|
फोटो साभारः thehimalayantimes.com

नेपाली चिकित्सा क्षेत्रमा विकृति अन्त्यका लागि त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसी पटक पटक अनसन बस्दै आएका छन्। उनले असार २६ गतेदेखि फेरि घोषणा गरेका छन्। मेडिकल शिक्षा सुधारका विषयमा केसीको आन्दोलनमा साथ दिनेको ठूलो समूह छ। तर यसवर्ष उनको मागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग थपिएपछि केसीले राजनीतिक माग पनि राख्न थालेको भन्ने आवाज उठेको छ।

त्यस्तै उनलाई शिक्षण अस्पतालमा अनसन बस्दा सेवा प्रभावित भएकाले त्यहाँ नबस्न पनि दबाब आउने गरेको छ। यस्ता बिभिन्न आरोप केसीमाथि पनि लाग्ने गरेका छन्। जुन आरोपको विषयमा थाहाखबरका लागि सविना खनालले केसीसँग जवाफ लिएकी छन्।

आरोप १ : चिकित्सा क्षेत्रको विकृतिको मुद्दा उठाएर अनसन बस्ने तपाईंले अख्तियार प्रमुखलाई महाअभियोग लगाउन माग गरेर राजनैतिक मुद्दा उठाउन थाल्नुभयो।

यो राजनीतिक मुद्दा होइन। अहिले हाम्रो ४ वटा माग छ। मिडियाले एउटा मागलाई मात्र कोट गरेर अरु मागलाई ओझेलमा पार्न खोजिरहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई महाअभियोगको माग राख्यो भन्ने मुद्दालाई मात्र अगाडि सारेको हुँदा अरु महत्वपुर्ण मुद्दा पछि परेको छ। ३ करोड नेपालीको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने मुद्दा पछि परिरहेको छ । 

स्वास्थ्य र चिकित्सा क्षेत्रमा लोकमानसिहं कार्कीले आफ्नो स्वार्थ र आफ्ना आसेपासे नातेदारको स्वार्थ सिद्धिको लागि गैर कानुनी तरिकाले हस्तक्षेप गरेको हुनाले हामीले यस कदम चालेका हौं। हामी सुधारको लागि लडिरहेका छौं। यो क्षेत्रको सुधार नै हुन नदिने, हस्तक्षेप गर्ने विथोल्ने कार्य भएकाले हामीले यो माग राखेका हौं।

यसमा लोकमानले हस्तक्षेप गर्नुले राजनीतिक भष्ट्रचार, अपराध, दन्डहिनता, माफियातन्त्र संस्थागत भइसकेको, सरकार निकम्मा भएको र भष्ट्रचारमा लिप्त भएको प्रमाणित गर्छ। लोकमानले आफ्नो तरिकाले अधिकार दुरुपयोग गरिरहेका छन्। अरु क्षेत्रमा पनि गैरकानुनी तरिकाले हस्तक्षेप गरेका छन्। हस्तक्षेप गरेर समान्तर सत्ता चलाइरहेका छन्। भष्ट्राचार न्युनीकरण गर्ने दायित्व बोकेको मान्छे आफै भष्ट्राचार र अधिकार दुरुपयोग गरिरहेका छन्।

आरोप २ :  एमबिबिएसमा भर्ना हुने बेलामा अनसन बसेर नेपालको चिकित्सा शिक्षा नराम्रो भन्ने सन्देश दिने र विद्यार्थी विदेश पठाउने गिरोहको चंगुलमा पर्नुभयो।  

मेडिकल कलेज खोल्नेहरु राजनीतिक दलका दलालहरु भएकाले यस्तो आरोप लागाइरहेका हुन्। म कुनै पनि दलालको पक्षमा संलग्न छैन। यिनिहरुले कहिले काठमाडौँमा भएका निजी मेडिकल कलेजसित मिलेर अनसन बसे भन्छन्, अहिले निजी मेडिकल कलेज आउन नदिएर अरुले फाइदा उठाए भन्ने दोषारोपण गरेका छन्। यो गलत हो। म गुणस्तरीय मेडिकल शिक्षाको लागि लडेको हो।

नेपालमा निजी मेडिकल कलेजमा शुल्क पनि महंगो छ। शिक्षा पनि गुणस्तरिय छैन यस्तो भएपछि विद्यार्थीहरु विदेश जाने भइहाले। निजी मेडिकल कलेजहरु कुनै न कुनै पार्टीको प्रश्रयमा चलाइरहेका छन् र विदेश विद्यार्थी पठाउनेहरु पनि तिनै पार्टीका दलालहरु छन्। यो सबै आरोप हामीले सुधारको लागि लडेको कार्यक्रमलाई बिथोल्नको लागि हो।

