|
फोटो : नमिन ढकाल

  • नमिन ढकाल

इलाम : तपाईको एउटै ठाउँबाट कति देशको हिमाल देख्नुभएको छ? पक्कै पनि दुईभन्दा धेरै देशका हिमाल देख्नु भएको छैन।

नेपाल–भारत सिमाना इलामको सन्दकपुर आउनुभयो भने एकै ठाँउ उभिए तीन देशका हिमाल हेर्न सकिन्छ। यहाँबाट नेपाल, भारत र भूटानका ६० हिमचुचुरा एउटै स्थानबाट देख्न सकिन्छ।

इलामको उत्तरी क्षेत्र माबु–८ मा रहेको सन्दकपुर पुग्न कुनै सास्ती व्यहार्नुपर्दैन। आर्थिक दृष्टिले पनि सन्दकपुर यात्रा सस्तो र सुलभ छ। यो स्थान पुग्न इलाम सदरमुकामबाट ४५ कि.मी यात्रा गर्नुपर्छ। 

३ हजार ६ सय ३६ मिटर उचाइको सन्दकपुरबाट सर्वोच्च शिखर सगरमाथा, तेस्रो अग्लो शिखर कञ्चनजंघा,सिक्किमको पाण्डिम र भुटानको कुलाकाङ्ग्री हिमालसहित पूर्वी हिमशृंखलामा पर्ने साढे ६ हजार मिटर उचाइमाथिका अरु ५ दर्जन हिमचुचुरा छर्लङ्गै देखिन्छन्। हिमचुचुरा मात्र होइन सन्दकपुरबाट देखिने सुर्योदय र सुर्यास्तको दृश्यले पनि पर्यटकहरुलाई आर्कषित गर्ने गरेको छ।

भारतको सिंहलिला नेसनल पार्कसँग जोडिएको सन्दकपुरबाट पश्चिम उत्तरतिर ल्होत्से, मकालु, कुम्भकर्ण हिमाल नजिकै देखिन्छन्। ठ्याक्कै उत्तरतिर फर्किंदा सिक्किमका पाहुन्द्री, सिनोल्चु र जोङसङ हिमाल झन् नजिक लाग्छन्। हल्का पूर्व हेर्दा भुटानका कुलाकाङ्ग्री र जोमलरीसहित एक दर्जन हिमचुचुरा देखिन्छन्। मौसम खुलेका बेला सगरमाथादेखि कुलाकाङ्ग्रीसम्मका हिमचुचुरा एउटै रेञ्जमा देख्न सकिन्छ। 

नेपालको बाटो विव्ल्याटे, माबु हुदै सन्दकपुर ल्यान्डरोभर गाडीमा पुग्न सकिन्छ। भारतको मानेभञ्ज्याङ– तुम्लिङ– कालपोखरी हुदै तेश्रो देशका पर्यटकहरु सन्दकपुर पुग्ने गरेका छन्। पर्यटकहरुको सुविधाको लागी भनेर दोबाटे र कालपोखरीमा होटल र होमस्टे समेत संचालन गरिएको छ।  दोबाटे नजिकको २७९० मिटरको उचाइमा रहेको वनमा विश्वमा नै लोपोन्मुख मानिएको रेडपाण्डा (हाव्रे) देख्न सकिन्छ।

नेपालीले बुझेनन् महत्व

विदेशी पर्यटक माझ सन्दफुको नामले परिचित सन्दकपुरबाट तीन देश (नेपाल, भारत, भुटान) का हिमाल ६० वटाभन्दा बढी हिमाल देख्न सकिने कुरा धेरै नेपालीलाई थाहा छैन्।

पर्यटक लिएर आउने सीमित भारतीय गाइड, भरिया, होटल र यातायात व्यवसायीलाई मात्रै सन्दकपुर धेरैभन्दा धेरै हिमचुचुरा चिहाउने एकमात्र गन्तव्य हो भन्ने जानकारी छ। उनीहरुकै कारण दार्जि्लिङले बढीभन्दा बढी पर्यटक पठाएर सन्दकपुरबाट मनग्गे लाभ लिइरहेको छ। ’नजिकको तीर्थ हेला’ भनेझैं नेपालले भने पत्तै पाएको छैन्। 

यहाँ नेपाली भूभागमा कम होटल छन्। भारतीय भूभागमा धेरै होटल छन्। भारतीय टुरिस्ट गाइड सधैं व्यस्त हुन्छन्। कमैमात्र नेपाली भ्रमणमा आउने भएका कारण नेपालका टुर गाइडहरु कमैमात्र छन्। इलाम–दार्जि्लिङ सीमामा रहेको सन्दकपुरमा नेपालतर्फ व्यवस्थित २ वटा होटल छन् भने पाँचथरको सिदिनमा होमस्टेको प्रयास थालिएको छ। सन्दकपुरको पर्यटन प्रर्वद्धनका लागी भने सरकारी उपस्थिती शुन्य छ।

भारततर्फ पश्चिम बंगाल सरकार मातहतका आधा दर्जन कार्यालयका अतिरिक्त पर्यटकलाई आवासगृह, होटलसमेत छन्। नेपाली भूभागको बाटोसमेत चुस्त नभएका कारण अधिकांश नेपालीहरु समेत भारतीय बाटो हुँदै सन्दकपुरसम्म पुग्न बाध्य छन्।

माइखोलाको शिर सन्दकपुरबाट हिमचुचुराका अतिरिक्त पूर्वी पहाडका सबैजसो जिल्ला, तीर्थस्थल, तराईको समथर फाँट र सिलिगुडी, बागडुंग्रा, दार्जि्लिङ, सिक्किम र भुटानको भूभागसमेत देखिन्छन्।

भारतीय पर्यटकहरुको घुँइचो
नेपाल भारत सिमाना भएकाले भारतीय पर्यटकहरुको आगमन उच्च रहने गर्दछ। भारतस्य पर्यटकहरुको ट्रेकिङको लागी सिम्लापछिको उत्कृष्ट गन्तव्य सन्दकपुर रहेको टुर गाइडहरु बताउँछन्। तेश्रो देशका पर्यटकहरु क्याम्फायर गर्दै सन्दकपुर– नेपाल–भारत सिमाना फालौट–पाँचथरको तिम्बुुङपोखरी हुदै कञ्चनजंघा आधार शिविरसम्म पैदल यात्रा गर्ने गर्दछन्।

भारत सरकारले आफना ट्रेकिङ गर्न चाहने नागरिकहरुको लागि शितकालिन क्याम्पहरुको आयोजना समेत गरिदिदैँ आएको कालपोखरीका होटल संचालक पेम्बा शेर्पाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.