|

ओेखलढुंगा : ओेखलढुंगाको सोब्रु टेकनपुरमा रहेको ओखलढुंगा सामुदायिक अस्पताललाई टेकनपुर अस्पतालको शाख जोगाउनै मुस्किल परेको छ।  सेवाग्राहीहरूलाई कर्मचारीहरूले अस्पतालमा गर्ने व्यवहार र उपचारमा हुने लापरबाहीका कारण टेकनपुर अस्पतालको शाख जोगाउन मुस्कील परेको हो।

विगतमा ओखलढुंगामा मात्रै नभएर छिमेकी जिल्लाहरू रामेछाप, सिन्धुली सोलुखम्बु, खोटाङ र उदयपुरलगायत पूर्वका जिल्लामा ओखलढुंगा टेकनपुर अस्पताल हुँदै मिसन  अस्पतालको नामले परिचित ओखलढुंगा सामुदायिक अस्पताल पछिल्लो समयमा बदनामी कमाइरहको छ।

विशेष गरी अस्पतालमा सुरक्षित सुत्केरी हुन आउने गर्भवती महिलाहरूलाई गरिने उपचार पद्धतिका कारण अस्पतालले बद्नामी कमाउँदै आएको छ।

६ महिनायता मिसन अस्पतालमा ल्याएपछि गर्भवतीलाई प्रत्यक्ष निगरानीमा राख्दा पनि गर्भमै शिशुको मृत्यु भएका तीनवटा घटना सार्वजनिक भइसकेका छन्। तर तीनै घटनामा बच्चाको मृत्यु हुनुको कारण चिकित्सकले खुलाउन सकिरहेको अवस्था छैन।

उपचारमा लापरबाही गरेको गुनासो

मिसन अस्पतालमा आउने धेरै बिरामी र आफन्तहरूको एउटै नमीठो भोगाइ हो, स्वास्थ्यकर्मीको दुर्व्यवहार । अधिकांश बिरामीका आफन्त आफ्नो बिरामीको हेरचाहमा कमी नहोस् भन्ने चाहन्छन् । त्यसैअनुसार बिरामीको अवस्थाबारे समयमा बुझ्न खोज्दा र बोलाउँदा उनीहरूलाई सरल जवाफ दिइँदैन ।

'तपाईंको घरमा पाहुना भएर आयौं भने हामीलाई तपाईंले जे भन्नुभयो त्यही मान्नुपर्छ। त्यसैगरी तपाईं पनि हाम्रो अस्पतालमा आएपछि हामीले भनेको मान्नु अनिवार्य छ ।’ अस्पतालमा आफ्नो असन्तुष्टि पोख्दा सेवाग्राहीले यस्तै जवाफ पाउने गरेका छन्।

नर्सबाटै यस्तो जवाफ पाएपछि  प्रसूतिका लागि आउने आमाहरू पीडाले छटपटाउँदा उल्टै अपशब्दसहित पिट्नेसम्म गरेको एक पीडित महिलाले दुखेसो पोखिन्। अस्पतालका निर्देशक युवराज आचार्यले आफूले अस्पतालका कर्मचारीहरूले गर्ने व्यवहारको पाटो अनुगमन गरिरहेको बताए।  यद्यपि, अस्पतालमा नर्स लगायतका कमचारीको व्‍यवहार भने कहिल्‍यै सुध्रिएको देखिन्न।

गत कात्तिकमा सिद्धिचरण नगरपालिका १० बेतेनीका एक बिरामीलाई ज्वरो र टाइफाइड कारण देखाउँदै लामो समय मिसन अस्पतालमा उपचार गरियो । अन्ततः उनको अवस्था झनै नाजुक भएपछि राजधानी लगियो । राजधानीमा उपचारका क्रममा मृत्यु भएका उनमा डेंगु रहेको प्रमाणित भयो ।

डेंगु परीक्षण गर्ने आवश्यक उपकरण नहुँदानहुँदै अस्पतालले अनुमानका भरमा उपचार गर्दा उनले अकालमा ज्यान गुमाए । यो त प्रतिनिधिमूलक घटना मात्रै हो अस्पतालमा यसरी धरै समय बसेर अन्तत: काठमाडौं पठाइएका बिरामीहरुको संख्या उल्लेख्य छ।

गत पुस पहिलो साता मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्साकी सरला राईले शल्यक्रियामार्फत बच्चा जन्माइन्। शल्याक्रिया गरेको चार दिनपछि पुस १२ गते शनिबार उनलाई डिस्चार्ज दिइयो। जब उनी डिस्चार्ज भएर घर निस्कन लागेकी थिइन्, बाहिर निस्कनेबित्तिकै उनको घाउ अचानक फुट्यो। पीपसँगै बगेको दुर्गन्धले अस्पतालमै कोलाहल भयो। शल्यक्रियापछि घाउमा पटकपटक संक्रमण भएका घटना मिसन अस्पतालमा बारम्बार आउने गरेका छन्।

यसरी बारम्बार बिरामी तथा आफन्तमाथि गरिएका हेलचेक्रयाइँ र प्रसूतिमा असावधानीका कारण देखिएका विभिन्न घटनाले पुरानो टेकनपुर अस्पतालको आजभोलि विश्वास घट्दै गएको बिरामीहरूको भनाइ छ।

अस्पतालको लापरबाहीबारे छलफल

जिल्लामा नागरिक समाजका संस्था र क्रियाशील पत्रकारहरूको साझा संस्था जिल्ला पैरवी सञ्जाल ओखलढुंगाले सामुदायिक अस्पतालको लापरबाहीका विषयमा आवश्यक छलफल तथा समस्याका समाधानका लागि पहलका लागि भन्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समिति सभापतिलाई ध्यानाकर्षणपत्र बुझाएको थियो।

जिल्ला प्रशासन ककार्यालय ओखलढुंगा र जिल्ला समन्वय समिति ओखलढुंगालाई ध्यानआकार्षण पत्र बुझाएपछि जिल्लामा रहेकका सरोकारवालाहरुले अस्पताल व्यवस्थापन समितिलाई आफ्नो शाख जोगाउन आग्रह गरेका छन्। ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यले विगतमा टेकनपुर तथा मिसन अस्पतालका नामले परिचित अस्पताललाई आफ्नो शाख जोगाउन आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.