अभिभावकले निगरानी नगर्दा अपराध बढ्दै गएको दाबी

|

काठमाडौंः सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसबाट पीडित हुनेको संख्या पनि उत्तिकै देखिएको छ। सामाजिक सञ्जालमा सबैभन्दा बढी सक्रिय हुने युवा समूहकै व्यक्तिहरु सामाजिक सञ्जालको दुरुपोग हुँदा पीडित हुन पुगेका छन्। 

महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा सामाजिक सञ्जालका कारण पीडित भएर आउनेमा २० देखि ३० वर्ष उमेरका युवा युवती धेरै रहेका छन्। विद्युतीय अपराधमा संलग्‍न हुने धेरै पनि यही उमेर समूहका छन्। 

सामाजिक सञ्जालको दुरुपयोगबाट शिक्षित मानिस नै बढी पीडित हुने गरेको महाशाखाको तथ्यांकले देखाएको छ। 

पहिलेबाटे चिनिनराखेका, आफन्त र सामाजिक सञ्जालमार्फत परिचय भएकाहरुबाट पीडित हुने पनि उत्तिकै छन्। सामाजिक सञ्जालको दुरुपयोगले पीडित हुनेको संख्यामा एकल महिला पनि धेरै छन्। 

सामाजिक सञ्जाल फेसबुक, भाइबर, इमो, टवीटर र व्हाट्सएपबाट पीडित भएको भन्दै दैनिकजसो उजुरी आउने क्रममा झन् बढ्दै गएको महाननगरीय अपराध महाशाखाका एक अधिकारी बताउँछन्। 

सोमबार दिउँसो महानगरीय अपराध महाशाखामा गोंगबुका २४ वर्षीय युवा निवेदन पुगेका थिए। नाम नबताउने शर्तमा उनी भन्छन्,' फेसबुकमा नक्कली आइडी बनाएर मेरो व्यक्तिगत जीवनमा असर पर्ने गरी आफन्त र साथीहरुलाई म्यासेज गरेको भेटेँ। शरीरमा अन्य व्यक्तिको टाउको जोडेको फोटो साथीहरुलाई म्यासेज गरिरहेकाले तनावमा परेको छु।'

आफ्नो टाउकोमा अर्को मानिसको टाउको हालेको फोटो साथीहरुले पठाउन थालेपछि अप्ठयारो महसुस भएको उनले बताए। चिनेजानेको मानिसले यस्तो गरेको हुन सक्ने अनुमान उनले गरेका छन्। 

बानेश्‍वरमा बस्दै आएकी २८ वर्षीया युवती पनि त्यही बेला दिदीको छोराको साथीले भाइबरमा अश्लील चित्रको फोटो पठाएको भन्दै निवेदन लिएर पुगिन्। उनले भनिन्,' सुरुमा राम्रै बोल्यो तर बिस्तारै अश्लील शब्द प्रयोग गरी म्यासेज पठाउन थाल्यो। राम्रो कुरा लेखेर पठाऊ भन्दा झन् अश्लील फोटो पठायो।'

यसरी म्यासेज पठाउनेको खोजी गर्दै जाँदा छोराको साथी रहेको उनले बताइन्। उनका अनुसार पीडक युवक भारतमा बस्‍ने गर्ने गरेको छ। भाइबरमा नम्बर एड भएकोबारे उनी अनभिज्ञ छिन्। 

कोटेश्‍वर एकजना महिलाले गत असारमा सम्बन्धविच्छेद गरेकी थिइन्। तर उनी सामाजिक सञ्जालमा सक्रिय थिइन्। उनी पनि अश्लील फोटो र म्यासेजबाट पीडित हुन्। 'अश्लील फोटो र म्यासेजका कारण हिजोआज कम फेसबुक चलाउन थालेको छु,' उनले थाहाखबरसँग भनिन्।

