|

ओखलढुंगा : ओखलढुंगा, सिन्धुली र रामेछापका विभिन्न स्थानबाट अध्ययन गर्न सिन्धुलीको गोलन्जोरमा रहेको सुनकोसी प्राथमिक विद्यालयमा जाने विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य रहेका छन्। २०७२ सालको विनासकारी भूकम्पमा ढुंगामाटोले बनाएको पाँच कोठे भवन भत्काएपछि कक्षा कोठाको अभावका कारण खुल्ला चौरमा अध्ययन गर्न बाध्य भएका हुन्।

गोलन्जोर गाउँपालिका–१ च्याकुटारबेसीमा रहेको विद्यालयमा भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मार्फत दुई कोठे टिसियल भवन निर्माण गरिएको भए पनि कक्षा कोठाको अभावमा विद्यार्थी खुल्ला चौरमाा राखेर पढाउनुपर्ने बाध्यता नहटेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्रप्रसाद न्यौपानेले बताए।

कक्षा कोठाकै अभावमा अहिले बाहिर खुला चौरमा ठाउँ ठाउँमा विद्यार्थीलाई भेला गरी पढाउँदै गरिएको उनको भनाइ छ। हिउँदको समयमा जसोतसो गुजारा चलाए पनि वर्षातको मौसममा भने धेरै समस्या हुने गरेको उनले बताए।

कार्यालयसहित ६ वटा कक्षाकोठाको आवश्‍यक भए पनि विद्यालयमा अहिले सबै कक्षाकोठा अभाव नै रहेको छ। अहिले जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले दुईतले चार कोठाको पक्की भवन निर्माण थालिएको भए पनि निर्माण पूरा गर्न अझै केही समय लाग्ने उनको भनाइ छ।

केही समय पहिलासम्म बाँसको टाटीले बेरेर पढाइएको भए पनि  हावापानीले पढाउन कठिन भएपछि अहिले इँटा लगाएर घेराबेरा गरी केही कक्षाकोठालाई दुखले काम चलाएको पअ न्यौपानेले बताए।

२०५३ सालमा शिक्षा कार्यालयबाट अनुमति लिएर स्थापना गरिएको उक्त विद्यालयमा बढी मात्रामा जनजाति र सीमान्तकृत वर्गका बालबालिका पढ्ने गरेका छन् भने स्थानीय बालबालिकासहित सिन्धुलीकै फिक्कल गाउँपालिका, रामेछाप जिल्लाको मसलीघाट र ओखलढुंगा जिल्लाको नबलपुर गाउँका बालबालिका नियमितरूपमा पढ्न आउने गरका छन्। कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा अहिले ५७ जना विद्यार्थी अध्यनरत छन्।

विद्यालयमा अहिले तीनजना शिक्षक, एक/एक जना सहयोगी कार्यकर्ता र कार्यालय सहायक गरी पाँच जना कार्यरत रहेका छन्। विद्यालयमा हाल बालकक्षामा १५, कक्षा १ मा १७, कक्षा २ मा ७, कक्षा ३, ४ र ५ मा छ/छ जना बालबालिका अध्ययनरत रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.