म्याद सकियो, अहिलेसम्म जम्मा ३५ प्रतिशत काम

|

गोरखा : २०७४ कार्तिक महिनामा लागेको ठेक्का सम्झाैताअनुसार काम भएको भए भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार पुनर्निर्माणको यतिखेर सम्पन्न भइसक्नुपर्ने हो। तर ठेकका अवधिको म्याद सकिइसक्दा यो दरबार पुनर्निर्माणको जम्माजम्मी ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

दुई बर्षभित्रै निर्माण सम्पन्न गर्छु भन्दै २०७४ कार्तिकमा ठेक्का सम्झौता गरेको पचली सिवाको जेभी कन्सट्रक्सनले समयमै काम नगर्दा अहिलेसम्म दरबार पुनर्निर्माण हुन नसकेको हो।

पचली सिवाको जेभी कन्सट्रक्सनले पुरातत्व विभागसँग गरेको ठेक्का सम्झौता अनुसार २०७६ मङ्सिर मसान्तसम्ममा दरबार पुनर्निर्माण गरिसक्नुपर्ने थियो। तर, तोकिएको म्याद सकिएको साँढे एक महिना बितिसक्दा समेत ठेकेदारले करिब ३५ प्रतिशत मात्रै काम सकेको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ। कन्सट्रक्सनले कुल ४ करोड ३५ लाख रुपैँया लागतमा दरबार पुनर्निर्माणको जिम्मा लिएको थियो।

कामचोर ठेकेदारलाई कारवाहीको सट्टा म्याद थप

ठेक्का सम्झौता अनुसार तोकिएको समयमा निर्माणस्थलमा काम गर्न आक्कलझुक्कल मात्रै झुल्किने गरेका ‘पचली’ का ठेकेदार र कामदारले समयमै  काम सम्पन्न गर्न सकेनन्। तर, समयमा नै काम नसक्ने कामचोर ठेकेदारलाई कारबाही गर्नुको साटो उल्टै ६ महिना म्याद थप गरिएको छ।

निर्माण सम्पन्न गरिसक्नु पर्ने समयावधीभित्र ३५ प्रतिशत मात्रै काम सम्पन्न गर्ने ठेकेदारलाई पुरातत्व विभागले गत पुस ४ गते आउँदो जेठ मसान्तसम्मका लागि म्याद थप गरिदिएको हो।

म्याद थप भएपछि ठेकेदार र कामदार नै ‘गायब’

थपिएको म्याद सकिन अब ६ महिना मात्रै बाँकी छ। तर, हालसम्म ठेकेदारले पुनर्निर्माणको काम अघि नबढाएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले बताए।

‘म्याद थप हुनुअघि ठेकेदार र कर्मचारीहरु आक्कलझुक्कल काम गर्न आएको देखिन्थ्यो’, दरबार हेरचाह अड्डाका एक कर्मचारीले थाहा खबरसँग भने, ‘तर, म्याद थपिएपछि त कता हराए कुन्‍नि ! एक दिन पनि काममा लागेको देखेका छैनौँ।’

म्याद थपेपछि पनि ठेकेदारले काम गरेन, १५ दिनभित्र स्पष्टीकरण माग

म्याद थप भएपनि ठेकेदारले दरबार पुनर्निर्माण काम अघि नबढाएपछि सम्झौता अनुसार काम नभएको भन्दै पुरातत्व विभागले १५ दिने स्पष्टिकरण माग गरेको छ। गत ९ गते सार्वजनिक सूचना जारी गर्दै विभागले १५ दिनभित्र ठेकेदार स्वंय उपस्थित भई लिखित स्पष्टीकरण दिनुपर्ने माग गरेको हो।

‘तोकिएको समयमा काम नसकेपनि म्याद थप भयो, तर म्याद थप भएको महिना दिनसम्म ठेकेदार र कर्मचारीहरु निर्माण स्थलमा पुगेनन्, काम नै गरेनन् भन्ने सुन्यौं,’ पुरातत्व विभागकी पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले भनिन्, ‘त्यसपछि हामीले पाँच दिनभित्र कार्यालयको सम्पर्कमा आउन भन्दै गत माघ ३ गते ठेकेदारलाई पत्राचार गर्‍यौँ। तर, सम्पर्कमा आएनन्‌ऽ त्यसैले सार्वजनिक सूचना जारी गरेर १५ दिने स्पष्टिकरण माग गर्न बाध्य भयौँ।’

'तोकिएको म्याद भित्र काम सम्पन्न गर्ने अवस्थासमेत नदेखिएकाले सार्वजनिक ऐन २०६३ को दफा ५९ को उपदफा ७ अनुसार खरिद सम्झौता खारेज गर्नु नपर्नाको उचित कारण भए १५ दिनभित्र स्वयं उपस्थित भइ लिखित स्पष्टिकरण दिनुहोला, अन्यथा नियमानुसार करार सम्झौता अन्तको कारवाही अगाडि बढाइने छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ। 

आज विभागको सम्पर्कमा नगए कारवाही !

ठेकेदारसँग विभागले माग गरेको १५ दिने स्पष्टिकरणको समयसीमा आज सकिँदैछ। तर, अहिलेसम्म विभागको सम्पर्कमा ठेकेदार नआएको विभागकी पुरातत्व अधिकृत भण्डारीले जानकारी दिइन्‌। 

‘कामको जिम्मा लिएर विभिन्न वहाना बनाउँदै समयमै काम नसक्ने, निर्माण स्थलमा कामदार नपठाउने अनि ठेकेदार विभागको सम्पर्कमा नआउने हर्कत भयो,' उनले भनिन्, ‘आज हामीले माग गरेको १५ दिने स्पष्टिकरणको समयसीमा सकिन्छ, कार्यालय समयभित्र हाम्रो सम्पर्कमा आएर चित्तबुझ्दो स्पष्टिकरण नदिए स्वत: कारवाही गर्नेछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.