गोरखा : भुकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा शुक्रबार प्याराग्लाईडिङ परीक्षण उडान गरिएको छ। पोखरामा प्याराग्लाईडिङ गर्दै आएका पाइलटसँगको सहकार्यमा बारपाकका युवाहरुले परीक्षण उडान गरेका स्थानीय खुशी घलेले जानकारी दिए।
दुईवटा टोली करिब ३० मिनेटसम्म परीक्षण उडान भरेका थिए। ‘मम्चे डाँडादेखि प्याराग्लाईडिङमा दुई/दुई जनाको समुहमा उडेका थिए’, घलेले भने, ‘उनीहरु बारपाक वडा नम्बर १ स्थित बारीमा अवतरण भएका थिए।’
आधा घण्टासम्म आकासमा सयर गर्दा बारपाकका धेरै घर, रमणीय दृष्य, आसपासका डाँडाकाँडा र हिमालको दृष्य देखिएकाले प्याराग्लाइडिङ उडानका लागि बारपाक अति उत्तम रहेको निश्कर्ष टोलीको रहेको घले बताउँछन्। ‘बारपाकमा प्याराग्लाइडिङ एकदमै सुरक्षित छ’, उनले भने।
आउँदो फागुन १० गते पृथ्वी क्लव गोरखाले आयोजना गर्न लागेको गोरखादेखि बारपाकसम्मको मोटरसाईकल र्यालीको अवसर पारेर उक्त दिन पनि प्याराग्लाइडिङ गर्ने योजना रहेको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।