुवा निकाल्न प्रयोग गरिने दैनिक आधा दर्जनको संख्यामा एक्जाभेटर र डोजर बगरमा बनाएका खाल्टा पुर्न र सम्याउन प्रयोग भइरहेका हुन्।

अझैं बगरमा ठूला खाल्डा

अनुगमन टोली आइपुगेपछि भने हतार-हतारमा मेशिन निकाल्नु परेकाले बगरमा कतिपय खाडल अहिले पनि जस्ताको त्यस्तै छन्। स्थानीय क्रसर उद्योगका ५ थान एक्साभेटरले बिहान ६ बजेदेखि १० बजेसम्म बगर पुर्ने र सम्याउने कार्य गरेका थिए।  

खोला बगरबाट जथाभावी खाल्टो खनेर गिटी बालुवा र ढुंगा निकाल्ने कार्य बढेको गुनासो आएपछि जिल्लाका सबै खोला बगरबाट उत्खनन कार्यमा रोक लगाएर अनुगमन थालेको जिल्ला समन्वय समितिले मंगलबार निजगढको बकैयालगायत जितपुर सिमरा उपमहानगरपाकिलाका विभिन्न खोलामा स्थलगत निरीक्षण गरेको थियो। 

‘जथाभावी खाडल पारेर नदीजन्य पदार्थ उत्खनन गरिएका नदी हेर्न गएका थियौं,’ अनुगमन समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भने, ‘तर पुरेर बकैया खोलामा सम्म परिएको रहेछ।’

उनले समितिको टोलीलाई जभाभावी नभएको भन्ने देखाउन रातारात खाल्टा पुर्ने कार्य भएको बताए।

‘अनुगमन टोली पुग्दा खोलाबाट मेशिन निकालिसकिएको थियो,’ उनले भने, ‘प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार ५ थान एक्जाभेटरले गिटी-बालुवा तानेर खाल्टो पुरेको पाइयो।’ उनले बगरका खाल्टा पुर्न कसले लगाएको थियो भन्ने बारेमा भने अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको पनि बताए। 

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले कार्यालयको निर्देशनमा क्रसर उद्योगको मेशिन प्रयोग गरेर खाल्टा पुर्ने काम भएको स्वीकार गरे। ‘मेयर सुरेश खनालसहित जनप्रतिनिधिको उपस्थितिमा बगरका खाल्टा पुर्न पत्राचार गरेका थियौं,’ प्रशासकीय अधिकृत ढकालले भने, ‘तर ढिला गरेर हतार-हतारमा आज मात्रै पुरेका रहेछन्।’ 

जिल्ला अनुगमन समितिले जथाभावी उत्खनन गर्ने व्यवसायी र स्थानीय तहमाथि पनि कारवाही गर्ने चेतावनी दिएपछि नगरपालिकाले व्यवसायीलाई कार्यालयमै बोलाएर गिटी बालुवा र ढुंगा निकाल्ने क्रममा बनेका बगरका खाल्टा पुर्न साताअघि निर्देशन दिएको थियो। 

जिससद्वारा उत्खननमा रोक

जिल्लाका खोला बगरबाट मापदण्डविपरित उत्खनन भइरहेको गुनासो बढेपछि अनुगमन समितिले अघिल्लो शुक्रबार तत्कालको लागि जिल्लाका सबै खोला बगरमा उत्खनन रोक लगाएर अनुगमन थालेको छ। 

अनुगमन कार्य जारी रहेको भन्दै प्रजिअ पोखरेलले रोक लगाइएको समयमा पनि उत्खनन मापदण्डविपरित काम भइरहेको बताए। उनले अनुगमन सकिएपछि सम्वन्धित स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई बोलाएर समितिले नियमअनुसार उत्खनन गर्न आवश्यक निर्देशन दिने तयारी गरेको पनि जानकारी दिए। 

जिल्लाको निजगढ र कोल्हवी नगरपालिकामा पर्ने बकैया तथा धन्सार र जितपुरसिमरा उपमहानगरपालिकाको पसाहा, दुधौरा र वालगंगा नदीमा मापदण्डविपरित उत्खनन हुँदै आएको छ। 

यस्तो छ मापदण्ड

नगरपालिकाले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदन (आइइइ) रिपोर्ट  घरेलु साधनको मात्र प्रयोग गरेर उत्खनन गर्नु पर्ने र त्यसमा पनि ३ फिट भन्दा बढी गहिराइमा खन्न नपाउने व्यवस्था गरेको छ। तर गिटी बालुको ठेक्का सकारेका व्यवसायीले ठूला उपकरणको प्रयोग गरेर मापदण्डाविपरित १० फिट र ४० मिटर चौडाइसम्मका ठूला-ठूला खाल्टा बनाएर बगरबाट ठूलो परिमाणमा गिटी, बालुवा र ढुंगा निकाल्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.