विद्युतीय माध्यमबाट बढिरहेको अपराधमा संलग्‍नलाई कानुनी कारवाहीको दायरामा ल्याउने काममा आफूहरु सक्रिय रहेको महानगरीय अपराध महाशाखा प्रवक्ता मुकेशकुमार सिंह बताउँछन्। उनका अनुसार २० वर्षमाथिकाले धेरैजसो यस्तो अपराध गरिरहेका छन्। अरुलाई होच्याउने र नराम्रो देखाउने अभिप्रायले यस्तो गरेको हुन सक्ने उनको बुझाइ छ।

प्रविधिको विकाससँगै अपराधका घटना पनि बढिरहेको उनको भनाइ छ। अपराध महाशाखामा पीडितले दिएको उजुरीको आधारमा कारवाही पनि गरिएको उनले जानकारी दिए।

उनले भने,'सामाजिक सञ्जाल फेसबुकमार्फत मात्रै पहिले यस्ता घटना हुन्थे। अहिले सामाजिक सञ्जाल र च्याट एपको पनि दुरुपयोग बढेको', उनले भने, 'प्रयोगकर्ताको मनोविज्ञानमा सामाजिक सञ्जालले नराम्रो असर गरेको छ। त्यसैले पनि अवाञ्छित क्रियाकलापमा संलग्न भएका हुन सक्छन्।'

मनोपरामर्शदाता के भन्छन्?

किशोरवस्था सकिएपछि उमेरको परिवर्तनलाई आत्मसाथ गर्न नसक्दा अपराधका घटनामा संलग्न हुने गरेको मनोपरामर्शदाताको  भनाइ छ। नयाँ कुरा देख्दा त्यसलाई सहजै स्वीकार्न नसक्ने कारणले किशोरावस्था काटेका मानिस बढी अपराधिक क्रियाकलापमा संलग्न भएको मनोपरामर्शदाता अनन्त केसी बताउँछन्।

'सानो उमेरमा कतिपय वस्तुहरु उनीहरुको लागि प्रतिबन्ध हुन्छ', उनले भने, 'किशोरावास्थामा नपाएको कुरा सहजै प्राप्त गरेपछि समस्या भएको छ। न कुरा देखेर त्यसलाई सजिलै स्वीकार्न नसक्दा यो उमेरका मानिस बढी गलत बाटोमा लागेका देखिएको छ।'

पूर्वडिआइजी हेमन्त मल्ल यसो भन्छन्

सामाजिक सञ्जाल किशोरावस्थाका उमेरकाले बढी चलाउने गरे पनि तिनीहरुले सामान्य नियम नबुझ्दा समस्या हुने गरेको बताउँछन् पूर्वडिआइजी हेमन्त मल्ल। सामाजिक सञ्जालका नियमहरु बुझ्न नसक्दा विद्युतिय अपराधमा संलग्‍न हुने गरेको मल्लले बताए।

उनी आफ्ना सन्तानको गतिविधि अभिभावकले गम्भीरतापूर्वक निगरानी गर्नुपर्ने बताउँछन्। आवश्यकता भन्दा बढी स्वतन्त्रा, देखासिकी र जथाभावी इन्टरनेट चलाउँदा समस्या निम्तिएको उनी बताउँछन्। अभिभावकले छोराछोरीलाई नियमन गर्न नसक्दा पनि इन्टरनेटमार्फत अपराधका घटना बढिरहेको उनको ठम्याइ छ।

'काठमाडौंमा बढी आधुनिकताको आभास दिनेखालको वातावरण छ,' उनले भने,' यहाँ फेसनदेखि देखासिकी र भड्किलो हाउभाउले पनि प्रयोगकर्तालाई प्रभाव पारेको छ,' उनी भन्छन्। विशेषगरी प्रयोगकर्ताले कस्तो  म्यासेज पठाउँदा कानुन विपरीत हुन्छ भन्‍ने जानकारी नपाउँदा समस्या भइरहेको मल्लले बताए। 

सामाजिक सञ्जालको कम्युनिटी स्टान्डर्ड गाइडलाइनबारे पनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरु जागरुक हुनुपर्ने उनी बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.