|

भद्रपुर : संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ्ग) काटेर परालको कुन्युमा जलाएर हत्या गरिएको झापाको बिर्तामोड घटना रहस्यमय बनेको छ।

जलाएर हत्या गरिएको शव पुरुषको खुले पनि प्रहरीको सूक्ष्म अनुसन्धानले उक्त शव भारत विहार राज्यस्थित अररिया घर भई हाल बिर्तामोड २ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय सुभान शेखको हुनुपर्ने आशंका गरेको छ।

‘अहिले सम्मको प्रहरी अनुसन्धानबाट जलाएर हत्या गरिएको शव भारतीय नागरिक शेखकै हुनुपर्ने आशंका गरेका छौँ,’ प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले भने, शवलाई पोस्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौँ, त्यहाँबाट चिकित्सकले रिपोर्ट पठाएपछि मात्र केही भन्न मिल्छ।’

प्रहरीका अनुसार शव पहिचानका लागि उनका श्रीमती शुष्मा शेखलगायतका परिवारजनका सदस्यसँग सोधपुछ गरिँदैछ। परिवारका सदस्यले प्रहरीलाई दिएको बयानअनुसार मृतकले लगाएको कपडा शेखकै हुनुपर्ने आशंका व्यक्त गरेका छन्। घटना रहस्यमय बन्दै गइरहेको अवस्थामा प्रहरीले त्यही बयानको आधारमा अनुसन्धानलाई तीव्र पारेको छ।

बिर्तामोड २ चारपाने निवासी ऐनकुमार राजवंशीको खेतमा राखेको पराल कुन्यूमा सोमबार बिहान ९ बजे जलेको अवस्थामा शव फेला परेको थियो। घटनास्थलनजिकै पुरुषको संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ्ग) काटेर फालिएको थियो। घटनाको प्रकृति हेर्दा हत्या गरी घटनालाई ढाकछोप गर्न शवलाई परालमा आगो लगाएर जलाइएको स्थानीय बताउँछन्।

यता, प्रहरीले शवको मुचुल्का उठाउनु अघि संघीय इकाई प्रहरी कार्यालय घरानबाट तालिम प्राप्त कुकुर झिकाएर घटनास्थलको अनुसन्धान गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। स्थानीय ऐनकुमारको खेतमा राखिएको परालमा सोमबार राति १२ बजेदेखि आगो लागेको थियो। ‘सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको हो, प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘घटनाको विषयमा अनुसन्धान हुँदैछ।’

सोधपुछका लागि तीनजनालाई नियन्त्रण

घटनापश्चात् चारपाने निवासी रहमान शेखका ज्वाइँ सुभान हराएको र नजिकै खेतमा पुरुषकै शव जलेको अवस्थामा फेला परेपछि प्रहरीले ससुरा रहमान, सासू रहाना शेखसहित उनकी श्रीमती शुष्मा शेखलाई मंगलबार नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएका तीनैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर सोधपुछका गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। ‘शुष्माका श्रीमान् हराउनु र परालमा जलेको अवस्थामा शव फेला पर्नुले पनि उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो,’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने। प्रहरीले सोधपुछपश्चात् उनीहरूलाई घर पठाइदिएको छ। 

अनैतिक सम्बन्धले घटना हुन सक्ने प्रहरीको आशंका

शवको पहिचान भए र मृतक सुभान नै रहेको पुष्टि भए, उनको जलाएर हत्या गरिएको रहस्यमय घटना अनैतिक सम्बन्धले जोडिएको हुन सक्ने अनुसन्धानमा खटिएका प्रहरीको अनुमान छ। 

मजदुर पेसा गर्दै आइरहेको सुभान ससुरालीमा बसेर परिवार पाल्दै आइरहेका थिए। केही महिनाअघि सुभान र सासू रहानाबीच घरयाशी विवाद भएपछि उनी ससुराली छाडेर एक्लै डेरा गरी बस्दै आइरहेका थिए। उनको एक छोरा र एक छोरी छन्।

'सुभानकै शव पुष्टि हुँदा उनको संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ्ग) काटेर फाल्नु अरू कुनै कारण नै हुनै सक्दै,’ प्रहरीले स्रोतले भन्यो, ‘घटना अनैतिक सम्बन्धले जोडिएको हुनुपर्छ, अन्य महिलासँग अनैतिक सम्बन्ध रहेको परिवारजनका सदस्यले थाहा पाएपछि हत्या घटनालाई सुनियोजित बनाइएको हुनुपर्छ।’

मजदुर गरी खाने व्यक्तिको अरू घटना परी हत्या हुनै नसक्ने प्रहरी स्रोतको भनाइ छ। ‘अहिले त्यही हुन सक्छ भन्ने आधार छैन, अनुसन्धानपछि घटना पक्कै खुल्छ,’ प्रहरी स्रोतले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.