बिभिन्न कारणले घर बाहिर रहँदा छुटेको दावी

|

दमक : भुटानी शरणार्थीहरुले रासन कटौती भएसंगै आन्दोलन गरिरहेका बेला दर्ताविहीन शरणार्थीहरुले समेत आन्दोलन थालेका छन्।

सम्बन्धित निकायलाई पटक–पटक आफ्ना माग राख्दा समेत सुनुवाई नभएको भन्दै दर्ता विहीन भूटानी शरणार्थीले वेलडाँगी शरणार्थी शिविर क्याम्प व्यवस्थापन समिति अगाडि धर्नामा बसेका छन्।

१६ सय ४१ जना दर्ता विहीन शरणार्थीहरुले यसअघि पनि बिभिन्न समयमा शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए। सन् २००७, २००८ र २०१२ को दर्ता प्रक्रियाका बेलामा पढाई र कामको सिलसिलामा बाहिर रहेका कारण आफूहरु छुटेको उनीहरुको भनाइ छ। क्याम्प ब्यवस्थापन समितिमा जानकारी गराएरै जाँदा समेत दर्ता हुनबाट छुटेको उनीहरु दुखेसो पोख्छन्।

क्याम्प व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा पटक पटक निवेदन दिदा समेत दर्ताको प्रक्रिया अघि नबढाएको आन्दोलन समिति संयोजक सनमाया गुरुङले बताइन्। उनले भनिन्,‘ हामीले हाम्रो अधिकार शन्तिपूर्ण तवरबाट नै खोज्छौँ, जहाँसम्म पुग्दा भेटिन्छ त्यहीँसम्म पुग्छौँ।’

शरणार्थी  सम्बन्धि काम गर्ने बिभिन्न संस्थाहरुले आफूहरुलाई नक्कली शरणार्थी भनेको भन्दै उनले अपति जनाइन्। उनले भनिन्,‘कोही कोही त्यस्तो पनि हुन सक्छन्, तर छानविन गर्ने काम उनीहरुको हो, यसरी दर्तानै बन्द गर्न पाइदैन, साँच्चिकै भूटानीहरु मारमा परेका छन्।’

यस्तै झापाको गोलधापमा रहँदा १२ वर्ष शिविरमा बसेकी ७० वर्षीया रुपमणि न्यौपानेले क्याम्प व्यवस्थापन समितिमा नै जानकारी गराएर हरिद्वार गएर ६ वर्ष बसिन्। त्यतिबेला उनका छोरा पढ्न बाहिर गएका थिए। आफ्ना सबै परिवार विदेश गएको थाहा पाएर उनी क्याम्पमा आइन् तर शिविरमा आउँदा बेसहारा बन्न पुगिन्। उनले भनिन्,‘ म हरिद्वारबाट आउँदा छोरो पनि अमेरिका गएको रहेछ, अहिले म एक्लै छु, शरणार्थीको परिचयपत्र पनि पाएको छैन, अरुले पाउने रासन पनि पाउन सकेको छैन, काम पनि गर्न सक्दिन।’

उनलाई अहिले एक्लै भएको देखेर छविलाल मिश्रले हेरचाह गरिरहेका छन्। हरिद्वार जाँदा समेत क्याम्पमा जानकारी गराएको उनी बताउँछिन्। तेश्रो मुलुक पुनर्बास भएकाको खाली घरमा उनी बस्दै आएकी छिन्।

दर्ता नभएका शरणार्थी बिभिन्न दातृ निकायबाट पाउने सेवा सुबिधाबाट समेत बञ्चित भएका छन्। विविध कारणले दर्ता छुटेकाहरुको अहिले पारिवारिक वियोगमा समेत रहेका छन्। परिवारका सदस्यमध्ये आधा तेश्रो मुलुक छन् भने आधा शरणार्थी शिविरमा छन्।

तेश्रो मुलुकबाट आफन्तले पठाएको पैसा झिक्न समेत परिचयपत्र नहुँदा गाह्रो भएको वेलडाँगी शिविर सेक्टर वी ४ छाप्रो नम्बर ६४ मा बस्दै आएका सूर्य तामाङ बताउँछन्। उनी भन्छन्,‘यहाँ काम गरी खाने ठाउँ पनि छैन संघ संस्थाले पनि हेर्दैन, आफन्तले पठाएको पैसा समेत निकाल्न मिल्दैन, अर्काको परिचयपत्रले कतिन्जेल निकाल्ने?’

आफूहरुलाई मानव समाजकोबीचमा मानिस भएर बाँच्ने आधार चाहिएको सेक्टर डी १ छाप्रो नम्बर १९ मा बस्दै आएका ओमप्रकाश सापकोटा बताउँछन्। उनी भन्छन्,‘ हाम्रो पनि मानव भएर बाँच्ने अधिकार छ भने यथासिघ्र हामीलाई परिचयपत्र उपलब्ध गराउनुपर्छ।’ उनका परिवारका सदस्यमध्ये आफूमात्र नेपालमा रहेको उनी बताउँछन्। सापकोटा भन्छन्,‘ म पढ्न भनेर बनारस गएको थिएँ मेरो दर्ता भएन, मेरे परिवार सबै अमेरिकामा हुनुहुन्छ, अहिले म एक्लै यहाँ छु।’

आफ्ना आधा परिवार तेश्रो मुलुक पुनर्बास भएसंगै पारिवारिक वियोगले कतिपय भुटानी शरणार्थीमा मानसिक रोगको लक्षण समेत देखिएको छ। यता प्रशासनले भने तत्काल दर्ता प्रक्रिया खुल्न नसक्ने बताएको छ।

शरणार्थी समन्वय इकाई निर्देशक समेत रहेका झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले पटक–पटक दर्ता गर्दा पनि प्रक्रियामा नआएकाले तत्काल दर्ता हुन नसक्ने बताए। उनले भने,‘ तीन पटकसम्म छुटेकालाई दर्ता गर्‍यौं त्यतिखेर करिब दुईसयको हाराहारीमा मात्र छुटेका थिए, अहिले १६ सय नाघेका छन्, त्यसैले अहिले दर्ता सम्भव छैन, यस विषयमा थप छलफल भइरहेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.