दुई दिनयता तीनजना शंकास्पद बिरामी भेटिए

|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थस्थिल हेल्थ डेस्कमा जडान गरेको थर्मल स्क्यानर ११ दिनमै बिग्रिएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि विश्व स्वाथ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमानस्थलमा स्क्यानर जडान गरेको थियो।

हेल्थ डेस्कमा जडान गरिएको दुइटामध्ये एउटा स्क्यानरले गत सोमबारदेखि नै काम गर्न छाडेको विमानस्थल स्रोतले बताएको छ। 'दुइटा जडान गरिएको थर्मल स्क्यानरमध्ये एउटा बिग्रएपछि हाल एउटा स्क्यानर मेसिनले मात्र काम चलाइएको छ।  'दुईमध्ये एउटा स्क्यानर बिग्रिएपछि अहिले एउटा मेसिनबाट मात्र काम चलाइएको छ,' स्रोतले भन्यो, 'अहिल हवाई यात्रुलाई एउटा स्क्यानरबाट जाँच गर्नुपर्ने बाध्यता छ।'

चीनमा कोरोना भाइरसको प्रकोप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १० माघदेखि विमानस्थल हेल्थ डेस्कमा दुइटा थर्मल स्क्यानर मेसिन जडान गरेको थियो। विश्व स्वास्थ्य संगठनको समन्वयमा आएको सो मेसिन नयाँ भने होइन।

यता, विमानस्थल स्रोतका अनुसार स्वास्थ्य मन्त्रालय र डव्लुएचओले चीनमा रहेका नेपालीलाई उद्धार गर्न जाने विमानका पाइलट तथा क्रुय मेम्बरलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टको प्रयोग गर्ने तरिका सिकाउने योजनाअघि सारेको छ। नागरिक उड्यन प्राधिकरणको समन्वयमा चीन प्रस्थान गर्ने पाइलट तथा अन्य सदस्यलाई सुरक्षित पोशाक लगाउने तरिका सिकाउने योजना अघि सारेको हो।

केही दिनअघिसम्म चारजना कर्मचारीले धानेको हेल्थ डेस्कमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी थपेको छ। स्रोतका अनुसार अहिले हेल्थ डेस्कमा सातजना डाक्टर, तीनजना नर्स र तीनजना प्यारामेडिक्स कार्यरत छन्। यस्तै, केही एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ।

तीनजना शंकास्पद बिरामी भेटिए

विमानस्थल स्रोतका अनुसार बुधबार एकजना र बिहीबार दुईजना गरी तीनजना  शंकास्पद बिरामी भेटिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिफर गरिएको छ।

'हिजो र अस्ती चीन हुँदै नेपाल भित्रिएका तीनजना शंकास्पद बिरामीलाई टेकु अस्पताल रिफर गरिएको छ,' विमानस्थल स्रोतले भन्यो, 'परीक्षणमा उनीहरूलाई ज्वरोसहित खोकी लागेको भेटियो। त्यसपछि हामीले एम्बुलेसमार्फत टेकु अस्पताल पठाएका हौँ।'

दुई हजारलाई परीक्षण गर्न मिल्ने किट किन्दै सरकार

कोरोना भाइसरको जोखिम बढ्दै गएपछि र चीनमा रहेका नेपालीलाई ल्याउने तयारी अघि सारेपछि सरकारले दुई हजार जनामा कोरोना भाइरस परीक्षण गर्ने र स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गर्न सामग्री खरिद गर्ने भएको छ। मन्त्रालय त्यसका लागि फास्ट ट्रयाकबाट खरिदका लागि प्रस्तावको तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

उक्त प्रस्ताव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तयार पारेर स्वास्थ्य मन्त्रालयमा स्वीकृतीका लागि पठाएको हो। अब स्वास्थ्य मन्त्रालयले उक्त प्रस्ताव अर्थमा स्वीकृतीका लागि पठाउने तयारी गरेको छ। चीनमा रहेका १८० जना नेपालीलाई उद्धार गर्ने तयारीमा सरकार जुटेपछि स्वास्थ्य मन्त्रालयले दुई हजार जनालाई पुग्ने परीक्षण सामग्री खरिद पक्रिया अघि बढाएको हो।

सो सामग्री खरिदका लागि ८६ लाख ८० हजार रुपैयाँ लाग्ने प्रस्ताव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको छ। आवश्यक बजेटका लागि स्वास्थ्यले अर्थ मन्त्रालयसमक्ष आपतकालीन प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको हो। यसअघि कोरोना परीक्षणका लागि चाहिने सामग्री नेपाल सरकारसँग नभएका कारण सिएमडिएन भन्ने संस्थाले दुई सयजनालाई पुग्ने सामग्री उपलब्ध गराएको थियो।

हालसम्म सरकारी रेकर्डअनुसार चीनबाट स्वदेश फर्किएका १४ जनाको कोरोना परीक्षणमा नमुना परीक्षण गरिएको थियो। उनीहरूमध्ये एकजनामा मात्रै कोरोनाको जिवाणु फेला परेको मन्त्रालयले जनाएको छ। सरकारले हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै ४३ शैय्या आइसोलेसन वार्डसमेत तयार पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.