तर हामी जसले जे भने पनि यस्ता कुरा सुन्ने छैनौं। हाम्रो जे अभियान हो त्यस अभियान अगाडि बढाउँछौं। हामी ३ करोड नेपालीको हितको लागि लड्छौं र हाम्रो माग पुरा गरेरै छोड्छौं।

आरोप नम्बर ३ : नेपालमा मेडिकल कलेज खोल्न खोज्नेहरुलाई दिनुभएन। त्यही माग राखेर पटक पटक अनसन बस्नुभयो।

हामीले राखेको प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्छ भन्ने मागले मेडिकल पढ्ने विद्यार्थीले पढ्न पाउँछन्। निजी मेडिकल कलेज खोल्ने भए पनि खोल तर शहरमा होइन गाउँमा खोल। नेपालमा चाहिने भन्दा बढी निजी मेडिकल कलेज छन्।

वास्तवमा हुनुपर्ने सरकारी मेडिकल कलेज हो। विदेशमा हेर्ने हो भने पनि निजी मेडिकल कलेज भन्दा सरकारी मेडिकल कलेज धेरै हुन्छन्। नेपालमा सरकारी भन्दा ७/८ गुणा बढी निजी मेडिकल कलेज छन्। त्यो पनि शहरमा सीमित छ। यस्ता मेडिकल कलेज गाउँगाउँमा खोल्नुपर्छ। जसलाई सरकारले पनि सहयोग गर्नुपर्छ। 

नेपालमा ८० प्रतिशत मानिसहरु गाउँमा बस्छन्। ती ठाउँमा एउटा पनि मेडिकल कलेज छैन। शहरमा चाहिने भन्दा धेरै मेडिकल कलेज छ गाउँका मानिस उपचार नपाएर मर्ने अवस्था छ। हामीले निजी मेडिकल कलेज नखोल भनेका होइनौं। गाउँमा खोल भनेका हौं। जसमा पैसा हुनेले मात्र होइन गरिब हरुले पनि पढ्न पाउँछन्। 

हामीले विद्यार्गीले सस्तो शुल्कमा मेडिकल शिक्षा पाउन् भनेर ३५ लाखसम्म फि हुनुपर्ने, राम्रा विद्यार्थीले भर्नामा प्राथामिता पाउनुपर्ने, निर्धारित सिट संख्या हुनुपर्ने माग राख्यौं। यसमा सर्वोच्च अदालतले पनि फैसला गर्‍यो। हामीहरु चिकित्सा शिक्षाको नीति राम्रो बनोस् भनेर लडेका हौं। कुनै व्यक्ति सघं संस्थाको विरुद्ध होइन।

आरोप नम्बर ४ :  अघिल्ला अनसनहरुमा तपाईलाई साथ दिनेहरुले पनि यसपटक साथ दिएका छैनन्।

राजनीतिक भागबन्डाबाट नियुक्त भएर यस क्षेत्रलाई शोषण गर्ने र गरिखाने भाँडो बनाउनेहरुले साथ दिएका छैनन्। चिकित्सा शिक्षाको गुणतस्तरमा असर पार्ने खालका काम जस्तै परीक्षामा धाँदली गर्ने देखि पूर्वाधार नभएका निजी मेडिकल कलेजको सिट बढाउने काम गर्नेहरुलाई कारबाही हुनुपर्छ भनेर लड्यौं।

स्वास्थ्य शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कारबाहीको सिफारिस गर्दा पनि कारबाही भएको छैन। यिनीहरु सबै राजनीतिक दलका सेवक हुन्। उनीहरुलाई कारबाही नभएको अवस्था छ। 

आरोप नम्बर ५ :  शिक्षण अस्पतालभित्र अनसन बसेर अस्पतालाई धरासायी बनाउन खोज्नुभएको छ। 

म अस्पतालभित्रै अनसन बस्छु, किनभने म यहीँ काम गर्छु। यही देशको लागि, यही स्वास्थ्य नीति र स्वास्थ्य क्षेत्रको लागि लडिरहेको छु त म किन बाहिर जाने? यसपाली माफियाहरुको दबाबले म बाहिर गएर अनसन गर्दिन सुरुदेखि नै यहीँ बस्दै आएको छु। म कसैको दबाबमा पर्दिन। यो अनसन सफल गराएरै छाड्छु। ३ करोड नेपालीको स्वास्थ्यमा कसैले खेलवाड गर्न सक्दैनन् र यस्तो हुन दिँदैनन्। जसले जे जति दबाब दिए पनि हामी सफल बनाएरै छोड्छौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.