|

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरमा राष्ट्रिय जनता पार्टी (राजपा)का महासचिव राजिव झा नै ठगिएका छन्। उनले छोरालाई लिएर उपचारका लागि अस्पताल पुग्दा डाक्टरले आफ्नो निजी क्लिनिकमा लगेर ठगी गरेको गुनासो गरेका हुन्।

नेता झाका १० वर्षीय छोरा आदित्यको घाँटीमा माछाको काँडा अड्किएलगत्तै छोरा आदित्यलाई लिएर उनले स्वास्थ्य परीक्षणका लागि मंगलवार प्रादेशक अस्पताल पुगे। अस्पतालको आक्समिक कक्षको पूर्जा लिई नाक कान तथा घाँटी विशेषज्ञ डा. अमियकुमार साहसँग परीक्षण गराए। डा. साहले इन्डोस्कोपीमार्फत घाँटीबाट काँडा निकाल्नुपर्छ भनेर डा. रामदेव चौधरीसँग सम्पर्क गर्न सुझाए।

नेता झा डा. चौधरीसँग सम्पर्क गरे। डा.चौधरीले मंगलबार दिउँसो ३ बजे आउनु भने। उनले छोरालाई लिएर दिउसो २:३० बजे नै पुनः अस्पताल पुगे। तर, डा. चौधरी भेटेनन्। पछि उनले फोन गरे। डा. चौधरीले आफ्नो निजी क्लिनिकमा बोलाए। क्लिनिकमा पुगेपछि उनको छोराको घाँटीबाट काँडा निकालियो। चार प्रकारको औषधि पनि लेख्यो । उपचारबापत डा. चौधरीले चार हजार रुपैयाँ लिए।

नेता झा भन्छन्, ‘चार प्रकारको औषधि लेखेपछि अन्य डाक्टरसँग सल्लाह गरेँ। तर, कसैले काँडा निकाल्दा त्यति औषधि खानु नपर्ने भनेका छन्। यसले डा. चौधरीले ठगी गरेको महसुस भयो।’ उनले ठगेका डा. चौधरीलाई कारबाही गर्न सामाजिक विकास मन्त्रालय, प्रशासन र अन्य सम्बन्धित निकायसँग माग गरेका छन्।

‘एक त अस्पतालको समयमा नीजि क्लिनिकमा उपचार गरी चर्को शुल्क असुलेको छ’, नेता झाले भने, ‘अर्को कुरा आफ्नो पसल चलाउन बिरामीलाई आवश्यकतै नभएको औषधि लेखेर ठग्दै आएका छन्।’

'ठग डाक्टरहरूले मजस्ता सचेत नागरिकलाई ठगी गरेको छ भने गाउँघरबाट आउने सोझासाझा, अनपढ, गरिबसँग कस्तो प्रकारको ठगी गरिरहेको छ भने सहजै अनुमान लगाउन सकिन्छ’, उनले थपे ।

चिकित्सा पेसालाई बदनाम गर्ने डा. चौधरीलगायतका ठगी गर्ने डाक्टरहरु"लाई उच्चस्तरीय छानबिन गरी कानुनको दायरामा ल्याउनुपर्ने नेता झाले माग गरेका छन्। ठग डाक्टरहरूको लाइसेन्स रद्द गरी हदैसम्मको कारवाही गर्नुपर्ने उनको भनाइ छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष संजय सिंह छन्। उनी राजपा कोटाबाटै अध्यक्ष बनेका हुन्। छोराको उपचार गराउन पुगेका राजपा महासचिव झा अध्यक्ष सिंहलाई भेटेरै सबै कुरा बताएका थिए। तर पनि उनले अस्पतालकै डाक्टरको निजी क्लिनिकमा उपचार गराउन जानु परेकोले अस्पतालमा कतिसम्म लापरबाही हुन्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ।

अचम्म त के भने अस्पताल अहिले प्रदेश सरकार मातहत आइसकेको छ। सामाजिक विकासमन्त्री पनि राजपाकै नवलकिशोर साह छन्। नेता झाले ठगी गरेका डा. चौधरीलाई कारबाहीका लागि पनि मन्त्रीसँग आग्रह गरेका छन्। तर, कारबाही हुनेमा शंका छ। किनकि यसअघि पनि अस्पतालका डाक्टरहरूले पटकपटक यस्ता लापरबाही गर्ने गरेका थिए, तर कारबाही हुँदैनथ्यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.