‘कोरोना’ भारइरसकै चर्चा

|

पाल्पा : तानसेन नगरपालिकाको सभाहल। जुन हलको व्यवस्थापकीय चाँजोपाँजो निकै मेहनतका मिलाइएको पाइन्थ्यो। अगाडितर्फको स्टेजमा तीनवटा कुर्सीसहित टेबल राखिएको थियो। हेर्दा सबैभन्दा अगाडि एउटा कुर्सी र टेबल थियो। त्यसको अगाडिपट्टी राष्ट्रिय झण्डासहित दुइटा झण्डा राखिएको थियो। अगाडिको टेबलमा सभाध्यक्ष लेखेको नेमप्लेट थियो। त्यसको दायाँबायाँ पछाडि रहेका टेबलमा उपप्रमुख र सचिव लेखिएका नेमप्लेट थियो।

सभाध्यक्षको कुर्सीमा नगरप्रमुख अशोक कुमार शाही, उपप्रमुखको कुर्सीमा उपप्रमुख लक्ष्मी पाठक र सचिवको कुर्सीमा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज वेलवासे बस्ने छन्।

यता, दर्शक रोहमा भने सभाषद, पत्रकार र पर्यवेक्षक बस्ने व्यवस्था रहेको थियो। सभाध्यक्षको बायाँतर्फ सचिवालयसमेत खडा गरिएको दृष्य थियो। तर केही कर्मचारीले कार्यालय पोषाक लगाएका थिएनन्।

जसले गर्दा सभाको गरिमा ओझपूर्ण देखिएन्। हलमा रहेका तीनवटा गेटमा नगरप्रहरी उभिएका थिए। पछाडितर्फको रोहमा पत्रकार र पर्यवेक्षकलाई बस्ने व्यवस्था मिलाइएको थियो। तानसेन नरपालिकाको छैठौँ नगरसभा सञ्चालनको गर्नको लागि यसरी तयारी गरिएको हो।

दिउँसो एक बजेदेखि नगरसभा प्रारम्भ हुने कार्यसूची थियो। १२:५५ को समयमा सबै सहभागी भित्र जानुपर्ने समय तोकिएको थियो। तर, नगरसभामा जानको लागि भने नगरपालिकाबाट प्राप्त प्रवेश अनुमतिपत्र अनिवार्य देखाउनु पर्दथ्यो। 

निर्धारित समयमा लगभग सबै सहभागी पुगिसकेका थिए। अन्तिम जनाउ घण्टीसँगै सभाध्यक्षको भूमिकामा नगर प्रमुख अशोककुमार शाही सभाहलमा प्रवेश गरे। र गेट बन्द गरिएलगत्तै राष्ट्रिय गाना बज्यो। सबैजना त्यसैमा सरिक भए। त्यसपछि सभाध्यक्ष आफैँले ज्ञातअज्ञात शहीदहरूप्रति एक मिनेट मौन धारणमा सहभागी हुन अनुरोध गरे।

‘नेपालको संविधान २०७२ को भाग १८ मा स्थानीय व्यवस्थापिकाको बारेमा उल्लेख भएबमोजिम संविधानको धारा २२४ मा नगर प्रमुख सभामुख बनेर संवैधानिक व्यवस्थाअनुरूप यो सम्मानित सभाको अध्यक्षता गर्दै छैठौँ नगरसभाको पहिलो बैठक भएको घोषणा गर्दछु’ नगर प्रमुख शाहीले भने। उनले यसो भनेपछि अगाडितर्फ रहेका सभासादले पररर... ताली पिटे।

‘आदरणीय सभासादहरू नेपालको संविधान २०७२ को धारा २२३ मा व्यवस्था भएको नगरसभाको बैठक स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १९ उपदफा ३ बमोजिम छैठौँ नगरसभाको समय तय गरिएअनुसार नगरसभाका सम्पूर्ण सदस्यज्यूहरुलाई सभा तोकिएको समयसिमा भित्र उपस्थितिको लागि सूचित गर्दछु’ सभामुखको शैलीमा उनले भने ‘नेपालको संविधानले परिकल्पना गरेअनुसार नेपाल नयाँ संरचनामा प्रवेश गरेको छ। मौलिक अधिकार जनतासमक्ष पुर्‍याउनको निम्ति स्थानीय सरकारको अवधारणा आएको हो।’ जनताले पाउने सेवासुविधा जनप्रतिनिधिले जनताको घरघरमा लैजानु पर्ने उनको भनाइ छ।

वर्षमा तीनपटक बस्नुपर्ने बैठक तथा सभाअन्तर्गत हिउँदे अधिवेशन गर्नु परेको उनले बताए। यो अधिवेशनमा विधेयकसम्बन्धी निणायर्थ छलफल गर्ने, आवश्यक संशोधनका प्रस्तावहरूमाथि छलफल हुने छ नगर प्रमुख शाहीले जानकारी दिए।

विशेष समय र शून्य समयको समेत सभामा व्यवस्था गरिएको छ। कार्यसूचीमा प्रवेश गरेलगत्तै प्रथम बैठकको विशेष समयमा सभासदले भनाइ राख्ने क्रम सुरु भयो। सभासदलाई बोल्ने समय पाँच मिनेट तोकिएको थियो।

विशेष समयमा बोल्दै नगर सभासद सुरेश कोइरालाले विद्यालयमा बजेट कम विनियोजन हुने गरेको, तानसेनको पर्यटकीय विकासलाई प्रभावकारी बनाउन नसकिएको, समयमै उपभोक्ताले काम गरेअनुसार बजेट पाउन नसकेकोजस्ता गुनासा राखेका थिए।

यस्तै, विशेष समयमा भनाइ राखेका सभासद प्रेम मल्लले अहिले महामारीको रुपमा चिनमा फैलिएको ‘कोरोना’ भाइरसबारे नगरभित्र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

'बिरामी भएसकेपछि उपचार हैन्' उनले भने 'वडा वडामा पुगेर ‘कोरोना’ भाइरसबाट कसरी बच्न सकिन्छ भन्नेबारे स्वास्थ्य सचेतनामूलक कार्यक्रम गर्नुपर्छ।' यसतर्फ नगरसभाको ध्यान जान जरुरी छ। यहाँ चिनिया पयर्टक आउने हुँदा यसको खतरा रहेको उनको ठम्याइ थियो।

सभामा पाँचजना सभासदले पाँच महिनाको प्रगतिबारे समीक्षात्मक सुझाव सल्लाह दिनुका साथै टिप्पणी समेत गरेका थिए। उनीहरूले प्रभावकारी रूपमा बजेट कार्यान्वयन तथा कार्यक्रम संचालन हुन नसकेको बताए। सभासदले योजना संशोधन प्रस्तावसमेत प्रस्तुत गरेका थिए।

सभाले तानसेन नगपालिका प्रवक्ता दामोदरप्रसाद घिमिरेले पेस गरेको आर्थिक वर्ष २०७६/७७ को समीक्षा एवं चालु आर्थिक वर्षको संशोधित नीति तथा कार्यक्रम सभासदबाट प्राप्त सुझावसमेत समावेश गर्ने गरी सर्वसम्मतीबाट पारित गरेको छ।

यस्तै, तानसेन नगरपालिकाको कार्यक्रम सञ्चालको लागि खर्चको मापदण्डसम्बन्धी निर्देशिका २०७४ को दोस्रो संशोधनको लागि पेस भएको संशोधन विधेयकलाई कार्यसूचीबाट हटाइ दफाबार छलफलका लागि विद्यायन समितिमा पठाउने निर्णय गरेको छ।

सभामा विधयकहरू लक्ष्मी पाठकले विनियोजन विधेयक, रामबहादुर रावलले सार्वजनिक निजी साझेदारी विधेयक, लोचनप्रसाद तिमिल्सिनाले नगर शिक्षा ऐन, शशी श्रेष्ठले न्यायिक कार्यविधि, मैयादेवी घिमिरेले नगरप्रहरी गठन, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको नगर प्रहरी विधेयक र दीपक विश्वकर्माले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन विधेयक नगरसभामा प्रस्तुत गरेका थिए।

प्रस्तुत विधेयक तथा प्रस्तावहरू उपर दफावर छलफल, विचार मन्थन तथा अध्ययनका लागि समय दिँदै सभा यहि माघ २६ गते ११ बजेसम्मका लागि स्थगन गरिएको प्रवक्ता दामोदर घिमिरेले बताए। तानसेन नगरपालिमा कुल ७२ जना सभासद रहेका छन्।

लोकतान्त्रिक पद्दतिको परिपालना गरेर संसदीय अभ्यासबाट सञ्चालन गरिएको नगरसभाले विकास र जनताको सेवा सुविधाका कामहरू प्रभावकारी हुने नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.